birat ribon

वानिरा ! मैले तिम्रो पार्थिव शरीरसँग मतलबै राखिनँ

Neuro
वानिरा ! मैले तिम्रो पार्थिव शरीरसँग मतलबै राखिनँ
मनोजादित्य न्यौपाने

‘म मान्छे
च्यातिएका वाक्यका टुक्राहरूका
पटक पटक बेग्लाबेग्लै अर्थ नलगाऊ
मैले आफ्नो कहानी बिर्सिसकेकी छु ।’

माथिका पङ्क्ति मैले कवि वानिरा गिरीको कविता ‘म एउटा च्यातिएको पोस्टरभित्र’बाट लिएको हुँ । यी पङ्क्तिभित्रको अर्थले मलाई चिमोटिरहन्छ, जब म च्यातिएको पोस्टरभित्रका सन्दर्भहरू राखेर कविताको अर्थ खोज्न थाल्छु ।

cura insider

२०७८ जेठ ९ गते आइतबार राति १० बजे हृदयाघातबाट कवि वानिरा गिरीको निधन भएको खबरले म स्तब्ध भएँ । ७५ वर्षीया गिरी तीन वर्षदेखि अल्जाइमर्स रोगसँग सङ्घर्षरत हुनुहुन्थ्यो ।

उहाँ मलाई मनपर्ने अग्रपङ्क्तिका स्रष्टामध्ये एक हुनुहुन्थ्यो । तर मेरो उहाँसँग दोहोरो संवाद कहिल्यै भएन । म सदैव उहाँको एकतर्फी प्रशंसक भइरहेँ ।

त्यसो त उहाँसँग दुई–चार पटक साहित्यिक कार्यक्रमहरूमा भेट भएको पनि हो । उहाँको स्वरमा कविता सुनेको पनि हो । मैले उहाँलाई नमस्कार गरेको पनि हो । त्यसको प्रतिउत्तरमा उहाँले नमस्कार फर्काएको पनि हो ।

तर मैले उहाँसँग कुशलक्षेमबाहेक अतिरिक्त संवाद किन गरिनँ ? बिरामी भएको थाहा पाएर पनि उहाँलाई भेट्न किन गइनँ ? दैनिकजसो लेख्ने डायरीका पाना अद्यावधिक गर्ने क्रममा प्रिय कवि वानिरा गिरीबारे यस्तै प्रश्न सोच्दै म छक्क पर्छु आफैँसँग । कतै म उहाँको स्वभावबारे कुनै काल्पनिक चित्र कोरेर आफैँभित्र खुम्चिएको पो हुँ कि ? तर त्यस्तो हो जस्तो पनि लाग्दैन ।

आखिर उहाँसँग मेरो निकटता हुन नसक्नुको कारण के थियो ? सायद यो प्रश्नको औचित्य अब बाँकी छैन । कवि वानिराको देहावसानसँगै भौतिक निकटताको आवश्यकता स्वतः मुक्त भइसकेको छ । कविको ‘जीवन थायमरू’ सङ्ग्रहमा सञ्चयित ‘मुक्ति’ कविताले गरेको आग्रहजस्तो –

‘जिन्दगी मलाई मुक्ति दे
सधैँका हताराहरूबाट
मृत्यु मलाई मुक्ति दे
अनन्त रिक्तताहरूबाट
मेरो मन पर्ने कविता
मलाई मुक्ति दे
अर्थहीन अक्षरहरूबाट
ए ‘मुक्ति’ भन्ने एउटा शब्द
मलाई मुक्ति दे
मेरा सारा अक्षर, शब्द र अर्थका
इमानदारी र गहिराइहरूबाट ।’

वानिरा गिरीलाई मैले चालिसको दशकको सुरूवातदेखि नै पढ्न थालेको हुँ, आधा कविका रूपमा, आधा आख्यानकारका रूपमा । सुरूसुरूमा कविता पढेँ । त्यसपछि उपन्यास पढेँ । पछि लेख–निबन्धहरू ।

कवितालाई पहिलो प्रेम र आफूलाई प्रेमिकाका रूपमा चित्रण गर्न रुचाउने कवि वानिरा गिरीका अनुसार कविताबिनाको जीवन जेलमा कैदी भएर बाँँच्नुजस्तै हो ।

उहाँका रचनाहरू पढ्दै गर्दा मलाई लाग्थ्यो, उहाँले उद्घाटन गर्न बाँकी रहस्य अझै छन् । त्यही रहस्यको खोजीमा म उहाँका भेटे जति किताबमा गर्थेँ । फेरि अलग रहस्य थपिन्थे ।

वानिराका कवितामा म नदीमा फूलको थुँगा बगेझैँ बग्थेँ । त्यस्तो प्रवाह छ उहाँको लेखनमा, गम्भीरताको मीठो अनुभूति । उहाँले गर्ने प्रकृति चित्रण र प्रकृतिलाई हेर्ने दृष्टिकोणको म विशेष फ्यान हुँ । रचनामा उहाँका स्वतन्त्रताको जुन भाव प्रकट भएका हुन्छन्, त्यो मलाई आकर्षित गर्ने विशिष्ट विषय हो ।

हुन त कतिले उहाँलाई कलावादी भनेको पनि सुन्छु । तर मलाई उहाँ विचारका दृष्टिले कमजोर लेखक पटक्कै लाग्दैन । उहाँका लेख–निबन्ध र अन्तर्वार्ताहरूमा उहाँका विचारका झिल्काहरू प्रशस्तै छन् ।

कला र विचारलाई अलग गरेर हेर्ने बानी उहाँको थिएन । कवितालाई पहिलो प्रेम र आफूलाई प्रेमिकाका रूपमा चित्रण गर्न रुचाउने कवि वानिराको एउटा भनाइ निकै मन छुने छ । उहाँका अनुसार कविताबिनाको जीवन जेलमा कैदी भएर बाँँच्नुजस्तै हो ।

कवि गिरीका रचनाहरूको निकटतामा रहेँ । त्यसकै सौन्दर्यमा मोहित भइरहेँ । उहाँका रचनालाई मैले गरेको एकोहोरो प्रेम आजपर्यन्त कायमै छ ।

कवि वानिराले २०५६ सालमा ‘शब्दातीत शान्तनु’ कविता सङ्ग्रहको सिर्जनाबापत साझा पुरस्कार पाउनुभएको थियो । उक्त पुरस्कार पाउने उहाँ पहिलो नेपाली महिला लेखक हो ।

उहाँको देहावसानसँगै नेपाली साहित्यले असमय एउटा विशिष्ट अवसर गुमाएको सम्झेर दुःखी छु । कवि गिरीसँग समय छँदै समय मिलाएर साहित्यिक संवाद गर्न नपाएकोमा मलाई थकथकी छ । रचना मन पर्नु तर सम्भव हुँदा लेखकसँग निकट भएर संवाद प्रयास नगर्नु ? आफ्नो सुद्धि सम्झेर म आफैँलाई अनौठो लागिरहेको छ ।

कवि वानिरासँग प्रत्यक्ष लामो संलाप र संवाद नभए पनि म लामो समयदेखि उहाँका रचनाहरूको निकटतामा रहेँ । त्यसकै सौन्दर्यमा मोहित भइरहेँ । उहाँका रचनालाई मैले गरेको एकोहोरो प्रेम आजपर्यन्त कायमै छ ।

वानिरा !
मैले तिम्रो पार्थिव शरीरसँग मतलबै राखिनँ
मात्र तिमीलाई प्रेम गरिरहेँ, गरिरहेँ –
त्यसैले त तिमी मेरो निम्ति
बिर्सिनै नसक्ने कविता हौ !
सधैँ सम्झिरहने कहानी हौ ।
डायरीका पानाको पुछारमा मैले यति लेखेँ । यही नै हो मेरो उहाँप्रतिको श्रद्धाञ्जली हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: