birat ribon

वर्णसङ्कर साहित्य : कवितामा निबन्ध, निबन्धमा कविता

Neuro
वर्णसङ्कर साहित्य : कवितामा निबन्ध, निबन्धमा कविता
अभिमन्यु अभिजित

उनी कवि हुन् तर आम कवि होइनन् । विशिष्ट शैलीमा कविता सुनाउने सेलिब्रिटी हुन् । लामा–लामा कविता नहेरी सुनाउँछन् । कविता यस्तो सुनाउँछन् कि उनको कविता–वाचन र शब्द सुन्दै गर्दा भावुक र रोमाञ्चित नहुने कमै मान्छे हुन्छन् ।

उनी सङ्गीतको लयमा अभिनयसहित कविता सुनाउँछन् । कविता भन्न स्टेजमा हुँदा सँगसँगै आर्केस्ट्रा पनि हुुनु अनिवार्यजस्तै छ । पैसा तिरेर कविता सुन्ने–सुनाउने नेपाली काव्य परम्पराको इतिहासमा पछिल्लो हस्तक्षेप गर्दै उनले अहिलेसम्म केही नभए पनि एक टिपर लाइक सङ्कलन गरिसकेका छन् ।

cura insider

यसरी अहिले चर्चाको शिखरमा रहेका कविको प्रशंसामा ८१ शब्द खर्च गरिसकेपछि ती सार्वजनिक कविको नाम भनिरहनुपरेन । तपाईले चिनिसक्नुभएको छ । तपाईले उनीसँग सेल्फी नै पनि लिइसक्नु भएको हुनसक्छ ।

उनै कवि यतिबेला आत्मपरक निबन्धकारको थप परिचयसहित मिडिया र सामाजिक सञ्जालको चक्रव्यूहमा छन् । गत साता उनले महिलाहरू रुख चढ्न नसक्ने आत्मपरक दाबीसहित कवितापरक निबन्ध लेखे । कविको निबन्ध शिलापत्रमार्फत अनलाइनमा आएपछि पाठक समाज एकाएक दुई ध्रुवमा विभाजित भयो । कोही छोरीमान्छेको बारेमा कविले अविधा अर्थमा सङ्कुचित साहित्य लेखेको आरोप लगाउँदा भए भने कोही निबन्धभित्र कविताको स्वाद र लाक्षणिक अर्थ भेटेर वाहवाही गर्दा भए ।

धेरैपटक आफूलाई पनि फ्रिलाइन्स राइटर घोषणा गर्न मन नलागेको होइन । तर त्यस्तो संवेदनशील बेलामा मैले सम्झिएँ – आफैँलाई राइटर घोषणा गर्नेको दोकान दिगोसँग चल्दैन ।

अभिमन्यु अहिलेका सेलिब्रिटी साहित्यकारहरूले चर्चा र भावुक आलोचनाको भरमा चिप्लिएको ‘साहित्यिक चेत’लाई चक्रव्यूहबाट बाहिर निकाल्न जरुरी ठान्छन् । सामाजिक सञ्जालमा केही फलोअर्सले मन पराइदिएका कारण ‘फ्रिलाइन्स राइटर’ बन्नेहरूको होडबाजी चलेको छ । धेरैपटक आफूलाई पनि फ्रिलाइन्स राइटर घोषणा गर्न मन नलागेको होइन । तर त्यस्तो संवेदनशील बेलामा मैले सम्झिएँ – आफैँलाई राइटर घोषणा गर्नेको दोकान दिगोसँग चल्दैन ।’

सामाजिक सञ्जालमा एकथरी समूह बनाएर नाम दिने, मन परेको मान्छेलाई बोलाउने, दुई–चार कुरा फलाक्ने, जाने धेरै छन् । त्यस्ताहरू एकाध जनाले हेरिदिएपछि सिद्ध साहित्यकारको सूचीमा उक्लिन्छन् । वर्तमान साहित्यको रूपरेखा यस्तै–यस्तै लाग्छ । सञ्जालको राम्रो पक्ष भनेको रचनाको स्तर जे–जस्तो होस् कविता, गजल भने पछि कान ठाडो पार्ने वा पारिने वातावरणचाहिँ बनेको छ ।

चक्रव्यूहमा फर्केर छोरीमान्छेहरू रूख चढ्न नसक्ने कुरानजिक पुग्दा थाहा हुन्छ मान्छेहरू निबन्धका नाममा साहित्य कम कुण्ठा धेर लेखिरहेका छन् । पछिल्लो दशक नेपालमा साहित्यको खबरदारी र रेखदेखका लागि बनेको ‘समालोचना अदालत’ निष्क्रिय बन्दै गएको छ । यसको मार साहित्य सिर्जनामा आधा शताब्दी साधना गर्नेहरूलाई परेको छ । स्वच्छ समालोचनाका कारण नै साहित्यले जीवन पाउने हो । मनका कुण्ठाहरू लेखेर पाठक भुलाउनेहरूलाई समालोचकले नै तह लगाउने हुन् ।

पछिल्लो दशक नेपालमा साहित्यको खबरदारी र रेखदेखका लागि बनेको ‘समालोचना अदालत’ निष्क्रिय बन्दै गएको छ ।

उसो त समालोचनामा पनि घुसपैठ छ भन्ने बजारी हल्ला छ । साहित्यकार राजेन्द्र पराजुलीले एक पटक भनेको सम्झन्छु– केही कुलीन साहित्यकारहरू समालोचकसँग भेट्न साँझ परेपछि मोटो खाम लिएर जाने गर्थे । नेपालका गन्यमान्य समालोचकहरू यदुनाथ खनाल, ताना शर्मा, मोहनराज शर्मा र वासुदेव त्रिपाठीहरूले नेपथ्यबाट खाम लिएको भान हुन दिएनन् किनभने उनीहरूको साहित्यमा बेग्लै प्रभाव छ ।

यता, समालोचनाको कसीबाट सुदूर रहेको साहित्यमा उपस्थिति बढे पनि गुणस्तर भने चिप्लिँदो क्रममा छ । प्रकाशकहरूको हुटहुटीले साहित्य राम्रोसँग केलाउन सर्जकहरूलाई समय नभएको पनि सत्य हो । तर मूलधारका साहित्यकारले जे लेखे पनि तारिफमात्र पाउने प्रथा साहित्यका लागि घातक छ, जसको मारमा बहुमत पाठकहरू पर्छन् ।

पछिल्लो समय चलेका सेलिब्रिटीका कति रचनाहरू पठनीय छन् ? पत्रपत्रिकाले मेलो पूरा गर्नमात्र रद्दी लेखनी छपिरहेका त छैनन् ? व्यक्तिगत कुण्ठा समेटिएका उप–वाक्यहरूको शृङ्खला कविता भयो । काफियाको अनुप्रास मिले गजल मानियो । बरर मनमा आयो जे त्यो निर्बन्ध लेख्यो निबन्ध भयो । विदेशका दुई–चार रङ्गिन परिवेश र यौन मिसाइए उपन्यास । यस्ता भावनात्मक खुराकमात्र खन्याइएका चिज साहित्यमा हामीले मूलधारमा कति स्वीकार, कति अस्वीकार गर्ने ? समयाकुकूल सार्वजनिक बहस कथाले मागिरहेको छ ।

अभिमन्युले चाहिँ कविका संवेद्य भावना समेटिएको सीमित शब्दले बारुद अर्थ दिने विधालाई कविता भन्ने बुझेको छ । जस्तो कि कवि परिविक्रम लेख्छन्–
‘गाउँभरीलाई थाहा छ
हाम्रो घरको छानो चुहिन्छ
तर,
हामीलाई मात्र थाहा छ
कतिवटा बटुका थाप्नुपर्छ ।’

मूलधारका साहित्यकारले जे लेखे पनि तारिफमात्र पाउने प्रथा साहित्यका लागि घातक छ, जसको मारमा बहुमत पाठकहरू पर्छन् ।

कविलाई मनमा लागेका सबै कुरा कविता हुँदैनन् । म यो जुन भूमिका बाँधिरहेको छु, यसभित्र कतै–कतै कविता अंश हुनसक्ला तर कविता छैन । कुनै विषय वा सन्दर्भलाई व्याख्यान विधिबाट समेटेर इतिश्री परिभाषित गरे निबन्ध बन्छ भन्ने हामीलाई थाहा छ । मनलाई आवश्यकताभन्दा बढी भावुक बनाएर, कतै गुनगुनाएर, कतै जप गरेर, कतै नारा हालेर लेखे त्यो ‘कनिकुथी’ आलेख बन्ला, निबन्धको गरिमामय सीमाभन्दा धेरै पर पुग्छ । निबन्धजस्तो लामो लेखोट कुनै प्रतिवेदन बन्न सक्ला, कविता बन्दैन । यदि कोही महासाधक कविता र निबन्धका बीच गर्भाधान गरेर नयाँ विधालाई जन्म दिन्छु भन्छ भने त्यो वर्णसङ्कर साहित्य बन्छ, निबन्ध वा कविता न्वारन गर्न मिल्दैन ।

अनुप्रासमात्र मिलेका कुण्ठाहरू समेटिए तोतेबोली बन्ला, गजल बन्दैन । पानी उमाल्न नजान्ने अल्छीलाई मासुभात मन परेजस्तो अभिमन्युलाई आजसम्म कविताको ‘क’ लेख्न आएन तर पारखी पाठकका रूपमा सधैँ ‘साहित्यिक मासुभात’ खोजिरह्यो ।

साधकहरूप्रतिको यो कुण्ठालाई पनि लम्बाइ–चौडाइ नगरी बिट मार्नुपर्छ । तर छुट्टिनुअघि एउटा आग्रह छ– यदि तपाईहरू साहित्यिक भान्छामा स्वादिला बाबर पकाउन खोजिरहनुभएको छ भने पाककलाबारे अझै सिक्नुहोस् । बाबरलाई कहिले सेलजस्तो, कहिले पुरीजस्तो नपार्नुहोस् । धेरै लेख्नुहुन्छ, थोरै लेख्नेका कुरा पढ्ने पनि गर्नुहोस् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: