birat ribon

जिन्दगीको के छ र भर…

Neuro
जिन्दगीको के छ र भर…
  • गार्डेन राई

जिन्दगीको के छ र भर 
अजम्बरी को नै छ र 
भावीले लेखेको कसले छ देखेको…

गायक केतन क्षेत्रीले गाएको र गीतकार सुरज गैह्रेले लेखेको यो गीत आजभोलि मेरो मनपर्ने गीतका लिस्टहरूमध्येको एक बनेको छ । 

cura insider

वास्तवमा जिन्दगीको के नै हुने रहेछ र भर …

सङ्घर्षका पाइला चाल्दै गरेका र प्रशस्तै सम्भावना बोकेका युवा गायक तथा सङ्गीतकार आदरणिय दाइ जनम थुलुङको ३३ वर्षको अल्पायुमै भएको निधनप्रति म स्तब्ध छु । मृतकको आत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।  

थाहा छ मलाई, मैले लेखेका यी शब्दहरू दाइले पढ्नुहुन्न… अनि यो पनि थाहा छ कि– यी कुराहरू लेखे पनि नलेखे पनि दाइलाई अब केही प्रभाव पर्नेवाला छैन भनेर । यो पोस्टले न तपाईलाई सपोर्ट नै हुने छ न सम्मान नै मिल्ने छ ।

यी कुराहरू थाहा हुँदाहुँदै पनि डिजिटल अक्षरहरूले सम्झँदै छु दाइ । तपाईंको भौतिक शरीर जलेर खरानी भए पनि आत्मा यताकतै छ लागिरहने । त्यही भएर अन्यथा नलिइदिनुस् है दाइ, तपाइको आत्मासँग केही कुराहरू लेख्ने अनुमति चाहेँ ।

कसलाई के थाहा– कुन बोली र भेट अन्तिम हुन्छ भनेर । वैशाख २९ गते बिहान ११ बजेर ४२ मिनेट जाँदा भएको दाइसँगको कुराकानी अन्तिम रहेछ । मलाई के थाहा– त्यो कुरा अन्तिम हुन्छ भनेर । 

दाइ सधैँ गीतसङ्गीतमा व्यस्त रहने । सधैँ कुरा गर्न पनि सम्भव थिएन । 

केही समयपछि दाइको फेसबुकमा ट्याग गरेका पोस्टहरू आउन थाले– गेट वेल सुन…

त्यसपछि थाहा पाएँ– दाइलाई कोरोना पोजेटिभ भएको रहेछ । प्राय फेसबुकमा हरियो देखिने मान्छे अफलाइन हुनुभयो । फोन गर्दा स्विचअफ । 

सोचेँ– दाइ सन्चो भएर घर फर्किनुहुन्छ अनि कुरा गर्छु । तर जेठ १३ गते साँझको समय । कोही एक जना दाइको आफन्त अर्थात शुभचिन्तक हुनुपर्छ– उहाँले दाइको फेसबुकमा ट्याग गरेको पोस्ट देखेँ । पत्याउन मुस्किल हुने पोस्टले झस्किएँ म । केही छिनभित्रै श्रद्धाञ्जलीका ट्यागहरू आउन थाले । 

पत्याउँ पनि कसरी ? नपत्याउँ पनि दाइको फेसबुक टाइमलाइन श्रद्धाञ्जलीको पोस्टले भरिइसकेको थियो । मनले भन्थ्यो– दाइ अनलाइन आएर ती पोस्टहरू देखेर यी सबै झुट हुन् भनेर आफना कुराहरू लेखी पोस्ट गर्नुहुन्छ । अनि सबैसँग स्पष्टीकरण लिनुहुन्छ । 

तर, अहँ… दाइको केही सफाइ आएन । दाइको तर्फबाट केही प्रतिक्रियाहरू आएनन् । म निःशब्द भएँ । आँसुले आँखा भरिए । 

बेलुकी नृत्य निर्देशक ममता थुलुङसँग कुराकानी भयो । उहाँबाट एकिन पनि भयो । उहाँलाई सर्वाङ्ग सेवा अस्पताल कुपण्डोलमा आइसियुमा राखिएको रहेछ । अन्ततः उपचारकै क्रममा मृत्यु भएको ममताजीबाटै थाहा पाएँ ।

ममताजी एकदमै दुःखी हुनुहुन्थ्यो । प्रोजेक्टहरू सँगै गरेको सम्झिनुभयो । भावुक भयौँ– दुवैजना । तर वास्तविकतालाई स्वीकार्नुबाहेक विकल्प थिएन हामीसँग ।

केही कुरा लेखेर फेसबुकमा पोस्ट गर्न मनले मानेन । अहिले यी कुराहरू लेखिरहँदा पनि मन साह्रै नमिठो भएको छ । त्यत्तिकै त ढिलो टाइप गर्ने मेरा औँलाहरू भmनै आज सुस्त चलिरहेका छन् । 

मैले चिनेको जनम दाइ 

सबैसँग मिजासिलो बोल्ने अनि मित्रवत व्यवहार । सहयोगी भावना । कसैको मन नदुखाउन नाइँ भन्न नजान्ने । सफा मन । 

२०७२ साल जस्तो लाग्छ । म रेडियोमा कार्यरत थिएँ । म कार्यरत रेडियोमा उहाँ पाहुना बनेर आउनुभएको थियो । सहकर्मी यमुना मगरले उहाँको अन्तवार्ता लिनुभएको थियो । उहाँले आफ्नो ‘दृश्य’ एल्बमको गीतका अडियोहरू छाडेर जानुभएको थियो । 

मलाई डान्सिङ बिटका गीतहरू अलि बढी मन पर्ने भएका कारण दाइका गीतहरूमध्येको ‘ठूल्दाइले जन्ती जाऔँ भनी निम्ता दिए’ मैले सञ्चालन गर्ने कार्यक्रमहरूमा प्रायः बजाइरहन्थेँ । पछि उहाँले यो गीत धेरै बज्यो, म आफैँलाई लाज लाग्यो भनेर भनेपछि बजाउन अलि कम गरेकी थिएँ । 

अनि बिहान कहिलेकाहीँ एक्सरसाइज गर्दा पनि यही गीत बजाउँदै नाचेको याद आउँछ । त्यतिबेला कुरा गर्दा हाँसो लाग्थ्यो । अहिले सम्झना बन्यो । 

गतवर्षको दसैँभन्दा केही अगाडि दाइले आफनो गीतमा आलेखन गर्नुपर्ने छ भन्नुभयो । म आफ्नो मातृभाषा खासै नबोल्ने । अब के गर्ने ? हुन्छ भन्दा पनि कसरी गर्ने ? हुन्न, गर्दिनँ भन्दा पनि विश्वास गरेर भनेको कसरी हुन्न भन्नु… द्विविधामा परेँ ।

पछि ‘हुन्छ दाइ, स्क्रिप्ट पठाउनुस् । ट्राइ गर्छु नि’ भनेँ । स्क्रिप्ट पठाउनुभयो । मोबाइलमा रेकर्ड गरेर आफैँले सुन्दा पनि लाज लाग्यो । उच्चारण मिलेको थिएन । लवज मिलेको थिएन । पछि दाइलाई सबै समस्या भनेर ‘सरी दाइ’ भनेँ ।

त्यसपछि दाइले अरु नै व्यवस्था मिलाउनुभएको थियो । फेरि पनि सरी दाइ ।

दाइ मिडियामा कम चासो दिने । नामलाई भन्दा आफ्नो काम अनि कर्मलाई सधैँ प्राथमिकतामा राख्ने । प्रचारप्रति खासै रुचि नराख्ने । आफ्ना लागि भन्दा पनि समुदायका लागि मरिमेट्ने । 

को हुन् जनम थुलुङ ?

खोटाङ जिल्लाको महेश्वरी रिब्जुङमा जन्मिएका जनम थुलुङ बुबा रासमान थुलुङ र आमा मंशीमाया थुलुङका कान्छा छोरा हुन् ।

बुबा इन्डियन लाहुरे भएका कारण उनलाई पनि लाहुरे बनाउने बुबाको सोच थियो । लाहुरे बनाउने बुबाको सोचलाई थाती राखेर १७ वर्षको उमेरदेखि नै कला क्षेत्रमा प्रवेश गरे ।

थुलुङको दृश्य, आलास्यो र माम पाप गरी तीन वटा एल्बम निस्किएका छन् । दर्जनभन्दा बढी गीत गाएका स्वर्गीय गायक जनम थुलुङ नेपाली गीतभन्दा मातृभाषाको गीतलाई बढी प्राथमिकतामा राख्ने गर्थे । 

आफ्नो मातृभाषालाई जीवन्त राख्ने सोचाइका साथ मातृभाषा (थुलुङ) का गीतहरूको भिडियो आफ्नै लगानीमा बनाउन सुरु गरेका थिए ।

२०७७ साल असोज २३ गते उनको तेस्रो एल्बम अर्थात थुलुङ भाषाको दोस्रो एल्बम ‘माम पाप’ मा रहेको गीत ‘हाम बोमु झाम’ (के गर्न सकिन्छ) को भिडियो रिलिज गरेका थिए । 

गीतमा आधुनिकतासँगै आफ्नो मौलिकता हराउँदै गएको चिन्ता व्यक्त गरिएको छ भने संस्कार जोगाउनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । 

यस्तै २०७७ फागुन २७ गते ‘माम पाप’ (आमा बुबा) एल्बममा रहेको गायिका पार्वती थुलुङसँग गाएको, नृत्य निर्देशक ममता थुलुङले निर्देशन गरेको ‘रोक्नी वो च्योमिम’ युट्युबमार्फत सार्वजनिक गरेका थिए । 

‘रोक्नी वो च्योमिम’ गीतमा आफ्नै बुबाआमालाई अभिनय गराउने उनको सपना थियो । गीतसङ्गीतको माध्यमबाट समुदायलाई सन्देश दिए पनि आफ्ना बुबा र आमाका लागि ‘रोक्नी वो च्योमिम’ गीत उपहार स्वरुप दिने उनको प्रण थियो । त्यो सपना भने उनले पूरा गरेका छन् । 

केही योजनाहरू सफल भए पनि कति सपना र योजनाहरू अधुरै रहे । जसमध्ये खुक्सङ खम्बूले रचना गरेको गीत ‘खुवालुङ ! खुल ! खुल’ बोलको गीतको म्युजिक भिडियो बनाउने सपना अधुरै रह्यो । 

यस्तै अन्य गीतहरू रचना गर्ने, गाउने अनि गीतमा मिठामिठा सङ्गीत भर्ने सपनाहरू अधुरै रहे ।

०००
 
भाषा, समुदाय अनि कलाको विषयमा चासो अनि चिन्ता लिइरहने व्यक्तित्व हामीबाट सदासदाका लागि टाढा हुनुभएको छ । तपाईंका हरेक मिठा शब्दहरू मन मस्तिष्कमा रहिरहनेछन् । तपाईंले गीत सङ्गीतमार्फत समुदायमा पुर्‍याएको योगदान अविस्मरणीय छ । तपाईंको आवाजमा रहेका गीत जीवन्त रहिरहने छन् । 

दाइको बारेमा कति धेरै कुराहरू लेख्न छुटेका छन् । दाइ, सबै कुरा अटाउन सकिनँ, माफ गर्नुुस् है । मलाई केही जानकारीहरू प्रदान गर्न सहयोग गर्नुहुने नृत्य निर्देशक ममता थुलुङप्रति आभारी छु । 

दाइ, तपाईंको मृत्युको कारण सबैजना स्तब्ध छौँ । 

तपाईंको आत्माले स्वर्गमा बास पाओस् । 

अलबिदा जनम दाइ । अलबिदा ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: