birat ribon

गरिबको पीडा : खाने अन्न छैन, उपचार कहाँबाट गर्नु ?

Neuro
गरिबको पीडा : खाने अन्न छैन, उपचार कहाँबाट गर्नु ?

मोहन ढकाल/विराटनगर

विराटनगर महानगरपालिका–१९ घिनाघाट सुकुम्बासी बस्तीकी ललिता ऋषिदेव बिरामी छिन् । घरमा खाने अन्न र सुत्ने खाटसमेत छैन । पकाएर खान दिने मान्छे पनि छैनन् । केही महिनाअगाडि श्रीमानको पनि मृत्यु भयो । दुईजना छोरामध्ये एक जना बुबाको मृत्यु भएपछि घर आएका थिए । तर, अहिले घर छाडेर गइसकेका छन् । छोरा कहाँ छन् भन्ने ललितालाई थाहा छैन ।

cura insider

बिरामी परेको दुई महिनाभन्दा बढी भयो । उपचार गर्ने पैसा छैन । अरुको घरमा भाडा माझ्ने, लुगा धुने काम गरेर उनले गुजारा चलाउने गरेकी थिइन् । काम गर्दागर्दै बिरामी परेकी उनलाई आजभोलि अरुको आसमा बस्नु परेको छ । ‘कसैले ल्याएर दिएमा खान्छु,’ उनले भनिन्, ‘नभए भोकै बस्नुपर्ने बाध्यता छ, राम्रोसँग हिँडडुल गर्नसमेत सक्दिनँ ।’

ललिता ऋषिदेव

‘गत वर्ष पनि लकडाउनका कारण समस्यामा पर्दा सहयोग मिलेको थियो,’ उनले भनिन्, ‘त्यतिखेर काम पनि गर्न सक्थेँ, लकडाउनका कारण काम नचल्दा राहत पाउँदा केही सहज भएको थियो, तर, अहिले त आफैँ बिरामी छु, राहत पनि पाइएन, धेरै समस्या भएको छ ।’

गत वर्ष लकडाउनमा उनका श्रीमान् फति ऋषिदेव बिरामी थिए । लामो समयदेखि थलिएका उनलाई काम बन्द भएपछि लकडाउनका बेला पाएको राहत र कहिलेकाहीँ मागेर नै भए पनि उनले दुई छाक खुवाएकी थिइन् । तर, आज आफैँ बिरामी भएर हिँडडुल गर्न नसक्दा हेरचाह गर्ने कोही छैनन् ।

ललिताजस्तै सोमनी ऋषिदेवको पीडा पनि दर्दनाक छ । दुईजना बुढाबुढी मात्रै छन् । उनका श्रीमान् पनि लामो समयदेखि बिरामी छन् । उनले अरुको घरमा काम गरेर बिहानबेलुकाको छाक जोहो गर्ने गरेकी थिइन् । तर, कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण उनको पनि रोजीरोटी खोसियो ।

सोमनी ऋषिदेव

‘काम गर्ने घरमा जान दिँदैनन् । घरमा खाने अन्न पनि छैन । न त कतैबाट राहत नै उपलब्ध भयो,’ उनले भनिन्, ‘घरमा अन्न पनि छैन, बुढा बिरामी हुनुहुन्छ, मैले काम गरेर बिहानबेलुकाको छाक जोहो गर्ने गरेको थिएँ ।’

अहिले बन्दका कारण काम पनि नभएका कारण भोकै बस्नुपर्ने अवस्था आइसकेको उनले बताइन् । ‘हामी गरिब त भोकै मरिन्छजस्तो छ,’ उनले भनिन्, ‘बिरामी पर्दा कसरी उपचार गर्न सक्नु, अहिले कसैले दिए एक छाक टर्छ नभए भोकै बस्नुपर्छ ।’

सुकुम्बासी बस्तीकै फुलेश्वरी ऋषिदेवको घरसमेत छैन । दुईजना बुढाबुढीलाई छिमेकीले दलानमा सहारा दिएका छन् । उनी पनि अरुको घरमा भाँडा माझेर दैनिक गुजारा गर्दै आएकी थिइन् । तर, निषेधाज्ञाका कारण कामविहीन बन्दा अहिले बिहानबेलुकाको छाक टार्न सकस भएको छ । अहिले अरुको आसमा बस्नु परेको सुनाउँदै उनले भनिन्, ‘काम रोकिएपछि अन्न पनि सकिएको छ, कतैबाट जोहो भयो भने पकाउँछु, नभए भोकै बस्नुपरेको छ ।’

रम्बा ऋषिदेवको समस्या पनि उस्तै छ । घरमा आमा बिरामी हुँदासमेत उपचार गर्ने पैसा छैन । थप पीडा त बिहान बेलुकाको छाक कसरी टार्नु भन्ने छ । राजमिस्त्रीको काम गर्ने उनको काम एक दिन भयो भने दस दिन हुँदैन । श्रीमानको काम पनि त्यस्तै छ । पाँच जनाको परिवार छ । बिहानबेलुकाको छाक टार्नसमेत मुस्किल भएको सुनाउँदै उनले भनिन्, ‘घरमा आमा बिरामी हुनुहुन्छ, बिहानबेलुकाको छाक टार्न पनि समस्या भएको छ ।’

सोही ठाउँकी सीता ऋषिदेवको पीडा पनि उस्तै छ । राजमिस्त्रीको काम गर्ने उनी निषेधाज्ञाका कारण भोकै मर्ने अवस्था आएको सुनाउँछिन् । उनका श्रीमान् पनि राजमिस्त्रीको काम गर्छन् । तर, निषेधाज्ञाकै कारण नियमित काम नहुँदा समस्या आएको उनले सुनाइन् । उनले भनिन्, ‘एक दिन काम भयो भने हप्ता दिन त्यत्तिकै बस्नुपर्छ, खै कसरी खान पुग्छ ?’

उनीहरू त उदाहरणका पात्र मात्रै हुन् । उक्त बस्तीका विपन्न वर्गले राहत पाउने आसमा बसेको भए पनि नपाएको गुनासो गरेका छन् । आफ्नो खेतबारीसमेत नभएका कारण दैनिक मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यतामा रहेका उनीहरू कोरोना र निषेधाज्ञाका कारण थप पीडामा बस्न बाध्य भएका छन् । कसैले सहयोग गरेमा केही दिन भए पनि दैनिकी सहज हुने आसमा बसेको उनीहरू सुनाउँछन् । चुनावका बेला अनेक सपना देखाएर भोट माग्न आउने राजनीतिक दलका नेता कार्यकर्ता समस्या पर्दा देखासमेत नपर्ने गरेको भन्दै उनीहरूले आक्रोशसमेत व्यक्त गरेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: