birat ribon

संसद् विघटनको रिटमाथि आजबाट सुनुवाइ

Neuro
संसद् विघटनको रिटमाथि आजबाट सुनुवाइ

विराटनगर / संसद् (प्रतिनिधिसभा) विघटन सम्बन्धमा परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार)बाट पुनः सुनुवाइ सुरु हुँदै छ ।

लगातार दुई दिन स्थगित भएको रिटमाथिको सुनुवाइ आइतबारयता ‘हेर्दाहेर्दै’मा राखेर बुधबारका लागि पूरक पेसी सूचीमा चढाइएको थियो । अस्वस्थ्य भएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा दुई दिन विदामा बस्दा सुनुवाइ अघि बढ्न सकेन ।

cura insider

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते संसद् विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेका सबै रिट एकै ठाउँमा राखेर १४ जेठबाट संवैधानिक इजलासमा सुनुवाइ हुन थालेको थियो । तर, इजलास गठनका विषयमा भएको विवादले अहिलेसम्म मूल विषयमा बहसले प्रवेश पाइरहेको छैन ।

प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा जेठ १४ गते न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको इजलास गठन गरेका थिए । तर, निवेदकहरूले श्रेष्ठ र केसीका बारेमा प्रश्न उठाएपछि जबराले वरिष्ठता क्रमअनुसार इजलास गठन गरेका थिए ।

श्रेष्ठ र केसीका ठाउँमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई इजलासमा राखिएको छ । तर अहिलेको इजलासका सम्बन्धमा पनि सरकार पक्षका कानुन व्यवसायीले आपत्ति जनाएपछि सुनुवाइले मूल विषयमा प्रवेश पाउन सकिरहेको छैन ।

वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्नुपर्ने माग सरकारी पक्षको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धका रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई ८ असारमा बोलाएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मङ्गलबार १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकारलाई आदेश पनि दिएको छ ।

मन्त्रिपरिषद् विस्तार संविधानविपरीत रहेको भन्दै सर्वोच्चमा ६ रिट दायर भएका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठी तथा अधिवक्ताहरू राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहसमेतले छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: