birat ribon

दुर्घटनामा परेको मोटरसाइकलमा लागुऔषध, कारोबारी खोज्दा पेस्तोल भेटियो

Neuro
दुर्घटनामा परेको मोटरसाइकलमा लागुऔषध, कारोबारी खोज्दा पेस्तोल भेटियो

विराटनगर/ प्रहरीले मोरङबाट हतियार र लागुऔषध कारोबारमा संलग्न गिरोहका तीन जनालाई  पक्राउ गरेको छ ।

दुर्घटना परेको मोटरसाइकलमा लागुऔषध फेला परेपछि अनुसन्धान सुरु गरेको प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको हो ।

cura insider

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका–८ का ६० वर्षीय अब्बास मियाँ  छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोली उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले धमला र भट्टराईलाई पक्राउ गरेको थियो । उनीहरुले दिएको सूचनाका आधारमा मियाँ पक्राउ परेका हुन् ।

धमला र भट्टराई चढेकाे प्रदेश १–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्नेनजिक बिहीबार बिहान ६ः१५ बजेतिर दुर्घटनामा परेको थियो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको मोटरसाइकलले पैदल हिँडिरहेका दुई किशोर र एक वृद्ध पुरुष गरी तीन जनालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धमला र भट्टराईसहित पैदल यात्री बेलबारी–११ का १६ वर्षीय प्रीतम राई, १५ वर्षीय सन्देश दास र कानेपोखरी गाउँपालिका–७ का ६५ वर्षीय दिलकुमार योगी गरेर पाँच जना घाइते भए ।

उनीहरुलाई उपचारका लागि बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । धमला र भट्टराईको अवस्था सामान्य छ । अरुलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको छ ।  

दुर्घटनामा परेर घाइते भएकामध्ये मोटरसाइकलमा सवार धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा लागुऔषध फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

झोलाबाट लागुऔषध आठ सय ९२ पिस नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेस बरामद भएको उनले बताए ।

त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाउँदा मुख्य कारोबारी मियाँसम्म पुगेको थियो । दुर्घटनामा परेकाहरुलाई मियाँले नै लागुऔषध बिक्री गरेको खुलेको छ ।  

सुनवर्षीस्थित मियाँको घरमा प्रहरीले खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा एउटा कटुवा पेस्तोल, दुई राउन्ड गोली, ६ सय ट्याब्लेट नाइट्राभेट र दुई बोतल डिसी नामक लागुऔषध तथा एउटा चक्कु बरामद भएको एसपी खड्काले बताए ।

मियाँ लागुऔषधका पुराना कारोबारी रहेको सूचना यसअघि नै पाए पनि पर्याप्त प्रमाणको अभावमा प्रहरीले पक्राउ गर्न सकिको थिएन । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागुऔषध र हतियार भारतबाट नेपाल भित्राउँदै घरमै डिलर सञ्चालन गरेर बिक्री गर्ने धन्दामा मियाँको संलग्नता रहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका धमला र भट्टराईले मियाँबाट किनेर अरु सेवनकर्तालाई बिक्री गर्न लागुऔषध ल्याएको प्रहरीलाई बताएका छन् ।

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध र हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । 

jackson ribon

प्रतिक्रिया दिनुहोस्: