birat ribon

बेटुङ्गो र अपमानबीच फ्लोरेन्स नाइटिङ्गेलको सपना

Neuro
बेटुङ्गो र अपमानबीच फ्लोरेन्स नाइटिङ्गेलको सपना
सरोज बराल

२०५० सालमा एक जना साथीको एपेन्डिक्स अपरेसन गर्दा म बिरामी–कुरुवा भएर सात दिन जति अस्पताल बसेको छु । विराटनगरको कोसी अञ्चल अस्पतालमा बिताएको त्यो क्षण सम्झने हो भने अस्पतालतर्फ हेर्न पनि मन लाग्दैन ।

हुन त कसैले पनि बिरामी भएर अस्पताल जानू नपरोस् जस्तो लाग्छ । तर पनि बिरामी त भइन्छ नै । बिरामी–कुरुवा भएर बस्नुपरेको बेला मेरासम्मुख भएको नर्सको रुखो बोली र टर्रो व्यवहार देखेर म विस्मित भएको थिएँ । मैले विश्वकै पहिली नर्स फ्लोरेन्स नाइटिङ्गेलको जीवनी पढेर बुझेका नर्स र वास्तविक नर्सबीच तुलना गरेको थिएँ । तुलना गर्दा आकाश–पातालझैँ फरक पाएको थिएँ । त्यो बेला नर्सहरूप्रति मेरो दृष्टिकोण नै बदलिएको थियो ।

cura insider

अपरेसन गरिसकेपछि बिरामीलाई एउटा सानो बोतलको स्लाइन लगाइएको थियो, मेट्रोन कि यस्तै के नाम थियो । प्रत्येक दुई घण्टामा बदल्नुपर्ने भनिएको थियो । मैले एक–दुईवटा हिन्दी उपन्यास अस्पतालको नजिकैबाट भाडामा ल्याएको थिएँ । त्यही पढ्दै रातरातभर बसेको थिएँ । जब स्लाइन सकिनँ लाग्थ्यो, ड्युटीमा भएकी नर्सलाई बोलाउन जान्थेँ । त्यही क्रममा एक दिन ड्युटीमा भएकी नर्सबाट मजाले गाली खाएँ ।

‘सुत्न पनि नपाउनु कि क्या हो ? एकछिन सुत्न पनि दिँदैनन् सालेहरू !’ यस्तै भनेकी थिइन् ती नर्सले ।

‘सुत्न मन लाग्नेले किन रातिको ड्युटी गरेको त ?’ भन्दिऊँ कि जस्तो लागेको थियो । तर बेडमा आफ्नो बिरामी छ । केहीभन्दा (बाझ्दा) फरक पर्ला कि भनेजस्तो लाग्थ्यो । मनभरी उठेका आवेग र कुरालाई मनैमा दबाएर राखेँ ।

पाँच–सात वर्षपछि एक जना साथी बिरामी दिदी लिएर भारतको भेलोर अस्पतालमा गएको थियो । उपचार गरेर फर्किएपछि उसले त्यहाँको अस्पताल बसाइको अनुभव सुनाउँदा अचम्म लाग्यो । बिरामी–कुरुवा बस्नु नपर्ने, बिरामीलाई सामान्य खोकी लाग्दा पनि नर्स आउने, एक्स–रे, युरिन, स्टुल, ब्लड आदि टेस्ट गराउन आफूले केही गर्नु नपर्ने, उनीहरूले नै लैजाने, गराउने, एक्स–रे, टेस्टहरूको रिपोर्ट डाक्टरको च्याम्बरमा उनीहरूले नै पुर्‍याउने, औषधि उनीहरूले नै खुवाउने गर्दा रहेछन् । हामीले यता त्यस्तो नदेखेकालाई अचम्म लाग्नु स्वाभाविकै हो ।

जिस्काउँदा पनि ती नर्स रिसाइनन् । त्यहाँका नर्सहरू जस्तो अवस्थामा पनि संयम भएर हाँसी–हाँसी काम गर्थे ।

अलिपछि कहिलेकाहीँ कुनै बिरामी हेर्न वा भेट्न जाने क्रममा नर्सहरूले काम गरेको अवस्थालाई अलिक राम्ररी नियाल्न थालेँ । आफूले पढाएका विद्यार्थीहरू पनि नर्स भएका छन् । उनीहरूलाई पनि मेरो अनुभव सुनाउँदै यस्तोचाहिँ कहिल्यै कसैलाई नगर्नू है भन्ने गर्थेँ र भन्ने गरेको छु । नर्सको ड्रेस लगाउनेबित्तिकै फ्लोरेन्स नाइटिङ्गेल भइँदैन, सधैँ बिरामीको आशाको केन्द्र र वास्तवमै नर्स बनेर काम गर्नू भन्ने गरेको छु ।

भेलोरको के कुरा गर्नु ? आफू सवारी दुर्घटनामा परेर भारत सिलिगुडीको पारामाउन्ट हस्पिटल बसेको बखतका कुरा पनि उल्लेख्य छन् । आफूलाई केही जानकारी नभए पनि घरका मान्छे र साथीहरूका अनुसार साँझ परेपछि अस्पताल कम्पाउन्डभित्र बाहिरका मान्छेलाई बस्न दिइँदैनथ्यो । ‘जे–जे गर्नुपर्छ हामी आफैँ गरिहाल्छौँ, हामी त्यसैका लागि त ड्युटीमा छौँ,’ भनेर कुरुवालाईसमेत बाहिर पठाउँथे । सबै प्रकारका सेवा–सुविधा अस्पतालले नै उपलब्ध गराउँदो रहेछ । बिरामीलाई खुवाउने, दिसा–पिसाब गराउने कामका लागि पनि बिरामी–कुरुवा नचाहिँदो रहेछ ।

पछि फलो–अपमा जाँदा कुनै–कुनै बेला अस्पतालमै राखेको बेलाको अलि–अलि जानकारी भयो । त्यहाँ उपचार गराउँदा म राम्ररी होसमा त थिइनँ, तर एक दिन कुरैकुरामा एउटी राधा नाम गरेकी नर्सलाई ‘तिम्रो नाम पनि राधा, मेरी पत्नीको नाम पनि राधा, तिमी त मेरै भइहाल्यौ नि !’ भन्दै जिस्क्याएँ छु । त्यसरी जिस्काउँदा पनि उनी रिसाइनन् । त्यहाँका नर्सहरू जस्तो अवस्थामा पनि संयम भएर हाँसी–हाँसी काम गर्थे ।

त्यहाँ अस्पतालमा भर्ना गरेपछि प्रत्येक बेडमा एक जना बिरामीको हेरबिचार गर्ने एक जना नर्स राखिएको हुँदो रहेछ । १० जना यस्ता नर्सहरू एक जना सिनियर नर्सको निगरानीमा हुँदा रहेछन् । यही नियम आइसियु, भेन्टिलेटरमा पनि लागू हुँदो रहेछ । अझ अस्पतालमा निरीक्षण हुँदै छ भन्ने थाहा पाउँदा त अर्को अस्पतालदेखि मगाएर भए पनि आइसियु, सिसियु र भेन्टिलेटरमा दुई जनाको दरले नर्सहरू राख्दा रहेछन् । देखाउने प्रवृत्तिचाहिँ उता पनि हुँदो रहेछ । निरीक्षणमा आउन लागेको कुरा लिक पनि हुँदो रहेछ ।

अनि यताको नर्सहरूले काम गर्नुपर्ने परिस्थितिलाई हेर्दा धन्न यिनीहरू यत्तिको काम गर्दा रहेछन् जस्तो लाग्छ आजकाल । ड्युटीमा २० वटा बेडका बिरामीका लागि एक वा दुई जना नर्स खटाइएका हुन्छन् । निजी अस्पताल वा नर्सिङ होममा काम गर्नेको पारिश्रमिक नाममात्रको हुन्छ । आइसियु, भेन्टिलेटरमा समेत एक जना नर्सले चार–पाँच जना बिरामी हेर्नुपर्छ । गाली त्यसैगरी खानुपर्ने, कतिबेला कुन बिरामीलाई के हुने हो, कतिबेला कसले आक्रमण गर्ने हो, कतिबेला आफ्नो ज्यान जोगाउन कताबाट भाग्नुपर्ने हो ? यस्ता तनावको बीचमा धन्न काम गरिरहेका छन् नेपालका नर्सहरू जस्तो लाग्छ अचेल ।

नर्सहरू कतिपय उमेरले भर्खर २०–२५ वर्षका छन् । अरू मानिसजस्तै उनीहरूका पनि युवा वयका इच्छा, आकाङ्क्षा र सपनाहरू हुँदा हुन् । कति धेरै र ठूलो सपना बोकेर नर्सिङ पढेका होलान् । आमाबाबुको पनि आफ्नै सपना होला । कतिपयको भर्खरै विवाह भएको होला । घर–परिवारबाट कहिलेकाही कुनै झमेलासहित आउँदा हुन् । ती सबैलाई थाती राखेर काम गर्नुपरेको छ, जसले पढ्दै गर्दा यति धेरै बिरामीको एकसाथ हेरविचार गर्नुपर्छ भनेर पढेका थिएनन् होला । तर वास्तविकताको धरातलमा आएपछि उनीहरूमा देखापर्ने यस्तो तनावले कस्तो असर गर्ला त ?

उनीहरूलाई पनि लाग्दो हो आफ्ना बारेमा पनि कसैले लेखिदियोस् वा बोलिदियोस् । हाम्रालागि पनि बोलिदिने कोही त छ भन्ने आडभरोस खोजी गर्दा हुन् । अहिले पहिलेजस्तो एकात्मक शासन व्यवस्था छैन । सङ्घीय व्यवस्थामा समस्या केन्द्रीय सरकारले नदेखे पनि प्रदेश सरकारले देख्ला भन्ने आस हुन्छ । प्रदेश सरकारले नदेखे पनि स्थानीय सरकारले देख्ला वा हेर्ला भन्ने पनि लाग्छ ।

गाउँ–गाउँमा सिंहदरबार ल्याइयो भन्दै चर्को राजनीतिक कुरा गर्नेहरूप्रति जनताका हरेक तह–तप्कामा सोहीअनुरूप आशा आशा पलाउनु अस्वाभाविक होइन । अझ प्रमुख कुरा त आफूले रातविरात नभनी, भोकै र प्यासै रहेर सेवा दिएका बिरामीहरू अस्पतालबाट डिस्चार्ज भएर जाँदा मीठो बोलीले धन्यवाद भनिदिए पनि मन फुरुङ्ङ हुन्थ्यो होला । तर नर्सहरूले त्यस्तो केही पाउँदैनन् ।

सङ्घीय व्यवस्थामा समस्या केन्द्रीय सरकारले नदेखे पनि प्रदेश सरकारले देख्ला भन्ने आस हुन्छ । प्रदेश सरकारले नदेखे पनि स्थानीय सरकारले देख्ला वा हेर्ला भन्ने पनि लाग्छ ।

निजी अस्पताल वा नर्सिङ होम सञ्चालन गर्नेहरू राजनीतिक दलहरूलाई मोटो रकम चन्दा दिएर, दलहरूकै नजिकै भएर बसेका हुन्छन् । राजनीतिक संरक्षण भएका सञ्चालकहरू किन सुन्थे नर्सहरूको समस्या ? श्रमजीवीहरूको भोटका लागि जेजे बोल्नुपर्छ त्यही बोलेर सरकारमा पुगेकाहरू वास्तविकतामा श्रमजीवीका लागि होइन, मालिकहरूको पो संरक्षक भएर देखा पर्छन् । श्रमजीवीको जीवन होइन, मालिकहरूको हित संरक्षण उनीहरूको प्राथमिकतामा हुँदो रहेछ । यदि उनीहरू श्रमजीवीका पक्षमा हुन्थे भने निजी अस्पतालहरूमा काम गर्ने नर्सहरूलाई उनीहरूको योग्यता र कामअनुसार पारिश्रमिक दिन्थे । उनीहरूलाई काममा राखेपछि न सरकारले तोकेबमोजिमको पारिश्रमिक छ न हातमा नियुक्तिपत्र ।

‘पारिश्रमिक कति छ ?’ मैले स्टाफ नर्स भइसकेका एक–दुईजना विद्यार्थीलाई सोधेको छु ।

‘सर, त्यो नसोध्नु, लाज हुन्छ,’ उनीहरूको जबाफ हुन्छ ।

यो पङ्क्ति लेख्दै गर्दा मेरो मनमा ज्वारभाटा उठिरहेको छ । कोरोनाको यस्तो महामारीमा अनपेक्षित र थोरै पारिश्रमिकमा कतिबेला आफू पनि सङ्क्रमित भइने हो भन्ने डर बोकेर कसरी काम गर्दा होलान् नर्सले । कतै कुरा उठाउँदा ‘भोलिदेखि काममा नआउनू’ भनेर निकाली देलान् । अनि थोरै भए पनि पाइरहेको रोजगारीबाट बेरोजगार हुनुपर्ला । कुनै टुङ्गो छैन । यही अवस्थाले गर्दा अचेल प्रायः नर्स पढेकाहरू अस्ट्रेलिया, युरोप, अमेरिकातिर जान पाए हुन्थ्यो भन्ने गर्छन् । पारिश्रमिक–सुविधा पनि राम्रो पाइने, अर्को देश हेर्न–घुम्न पनि पाइने ।

यता, सकेसम्म थोरै नर्स राखेर, थोरै पारिश्रमिक दिएर बिरामीहरूसँग मोटो रकम असुल्न बानी परेका लगानीकर्ता अस्पताल तथा नर्सिङ–होम सञ्चालकहरूबाट मुलुकको स्वास्थ्य अवस्थामा सुधार आउँछ भन्ने कल्पना कसैले नगरे हुन्छ । स्वास्थ्य अवस्थालाई सुधार गर्ने हो भने एक बेड एक नर्सको व्यवस्था सरकारी र निजी अस्पतालमा हुनैपर्छ । उनीहरूलाई नेपाल सरकारले तोकेबमोजिमको सेवा–सुविधा र पारिश्रमिक हुनैपर्छ ।

तर यो गर्ने कसले ? मैले यो लेख्दैगर्दा निजी अस्पताल र नर्सिङ होममा काम गर्ने नर्स र निजी विद्यालयमा काम गर्ने शिक्षकहरूको अवस्था उस्तै–उस्तै रहेको छ । नियुक्ति–पत्र छैन, सरकारी सुविधा त कता हो कता भनेको बेला सर्तअनुसारको पारिश्रमिक पनि छैन । कतिबेला के कुरामा चित्त नबुझ्ला र कामबाट निकालिनुपर्ला भन्ने चिन्ता र खटाइ दुवैतिर उस्तै छ । हाम्रो पक्षमा बोलिदिने नेतृत्व पनि छैन ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: