birat ribon

गोर्खा वेलफेयरद्वारा नौ लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

Neuro
गोर्खा वेलफेयरद्वारा नौ लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

धरान/ गोर्खा वेलफेयर ट्रस्ट नेपालले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासङ्घ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आइसोलेसन सेन्टरलाई नौ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

धरान–१९ स्थित हरियाली सामुदायिक भवनको आवास गृह परिसरमा एक कार्यक्रम आयोजना गर्दै गोर्खा वेलफेयर ट्रस्ट नेपालले आज (बुधबार) नौ लाख २८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गरेका हुन् ।

cura insider

एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख अफिसर पूर्णप्रसाद लिम्बूका अनुसार आइसोलेसन सेन्टरलाई तीन थान अक्सिजन कनेक्टरका साथै पल्स अक्सिमिटर २० थान र पिपिई सेट दुई सय थान सहयोग प्रदान गरिएको छ ।

प्रमुख अफिसर लिम्बूले आवश्यक परेको खण्डमा आइसोलेसन सेन्टरलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश १ का २२ स्थानमा गोर्खा वेल्फेयरले स्वास्थ्य सामग्री सहयोग गरिएको जानकारी दिए ।

मेयर तिलक राईले स्वास्थ्य सामग्री ग्रहण गर्दै गोर्खा वेल्फेयरको प्रशंसा गरे । मेयर राईले गोर्खा भूतपूर्व आर्मीहरूको सेवा, आश्रित परिवार र गोर्खा भूतपूर्वहरूको बसोबास रहेको क्षेत्रमा गोर्खा वेल्फेयरले विभिन्न मानवीय सेवा गरिरहेको बताए ।

धरान आफैँमा गोर्खा भूपूहरूको अत्यन्तै बाक्लो बस्ती भएको बताउँदै मेयर राईले भने, ‘गोर्खा वेल्फेयर ट्रस्टले विपदको बेलामा, खानेपानी, शिक्षा लगायत विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ ।’

गोर्खा वेल्फेयरले यसअघि कोभिड–१९ को पहिलो लहरमा पनि धरान उपमहानगरपालिकालाई सहयोग गरेको थियो । कोभिड–१९ को दोस्रो लहरमा पनि अत्यन्तै महत्वपूर्ण स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै ट्रस्टलाई धन्यवाद व्यक्त गरे ।

मेयर राईले शव व्यवस्थापनका लागि नेपाल आर्मी र स्काउट नेपालसँग समन्वय गरिरहेको जानकारी दिए । साथै, उनले आइसोलेसनमा बसेका सङ्क्रमित बिरामीहरूको पनि स्वास्थ्य अवस्था बुझेका थिए ।

हरियाली आइसोलेसन सेन्टरमा खटिएकी स्वास्थ्यकर्मी दीपकला राईले सेन्टरमा १२ जना कोरोना सङ्क्रमित रहेको जानकारी दिइन् ।

उनले भनिन्, ‘आइसोलेसन सेन्टरमा १४ जना सङ्क्रमित बसेका थिए । दुई जना ठीक भएर डिस्चार्ज भएपछि अहिले १२ जना हुनुहुन्छ । उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: