birat ribon

कोपा अमेरिका ब्राजिलमा सरेकोमा दुःखी छन् ब्राजिलियन खेलाडी

Neuro
कोपा अमेरिका ब्राजिलमा सरेकोमा दुःखी छन् ब्राजिलियन खेलाडी

विराटनगर / दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका ब्राजिल सरेकोमा ब्राजिलियन खेलाडीहरू दुःखी रहेको बताइएको छ । ब्राजिलका मुख्य प्रशिक्षक टिटेले नै आफ्ना खेलाडीहरू अन्तिम समयमा कोपा अमेरिका ब्राजिल सारिएको विषयमा निराश रहेको खुलासा गरेका हुन् ।

बिहीबार साविक विजेतासमेत रहेको ब्राजिलले कोपा अमेरिकाको विषयमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । जसमा ब्राजिली राष्ट्रिय फुटबल टोलीका कप्तान क्यासेमिरो अनुपस्थित भएका थिए । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) को निर्णयप्रति निराश बनेका कारण उनी उपस्थित नभएको प्रशिक्षक टिटेको भनाइ छ ।

cura insider

सोमबार मात्र कन्मेबोलले कोपा अमेरिका पुनः ब्राजिलमा आयोजना हुने बताएको थियो । त्यसअघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो । तर कोलम्बियाले राजनैतिक अस्थिरताका कारण देखाउँदै र सोमबार नै कोरोना भाइरसको महामारीको कारण देखाउँदै अर्जेन्टिनामा कोपा अमेरिका आयोजना नगर्ने जनाएपछि कन्मेबोलले ब्राजिललाई जिम्मा दिएको थियो ।

तर ब्राजिलका खेलाडी भने मात्र दुई साता बाँकी रहेको समयमा कन्मेबोलले गरेको निर्णयदेखि असन्तुष्ट रहेको बताइन्छ । प्रशिक्षक टिटेका अनुसार कोपा आयोजनाको विषयमा खेलाडी र ब्राजिल फुटबल महासङ्घका अध्यक्ष रोजेरियो काबोक्लोबीच छलफल जारी छ । उनीहरूले ब्राजिलमा पनि कोपा आयोजना नगर्ने विषयमा छलफल गरिरहेको टिटेले खुलासा गरेका छन् ।

ब्राजिलले विश्वकपको दक्षिण अमेरिकी छनोटको तयारीका लागि शनिबार बिहान इक्वाडरसँग मैत्रीपूर्ण खेल खेल्दैछ । तर आजसम्म पनि कोपा अमेरिकाकै विषयलाई लिएर टोलीमा खटपट चलिरहेको टिटेको भनाइ छ ।

‘हामीले अहिले त इक्वाडरसँगको खेललाई मात्र ध्यान दिएका छौँ’, टिटेले भनेका छन्, ‘सो खेलपछि खेलाडीहरूले प्रत्यक्ष रूपमा अध्यक्ष काबोक्लोलाई भेटेर कुरा राख्नेछन् । अहिलेसम्म कारण खुलेको छैन तर अन्तिम समयमा होम मैदानमा खेल्नुपर्दा निराश भएको हुनसक्नेछ । कन्मेबोलको निर्णयप्रति रुष्टता देखाउँदै क्यासेमिरो अन्तर्वार्तामा सामेल भएनन् ।’

यता, ब्राजिलले चार स्थान पक्का गर्दै सन् २०२१ को कोपा अमेरिका आयोजना गर्न आफूहरू तयार भएको जनाएको छ । मङ्गलबार ब्राजिल फुटबल महासङ्घका सदस्य लुइज रामोसले रियो द जेनेरियो, ब्राजिलिया, माटो ग्रोस्सो र गोयास गरी चार रङ्गशालामा कोपा अमेरिका आयोजना हुने पुष्टि गरेका हुन् ।

अघिल्लो संस्करको कोपा अमेरिका ब्राजिलमै भएको थियो । जसको उपाधि ब्राजिलले नै उचालेको थियो । सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने कन्मेबोलले जनाएको छ ।

कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिलले भेनेज्वेलासँग खेल्ने छ । १३ जुनमा हुने प्रतियोगिताको उद्घाटन खेल ब्राजिलिया स्टेडियममा हुनेछ । दुई समूहमा विभाजन गरिएको प्रतियोगिताका समूह ‘ए’मा अर्जेन्टिना, चिली, बोलिभिया, पराग्वे र उरुग्वे रहेका छन् । समूह ‘बी’ मा ब्राजिल, भेनेजुयला, कोलम्बिया, इक्वेडर र पेरु छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: