birat ribon

घरबाहिर प्रहरीको निगरानी : घरभित्र महिला हिंसा !

Neuro
घरबाहिर प्रहरीको निगरानी : घरभित्र महिला हिंसा !
  • मेनुका कोइराला/काठमाडौँ

अघिल्लो वर्ष नेपालमा कोरोना भाइरस सङ्क्रमणको पहिलो लहर भित्रिएपछि आधा वर्ष हामीले प्रहरीको सुरक्षा र निगरानीमै बितायौँ । खाद्यान्न किन्न पसल पुग्दा समेत प्रहरीकै निगरानीमा हुन्थ्यौँ । हाम्रो देश, समाज या भनौँ हाम्रो घरबाहिर प्रहरी घुमिरहेकै थिए, हाम्रो सुरक्षाका लागि । 

कुनै पनि अपराधका घटना हुँदा मानिस प्रहरीसम्म पुग्छ । तर, लकडाउनले प्रहरी घरबाहिर आइपुगेको थियो । जनताको सुरक्षाका लागि उनीहरू गेटबाहिरै लाठी बोकेर बस्न थालेका थिए । लकडाउन उल्लङ्घन गर्नेलाई त कति ठाउँमा प्रहरीको लाठी बर्सिएको पनि थियो ।

cura insider

त्यतिबेला घरेलु हिंसा अशिक्षित र अविकसित देशमा मात्रै हुन्छ भन्ने हाम्रो भ्रम टुट्यो । विश्व नै लकडाउनको मारमा परेको समयमा पनि घरभित्रै भएका महिला भने सुरक्षित हुन सकेनन् । हाम्रो घर, समाज बाहिर प्रहरी हुँदा पनि घरभित्र भने ठूलो सङ्ख्यामा महिला हिंसासम्बन्धी घटना भए ।

धेरै महिलाले आफ्नै घरभित्र असुरक्षित महसुस गर्नुपर्‍यो । कोभिडको डरले क्वारेन्टाइनमा बसेकाहरूसमेत ढुक्कले बस्न पाएनन् । क्वारेन्टाइनभित्रै क्वारेन्टाइनका व्यवस्थापक र संयोजकहरूले सामूहिक बलात्कार गरेको घटना हामी सबैले सुन्यौँ ।

यसरी महिला हिंसाको घटना बढिरहँदा पनि दोषीलाई कारबाही भने हुन सकेन । बालिका बलात्कारका घटनाहरू बाहिरिए । बलात्कारीलाई सजाय भन्दै अधिकारकर्मीसहितका महिला सडका उत्रिएर नारा लगाउने कार्य रोकिएन ।

तथ्याङ्कमा अपराधका घटना बढ्दै गयो । तर, कारबाहीको तथ्याङ्क भने घट्दै गयो । जसले गर्दा अपराध गर्नेको मनोबल बढ्दै गयो र घरेलु हिंसाका घटना निरन्तर भई नै रहे ।

निर्मला पन्तदेखि मैना सुनुवारसम्मका बलात्कारका घटनाको सत्यतथ्य बाहिर नआउँदै अङ्गिरा पासीदेखि भागरथि भट्टको न्यायका लागि नारा लगाउनैपर्‍यो । तर, निष्कर्ष अझसम्म निस्किएको छैन ।

यी त भए अघिल्लो वर्षका घटना । 

कोरोनाको दोस्रो लहर भित्रिएपछि वैशाखदेखि काठमाडौँ लगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा गरिएको छ । अहिले पनि हाम्रो निगरानीमा प्रहरी खटिएका छन् । प्रहरी हामीनिकट नै छ । हाम्रो वरिपरी हामीसँगै ।

प्रहरीकै डरले पनि सबै नेपाली घरभित्रै थन्किएका छन् । यो समयमा महिलाहरू कतिको रोजगारी गुमेको छ भने कतिपय घरैबाट काम गरिरहेका छन् । कतिपय घर भान्छामै सीमित भएका छन् ।

हाम्रो पुरुषप्रधान समाजमा जति नै महिला र पुरुष बराबर भन्ने आदर्शका नारा लगाए पनि अधिकांश महिला बिहानदेखि बेलुकासम्म भान्छा, लुगा धुने, घर सरसफाइजस्ता काममा व्यस्त हुँदा अधिकांश घरका पुरुष भने मनोरञ्जनमै व्यस्त हुन्छन् ।

यसरी दिनरात घर सम्हाल्ने र घरभित्रै बसिरहँदा पनि महिला सुरक्षित छैनन् । उनीहरू आफ्नै श्रीमान्, बाबु, ससुरालाई शङ्काको दृष्टिले हेर्न बाध्य छन् । आफ्नैबाट हिंसा खेपिरहेका छन् ।

धेरै महिला आफ्नै घरभित्र श्रमिक बन्न बाध्य छन् । सानोतिनो व्यवसाय गरेरै भए पनि आत्मनिर्भर बनेका कयौँ महिलालाई यो लकडाउनले अब उठ्नै नसक्ने गरी खसालिदिएको छ । यसरी हेर्दा धेरै पाटोबाट महिला असुरक्षित बनेका छन् । 

अहिले सामाजिक सञ्जालमा चितवनकी सविता भण्डारीको केस निकै चर्चामा छ । उनले वैशाख ४ गते आत्महत्या गरिन् । अहिले उनलाई घरमा आफ्नै ससुराबाट जबरजस्ती करणी भएको भन्ने समाचारहरू बाहिरिरहेका छन् ।

श्रीमानबाट यातना खेप्नुपरेको भन्ने समाचार पनि सबैसामु आइरहेको छ । यहाँ पनि पीडित पक्ष एकोहोरो कराइरहेका छन् । तर, प्रहरीले अहिलेसम्म सत्यतथ्य बाहिर ल्याउन सकेको छैन । 

लकडाउनकै अवस्थामा बलात्कारका घटना सुनिइरहेकै छन् । आफ्नै घरभित्र पुरुषले महिलामाथि अत्याचार गर्दा समेत प्रहरीसम्म नपुगेको हो वा पुगेर पनि कारबाही हुन नसकेको हो भन्न सक्ने अवस्था छैन ।

सुरक्षा निकायले लकडाउनको अवधिभर डरलाग्दो तथ्याङ्क त भेला पार्छ, तर उसको मुख्य काम अर्थात् सुरक्षा र न्याय दिने काम भने गरेको छैन । ढोकैमा सुरक्षा निकाय आइपुग्दा पनि महिला तथा बालिकाहरू भने कुनै कोणबाट सुरक्षित हुन सकेका छैनन् । 

लकडाउनमा राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर ११४५ मा फोन गरेर उजुरी दिने क्रम बढेको आयोगले बताएको छ । सबैजना घरमै हुने हुँदा झगडा गर्ने, मादक पदार्थ सेवन गर्ने र महिलामाथि कुटपिट गरी घरबाट निकाल्नेजस्ता घटना बढेको आयोगले जानकारी दिएको छ । 

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवर लकडाउनको अवधिमा महिलाविरुद्धको हिंसा नबढेको बताउँछन् । ‘अहिलेको अवस्थामा घरमा झैभगडा गर्नुभन्दा पनि सबैको चिन्ताको विषय भनेको कोरोना हो,’ उनी भन्छन्, ‘यसैमा सबैको ध्यान गइरहेको छ ।’

लकडाउन अगाडि र लकडाउन सुरु भएपछिका हिंसाका घटना उस्तै रहेको उनले बताए । ‘सबै परिवार एकैठाउँमा बसेको समयमा कसरी हिंसा हुन्छ ? अहिले त घरमा सम्झाउने, बुझाउने मान्छे हुन्छन्,’ उनले भने । 

तर, घरमा भएका व्यक्तिबाट नै महिला असुरक्षित भइरहेको महिला अधिकारकर्मीहरू बताउँछन् । 

कल्याणी शाह, महिला अधिकारकर्मी

लकडाउनका कारण महिलाविरुद्ध हिंसा बढेको सत्य नकार्न सकिँदैन । अहिलेको अवस्थामा साथ र सहयोग नपाएर धेरै महिलाले आफूविरुद्ध भएको हिंसाका आवाज उठाएका छैनन् । यस्तो बेलामा महिलालाई राज्यबाट कुनै किसिमको सहयोग प्राप्त भएको छैन ।

लकडाउनको बेला र घरको झैभगडा भनेर प्रहरी कुनै हालतमा पनि महिलालाई सहयोग गर्न तयार छैन । सरकारी हटलाइन र हेल्पलाइनमा पनि चाहेको समयमा फोन उठ्दैन । राष्ट्रिय महिला आयोग पनि तुरुन्तै एक्सन लिने खालको छैन ।

गुनासो सुन्दैमा समस्याको समाधान हुने होइन । आफ्नै परिवारविरुद्ध आवाज उठाएर एउटा महिला प्रहरीसम्म पुग्दा उसलाई हौसला र हिम्मत दिनुपर्ने ठाउँमा उनीहरूलाई मेलमिलाप गरेर पठाइन्छ । यसरी कुनै पनि महिलाले न्याय नपाएपछि अपराधीहरूले झन अपराध गर्न हौसला पाएका छन् ।

आजसम्म बलात्कार गर्नेले कडा सजाय पाएको छैन । जसले गर्दा बलात्कारीलाई हौसला मिलिरहेको छ । यहाँ महिलाको आवाज दबाइन्छ, जसले गर्दा महिलाहरू आत्महत्याको सिकार हुन पुग्छन् ।

यसरी हेर्दा लाग्छ– हाम्रो देशमा महिला हिंसाको अन्त्य नै हुँदैन अथवा कानुनमा महिलाको आवाज सुनिनुपर्छ भन्ने उल्लेख नै गरिएको छैन । अहिले लकडाउनको अवस्थामा धेरै महिला घरबाट निकाले कहाँ जाने ? के खाने ? भन्ने चिन्तामा जस्तो हिंसा पनि सहेरै बसेका छन् । 

तर, सहेर बस्नुहुँदैन । धेरै महिलाको भोलि सम्झेर चुप बस्ने बानी हुन्छ । तर, उनले भोलिका बारेमा होइन, आजका बारेमा सोचेर कदम चाल्नुपर्छ । 

jackson ribon

प्रतिक्रिया दिनुहोस्: