birat ribon

विराटनगरमा विपन्न लक्षित फुड बैङ्क सञ्चालन

Neuro
विराटनगरमा विपन्न लक्षित फुड बैङ्क सञ्चालन

मोहन ढकाल / विराटनगर

विराटनगरकी धनमाया राई शब्जी व्यापार गर्थिन् । परिवार धान्नका लागि दैनिक शब्जी व्यापार गर्नैपर्ने बाध्यता उनको छ । तर निषेधाज्ञाका कारण व्यापार गर्न नपाएर कमाइ नहुँदा उनको परिवार समस्यामा पर्न थालेको छ ।

cura insider

दैनिकी कष्टकर बनिहेका बेला थोरै भए पनि राहत पाउने खबर उनले पाइन् । विराटनगरको बरगाछीमा भेटिएकी उनी राहत स्वरुप पाएको चामल, नुन र दाल लिएर घरतर्फ फर्कदै थिइन् ।

सामान्य भए पनि राहत पाउँदा खुशी लागेको राईले बताइन् । निषेधाज्ञाका समयमा यसपटक सरकारले राहत वितरण नगर्दा थप समस्यामा परेको उनको गुनासो छ । गतवर्ष पनि लामो समयको लकडाउनका कारण समस्या भोग्नु परेको स्मरण गर्दै उनले भनिन्, ‘हामी गरिबलाई रोगको भन्दा भोकको चिन्ता धेरै छ ।’

कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाका समयमा दैनिक छाक टार्न नसकेर समस्यामा परेका राईजस्ता धेरै विपन्न नागरिक छन् । तिनै विपन्न वर्गलाई लक्षित गरेर विराटनगरमा आज (आइतबार) बिहानदेखि फुड बैङ्क सञ्चालनमा ल्याइएको छ ।

शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका–५ बरगाछीमा बैङ्क सञ्चालनमा ल्याएर विपन्न नागरिकलाई राहत प्रदान गर्न थालेको हो । महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका समयमा परिवार धान्न नसकेर समस्यामा परेका विपन्न नागरिकलाई सहयोग गर्न थालिएको शिखर अर्गनाइजेसनअन्तर्गतको नटराज एग्रो प्रा. लिका म्यानेजर सीताराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार ‘हुनेले दिने, नहुनेले लिएर जाने’ नारा दिएर अभियानका रुपमा अघि बढाउने गरी यसको सुरुवात गरिएको हो । दैनिक दुई सय जनालाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यका साथ फुड बैङ्कको स्थापना गरिएको बर्तौलाको भनाइ छ ।

सात दिनसम्म सञ्चालन हुने कार्यक्रममा एक जनाले दुई किलो चामल, आधा किलो दाल र एक किलो नुन पाउने छन् । लामो समयदेखिको निषेधाज्ञाका कारण ज्याला मजदुरी गरेर गुजारा गरिरहेको वर्गले खाद्यान्नको समस्या भोगिरहेको छ । निम्न आर्थिक अवस्थाले गर्दा पीडामा परेको वर्गलाई लक्षित गरेर सञ्चालन गरिएको फुड बैङ्कका कारण विपन्न परिवारलाई थोरै भए पनि राहत मिल्ने अपेक्षा गरिएको छ ।

शिखर अर्गनाइजेसनअन्तर्गतका नटराज एग्रो प्रा.लि, तुलसी बहुमुखी सहकारी संस्था, गोर्खा टी एण्ड कफी, तुुलसी इण्डस्ट्रिज प्रा.लि र शिव शिखर एग्रो प्रा.लिले फुड बैङ्कको स्थापना गरेको शिखर अर्गनाइजेसनका जनसम्पर्क अधिकृत राम लिम्बूले बताए । अहिले तत्काललाई एक साताका लागि भनेर सुरु गरिएको फुड बैङ्कलाई अन्य क्षेत्रबाट सहयोग मिलेको खण्डमा निरन्तरता दिन सकिने उनको भनाइ छ ।

वैशाख तेस्रो साताबाट मोरङमा निषेधाज्ञा लगाइएको छ । लामो समयदेखि निषेधाज्ञा लगाइए पनि सरकारबाट राहत वितरण नभएपछि भात खान नपाएका गरिबको समस्या हेरेर फुड बैङ्कको अभियान चलाइएको जानकारी लिम्बूले दिए ।

दैनिक बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुने फुड बैङ्कमा खाद्यन्न लिन आउनेको भीड लाग्न थालेको छ । फुुड बैङ्क सञ्चालन भएको थाहा पाएपछि विराटनगरका विभिन्न स्थानबाट विपन्न सर्वसाधारण त्यहाँ पुुग्ने गरेका छन् । फुड बैङ्क बरगाछीस्थित तुुलसी बहुमुखी संस्थाको शो–रुम सञ्चालन गरिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: