birat ribon

भारतमा अहिलेसम्मकै धेरै सङ्क्रमितको मृत्यु

Neuro
भारतमा अहिलेसम्मकै धेरै सङ्क्रमितको मृत्यु

विराटनगर / छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण अहिलेसम्मकै धेरै सङ्क्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा छ हजार एक सय ३८ सङ्क्रमितको मृत्यु भएको हो । एकै दिन मृत्यु भएको सङ्क्रमित सङ्ख्या कोरोना सङ्क्रमण सुरु भएयताकै अत्याधिक धेरै हो । यसअघि भारतमा एकै दिनमा यति धेरै सङ्क्रमितको मृत्यु भएको थिएन ।

cura insider

अघिल्लो दिनको तुलनामा भारतमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या झन्डै तेब्बर बढेको तथ्याङ्कले पुष्टि गर्छ । अघिल्लो दिन दुई हजार दुई सय १३ सङ्क्रमितको मात्रै मृत्यु भएको थियो । कोरोनाको कहालीलाग्दो अवस्थामा मृत्युको डरलाग्दो तथ्याङ्कले सबैलाई चिन्तित बनाएको छ ।

दोस्रो भरियन्टको कोरोना महामारीले विश्वमा अति नै प्रभावित बनाएको मुलुक भारतमा २४ घण्टाभित्र सबैभन्दा धेरै चार हजार तीन सयसम्म सङ्क्रमितको मृत्यु भएको थियो । त्यो सङ्ख्या घट्दै गएर दुई हजार पाँच सय हाराहारीमा झरेको थियो । तर कोरोना नियन्त्रणमा सफलता हात पार्दै गइरहेका बेला एक्कासि धेरै सङ्क्रमितको मृत्यु भएपछि सर्वत्र चिन्ता छाएको छ ।

दोस्रो भेरियन्टपछि भारत कोरोनाका कारण विश्वमै नराम्ररी प्रभावित बनेको मुलुक हो । दैनिक सङ्क्रमित सख्या चार लाखभन्दा बढी पुगेको थियो । अहिले भने त्यो सङ्ख्या घटेर एक लाखभन्दा तल झरेको छ ।

तर दैनिक सङ्क्रमित घट्दो क्रममा रहेकै अवस्थामा भारतमा सर्वाधिक सङ्क्रमितको मृत्यु हुन पुगेको हो । भारतमा एकै दिन मृत्यु भएको सङ्ख्या विश्वका अन्य मुलुकमा २४ घण्टाभित्र मृत्यु भएका सङ्क्रमितको भन्दा पनि अत्याधिक धेरै हो । तथ्याङ्कले भारतमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढेको देखाउँछ ।

दोस्रो भेरियन्ट सुरु भएयता विश्वका अन्य मुलुकमा भन्दा नयाँ थपिने र मृत्यु हुने सङ्ख्या भारतमा अत्याधिक धेरै छ । भारतमा नयाँ थपिने सङ्क्रमित सङ्ख्या उच्च हुँदा बिरामीको उपचार निक्कै असहज बनेको थियो । उपचार गराउने स्थानको अभाव भयो ।

अस्पताल र स्वास्थ्य संस्थाहरु सङ्क्रमितले भरिए । कोरोना सङ्क्रमितका लागि अक्सिजन अभावको सामना पनि भारतले गर्नुपर्ने अवस्था आयो । भारत आफैले पनि कोरोनाविरुद्धको खोप विकास गरेर आफ्ना नागरिकलाई लगाउँदै आएको छ ।

विश्वका विभिन्न मुलुकमा आफ्नो देशमा बनेको खोप पनि भारतले उपलब्ध गराउँदै आएको थियो । महामारीले अवस्था जर्जर बनेपछि भने भारतले अरु मुलुकमा खोप निर्यात रोकेको छ । पछिल्लो समय महामारी नियन्त्रणमा निक्कै सफलता हात पारिरहेका बेला एकै दिनको मृत्युले ठूलो तनाव थपिएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण तीन लाख ५९ हजार छ सय ९५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा ९३ हजार आठ सय ९६ नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या दुई करोड ९१ लाख ८२ हजार ७२ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ७६ लाख ३८ हजार नौ सय दुई जना उपचारपछि निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ११ लाख ८३ हजार चार सय ७५ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

सङ्क्रमित सङ्ख्याको हिसाबमा भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

खुला सिमाना रहेको मुलुक भारत कोरोनाबाट नराम्ररी प्रभावित बन्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने गरेको छ । सीमा क्षेत्रबाट हुने अवैध आवतजावात र भारतसँगको सिधा सम्पर्कका कारण नेपालमा कोरोना फैलिएको अनुमान गरिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: