birat ribon

अपराधको कारक बन्दै युट्युब, प्रहरी भन्छ : कारबाही गर्न कानुन नै छैन

Neuro
अपराधको कारक बन्दै युट्युब, प्रहरी भन्छ : कारबाही गर्न कानुन नै छैन
  • मेनुका कोइराला/काठमाडौँ

जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका युवतीहरू हत्तपत्त कोहीसँग घुलमिल हुँदैनन् ।

उनीहरूले बोल्ने भाषा र अरू नेपाली समुदायमा बोलिने भाषामा पनि भिन्नता छ । त्यसैले पनि उनीहरू जो कोहीसँग मनपेट खोल्दैनन् । अरू समुदायबाट टाढै बस्न रुचाउँछन् ।

cura insider

तर, राउटे समुदायले छुट्टै पहिचान बोकेकाले पनि बाहिरका व्यक्ति उनीहरूसँग घुलमिल हुन चाहन्छन् । 

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै युट्युबर, टिकटकर र फेसबुक प्रयोगकर्ताहरूले सो समुदायका युवती तथा अन्य व्यक्तिसँग फोटो खिच्ने र भिडियो बनाउने क्रम बढ्दै गयो ।

युट्युब पत्रकार भनेर चिनिनेहरूले राउटे समुदायका युवतीलाई सुन्दरीसमेत भनेर चर्चामा पुर्‍याए । उनीहरूसँग फोटो खिच्ने र टिकटक बनाउनेहरूको लर्को लाग्न थाल्यो ।

त्यसपछिका दिनमा राउटे समुदाय सामाजिक सञ्जालतिर खुल्न थालेका समाचारहरू बाहिरिए । कतिपय टिकटकर र युट्युबरहरूले भिडियोमार्फत उनीहरूको जीवनशैली पूर्णरुपमा देशका विभिन्न ठाउँमा पुर्‍याउने कोसिस गरे । 

कतिपय राउटेहरूका गफ टिकटकमा भाइरलसमेत भए । तर, अहिले फेसबुकमा अपलोड गरिएको एक भिडियोले राउटे युवतीको पहिचानमा नै कलङ्क पोतिदियो ।

राउटे समुदाय दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेतको लेकबेँसी नगरपालिका हुँदै करिब चार महिनाअघि गुर्भाकोट नगरपालिका–११ को आँपसोतीमा बसाइँ सरेको थियो । बसाइँ सरेर आएपछि पनि बस्तीमा बाहिरबाट फोटो खिच्न, टिकटक भिडियो बनाउन जानेहरू रोकिएनन् ।

केही महिनाअघि राउटे बस्तीका युवतीको चिनजान गुर्भाकोटको स्थानीय युवासँग भयो । बस्तीमा फोटो खिच्न र भिडियो बनाउन जानेहरूका कारण बाहिरी समाजसँग अलि बढी घुलमिल हुन थालेकाले पनि राउटे युवतीको युवकहरूसँग चिनजान बढ्यो । 

तर चिनजानको मूल्य आफ्नो अस्तित्व गुमाएर तिनुपर्ला भन्ने सायदै उनले सोचेकी थिइन् । निकटता बढेपछि ती युवतीलाई स्थानीय युवाहरूले गुर्भाकोटस्थित बोटेचौरमा रहेको मेहेलकुना होटला खाना खान जाने प्रस्ताव गरे । 

युवती राजी भइन् । होटलमा युवाहरूले आफूसँगै युवतीलाई पनि मदिरा सेवन गराए । मदिरा सेवन गरेका युवाले भिडियो खिच्दै दुर्व्यवहार गरेको भिडियोमा देखिन्छ ।

सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सबैतिरबाट विरोधका आवाज निस्किए । भिडियो भाइरल बनेपछि २३ गते बिहान प्रहरीले होटलबाटै होटल सञ्चालकसहित तीन युवालाई पक्राउ गर्‍यो ।

सो घटनापछि बस्तीमा फर्किएका युवतीहरूलाई सामाजिक सञ्जालको ज्ञान छैन । उनीहरू आफूसँग भएको यौन दुर्व्यवहारको भिडियो बनेको छ भन्ने कुरामा बिल्कुलै अञ्जान छन् । 

उनीहरूसँग आफूमाथि भएको दुर्व्यवहार नै पहिचान गर्न सक्ने ज्ञानको अभाव छ । न त उनीहरूले आफूमाथि शोषण भयो भनेर आवाज नै उठाएका छन् ।

बस्तीमा आफ्नाहरूका माझ बसेका ती युवतीहरूलाई अब आफ्नाबाटै जोगिन मुस्किल देखिएको छ ।

राउटे समुदायले बनाएको नियम कानुन अनुसार ती युवतीमाथि भएको घटनाबारे थाहा पाएमा मृत्युदण्डको सजायसमेत दिन सक्ने केही अध्ययनले देखाएको छ ।

बस्तीमा बाहिरका व्यक्तिहरूलाई प्रवेश गर्न नदिन प्रहरीको कडा सुरक्षा छ । तर ती युवतीहरूको ज्यान बस्तीभित्रै जोखिममा छ । 

गत शनिबार राति ती युवतीमाथि यौन शोषण गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको केही समयमै भिडियो भाइरल भयो । आजभोलि सामाजिक सञ्जालमा यस्ता भिडियो भाइरल हुनु कुनै नौलो कुरा भने हैन ।

तर, पनि यस्तो संवेदनशील पाटोमा अहिलेसम्म केही ठोस कदम नउठेको देख्दा समाज कता गइरहेको छ– स्पष्ट देखिन्छ ।

कानुनमा कसैको चरित्रहत्या गर्नु अपराध हो भनिएको छ । तर, यहाँ त दिनरात कोही न कोही पीडित भइरहँदा पनि कारबाहीको पक्ष भने निकै फितलो देखिएको छ । युवतीमाथि दुर्व्यवहार गरिनु प्रथम ठूलो अपराध, अझ ती युवतीमाथि यौन शोषण गरेको भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा अपलोड हुँदा यो कतिसम्मको अपराध हुन सक्छ ?

अहिले च्याउसरि फैलिएका युट्युब च्यानलहरू कतिले शनिबार भएको घटनाको भिडियो अपलोड गरेका छन् भन्ने नेपाल प्रहरीअन्तर्गत साइबर ब्युरोसँग कुनै तथ्याङ्क छैन । 

साइबर ब्युरोका प्रवक्ता एसएसपी नवीन अर्यालका अनुसार अहिले ब्युरोलाई थाहा भएको र भेटेको युट्युब च्यालनमा अपलोड भएका भिडियो खोजेर डिलिट गर्ने काम भइरहेको छ ।

‘मेल पठाएर डिलिट गर्न आग्रह गरिरहेका छौँ’, उनी भन्छन्, ‘युट्युबमा भिडियो अपलोड गर्न नमिल्ने खालको ठोस कानुन हामीसँग छैन । त्यसैले कारबाही गर्न कठिन भइरहेको छ ।’ 

सो भिडियो युट्युबको वाल हुँदै सामाजिक सञ्जालमार्फत व्यक्तिहरूको हातहातमा पुगिसकेको अवस्था छ ।

यसरी सो भिडियो राउटे समाजमा पुग्दा ती युवतीको अवस्था के होला ? सोच्न सकिने अवस्था छैन । युवतीले अकालमै ज्यान गुमाउनुपर्‍यो भन्ने जिम्मेवार को बन्छ ?

तर, यस्तो संवेदनशील पाटोमा राज्यको ध्यान गएको देखिँदैन । साइबर अपराधका घटना कम गर्न भनी बनाइएको साइबर ब्युरोसँग नै यस्ता भिडियो अपलोड हुनबाट रोक लगाउने कानुन छैन ।

अहिले राउटे समुदायका युवतीको यौन दुर्व्यवहारको भिडियो अपलोड भएको छ । पछि हामी जो कोही पनि पर्न सक्छौँ । समाजिक सञ्जालको दुरुपयोग कस्तो हिसाबले भइरहेको छ ? यो विषयमा सोच्नुपर्ने अवस्था आएको छ । 

jackson ribon

प्रतिक्रिया दिनुहोस्: