birat ribon

ब्ल्याक फङ्गस सङ्क्रमितकाे परिवार भन्छ : बजारमा औषधि नै पाइँदैन, भारत गएर ल्याउँदा अधिक महँगाे

Neuro
ब्ल्याक फङ्गस सङ्क्रमितकाे परिवार भन्छ : बजारमा औषधि नै पाइँदैन, भारत गएर ल्याउँदा अधिक महँगाे

अङ्किता ताम्राकार/ विराटनगर

विराटनगर ८-मधुमाराकी ४४ वर्षीया दिलमाया कार्की गत महिना बिरामी परिन् । ज्वरो आउने, खोकी लाग्ने र बेलाबेला सास फेर्न गाह्रो भएपछि काेराेना भाइरसकाे सङ्क्रमण भएका आशङ्कामा उनकाे स्वाब परीक्षण गराइयाे । नभन्दै उनमा काेभिड पाेजिटिभ देखियाे ।

cura insider

डाक्टरको परामर्श अनुसार उनलाई होम आइसोलेसनमा राखियाे । मधुमेहकी बिरामी उनले सात दिनसम्म डाक्टरकै सल्लाहमा स्टेरोइडको पनि प्रयोग गरिन् ।

परिवारको हेरचाहपछि उनी घरमै कोरोनालाई जितेर सङ्क्रमण मुक्त भइन् । तर, सङ्क्रमणसँग लड्दा उनको शरीर निकै कमजोर भइसकेको रहेछ ।

सङ्क्रमण मुक्त भएपछि देखिन थाल्यो समस्या

कोभिड निको भएको १७ दिनपछि उनमा समस्या देखिन थाल्यो । दिलमायाकी छोरी किरण थापाका अनुसार सङ्क्रमण मुक्त भए पनि उनकी आमा निकै कमजोर भएकी थिइन् ।

‘आमालाई टाउकोको पछाडिको भाग दुख्न सुरु भएको थियो,’ किरणले भनिन्, ‘त्यसपछि नाक सुक्खा हुने, दाहिने आँखा पोल्ने, आँखा दुख्ने जस्ता समस्या देखियो । एक-दुई दिनपछि उहाँकाे आँखा सुन्निन थाल्यो ।’

सामाजिक सञ्जालमार्फत ब्ल्याक फङ्गस (म्युकरमाइकोसिस) को बारेमा थाहा पाएको किरण बताउँछिन् । आमाको आँखा सुन्निन थालेपछि फङ्गसको सङ्क्रमण भएको आशङ्कामा ६ जेठमा विराटनगरको नोबेल शिक्षण अस्पताल लगेर परीक्षण गराइन् । त्यहाँ आँखाको आवश्यक परीक्षण गरेपछि फङ्गस सङ्क्रमणको आशङ्कामा डाक्टरहरूले अन्य परीक्षण पनि गरे ।  

फङ्गसको सङ्क्रमण पुष्टि भएपछि डाक्टरहरूको सल्लाहबमोजिम ७ जेठमा उनको शल्यक्रिया गरियाे । नोबेल शिक्षण अस्पतालमा आवश्यक परीक्षणपछि अस्पतालका नाक, कान तथा घाँटी विभागका सहप्रध्यापक तथा सर्जन डा. सञ्जीवकुमार ठाकुर सहित डा. ऋषिकेश ठाकुर (नाक, कान तथा घाँटी विशेषज्ञ) डा. बन्धना पौडेल (एनेस्थेसिया) र डा. ओशन श्रेष्ठ (प्याथोलोजी) लगायतको टोलीले उनको शल्यक्रिया गर्‍याे ।

डा. सञ्जीवका अनुसार पोस्ट कोभिडको समस्यासहित मधमुहेकी बिरामी उनको रगतमा चिनीको मात्रा अनियन्त्रित थियो । भारत तथा नेपालका केही ठाउँमा म्युकरमाइकोसिस देखिइसकको हुनाले उनमा पनि फङ्गसको सङ्क्रमण भएको शङ्का गर्दै जाँच गर्दा सङ्क्रमण पुष्टि भएकाे डा. ठाकुर बताउँछन् ।

‘नाकको स्वाब जाँच र नाकको इन्डोस्कोपी गरेपछि उनमा फङ्गल सङ्क्रमण भएको पुष्टि भएको हो,’ उनले भने, ‘बिरामीको नाकभित्रकाे मासु कालो भएको, मासु कुहिएको, रक्तसञ्चार नपुगेर केही भाग पहेँलो भएको तथा अलिकति पीपसेमत जमेको थियो ।’

फङ्गसको सङ्क्रमण पुष्टि भएपछि उनको नाकको कुहिएको मासु सफा गर्नुका साथै, आँखातिर पनि सङ्क्रमण फैलिसकेको हुनाले दुर्बिनको मध्यमबाट (इन्डोस्कोपिक साइनस सर्जरी) नाक र आँखाको शल्यक्रिया गरिएको उनको भनाइ छ ।

२५ दिनदेखि अस्पतालमै

शल्यक्रिया सफल भए पनि विगत २५ दिनदेखि आमा अस्पतालमै उपचाररत रहेको छोरी किरणले बताइन् । ‘७ गते शल्यक्रिया गरेपछि ८ गतेदेखि नै आमाको सुन्निएको आँखा घट्न थालेको थियो,’ उनले भनिन्, ‘स्वास्थ्यमा सुधार भए पनि अहिलेसम्म घर ल्याउन पाइएको छैन ।’

आफ्नी आमाको ज्यान बचाइदिएकामा किरण र उनको परिवारले डा. सञ्जीव र उनको टोलीसहित नोबेल अस्पतालप्रति आभार व्यक्त गरेका छन् ।  

डा. ठाकुरका अनुसार शल्यक्रिया गरेको भोलिपल्टबाट बिरामीको टाउको दुखाइ कम हुँदै गएको, आँखाको डिलहरू सुन्निएको घट्न थालेको, सुगर नियन्त्रणमा आएको, श्वासप्रश्वास तथा समग्र स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

केही दिनपछि नाकको इन्डोस्कोपी र एमआरआई गरेपछि रिपोर्टका आधारमा उनलाई डिस्चार्ज गर्ने योजना बनाइरहेको डा. ठाकुरको भनाइ छ ।

औषधि पाउनै गाह्रो, महँगाे उस्तै

आफ्नी आमाका लागि औषधि नपाएको दुखेसो किरणले गरिन् । ‘आमालाई खुवाउनुपर्ने औषधि नेपालमा छैन,’ उनले भनिन्, ‘औषधिका लागी सिलिगुडी जानुपर्छ, अहिलेको अवस्थामा बोर्डर क्रस गर्न दिन्छ/दिँदैन थाहा छैन ।’

उनका अनुसार त्यहाँ पनि एक बोटल औषधिको २२ हजार भारू बताइरहेको छ । ‘हामी जस्तो मध्यम वर्गका मानिसलाई निकै गाह्रो हुने रहेछ’, उनले भनिन् ।

उनका अनुसार आमालाई हाल प्रयोग गर्ने औषधिको मूल्य ६ हजार सात सय तिस रुपैयाँ पर्दो रहेछ । तर, औषधिको मूल्य १५ हजार तिरे पनि नपाइएको उनले बताइन् । आमाको उपचारमा दैनिक १५ देखि २० हजार रुपैयाँ खर्च हुने उनको अनुमान छ । तर, ज्यानभन्दा पैसा र ऋण ठूलो नभएको उनी बताउँछिन् ।

औषधिको विषयमा सम्बन्धित ठाउँमा कुरा राख्दा पनि कसैले चासो नदेखाएको उनको गुनासो छ । नेपाल सरकारले औषधि सहज रुपमा पाउने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिएकी छिन् ।  

म्युकरमाइकोसिसका बिरामीलाई ‘एम्फोटेरिसिन बी’ को प्रयोग गरिन्छ । म्युकरमाइकोसिसका बिरामी बढ्न थालेपछि यसमा प्रयोग हुने औषधिको अभाव देखिन थालेको छ ।

डा. ठाकुरका अनुसार महँगो र पाउन गाह्रो भए पनि सुरक्षित, बढी प्रभावकारी र कम साइड इफेक्ट भएका कारण लाइपोसोमल एम्फोटेरिसिन प्रयोग गरिन्छ ।

तर, यो नपाएको खण्डमा लिपिड एम्फोटेरिसिन बी वा एम्फोटेरिसिन बी डिअक्सिकोलेटको पनि प्रयोग गर्न सकिन्छ । एम्फोटेरिसिन बी डिअक्सिकोलेट सस्तो र पाउन सजिलो भए पनि यसले मिर्गौला तथा कलेजोमा असर गर्ने हुदा जाँच गरिरहन जरुरी हुन्छ ।

बिरामी र सङ्क्रमणको अवस्था अनुसार एम्फोटेरिसिन बी कम्तीमा सात दिनदेखि चार वा आठ हप्तासम्म प्रयोग गर्नुपर्ने डा. ठाकुर बताउँछन् ।

बिरामीलाई डिस्चार्ज गर्ने बेला दुई हप्तादेखि ६ महिना सम्म प्रयोग गर्नुपर्ने गरी ओरल औषधिमा परिवर्तन गरिने उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म करिब एक दर्जन बिरामीमा ब्ल्याक फङ्गसको सङ्क्रमण देखिएको छ । कोभिडको उपचार गराइरहेका वा निको भइसकेका, मधुमेह वा दीर्घरोगी र स्टेरोइडको प्रयोग गरेका बिरामीमा ब्ल्याक फङ्गसको सङ्क्रमण देखिन थालेको हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: