birat ribon

विदेशबाट फर्केका सोलुखुम्बूका दुई युवाको रोजाइमा कालिज पालन

Neuro
विदेशबाट फर्केका सोलुखुम्बूका दुई युवाको रोजाइमा कालिज पालन
  • गार्डेन राई/सोलुखुम्बू

सोलुखुम्बूको थुलुङ दूधकोसी गाउँपालिका–६ मुक्लीका केशव गुरुङ र भक्तबहादुर गुरुङले पशुपक्षी फार्मको सुरुआत गरेका छन् ।

लामो समयसम्म विदेश बसेर नेपाल फर्केका गुरुङद्वयले आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले ‘हिमालयन तमु बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म’ को सुरुआत गरेका हुन् । 

cura insider

गत वर्ष (२०७७ साल) को चैत महिनामा काठमाडौँबाट कालिजका चल्ला लिएर फार्म सुरुआत गरेको केशव गुरुङ बताउँछन् । 

१५ रोपनी जग्गामा करिब ३५ लाख रूपैयाँ लगानीमा सुरु गरेको फार्ममा अहिले तीन सय वटा रिङनेक जातका कालिज छन् । यस्तै कालिजको साथमा च्याउ खेती र लोकल जातको बाख्रापालन पनि गरिरहेका छन् । 

१७ वर्ष विदेश बसेका भक्तबहादुर र १० वर्ष विदेश बसेर फर्केका केशव गुरुङ दुवैको स्वरोजगार बन्ने एउटै उद्देश्य छ । 

साउदी, मलेसियामा तीन वर्ष र कोरियामा पाँच वर्षसम्म काम गरेर नेपाल फर्केका केशव भन्छन्, ‘विदेश कति बस्ने ! अब आफ्नै देशमा बसेर केही व्यवसाय गरौँ भनेर सुरु गरेका हौँ ।’

‘विदेश बसेर मात्र के गर्नु, बरु आफ्नो गाउँठाउँमा कुनै राम्रो व्यवसाय छनौट गरेर मेहनत गर्न सके यहीँ पनि कमाएर रमाउन सकिने वातावरण छ,’ केशव भन्छन्, ‘मान्छेपिच्छे फरकफरक रोजाइ हुन्छन् । तर हामी चाहिँ अब यहीँ केही गर्न सकिन्छ भन्ने सोचाइ बनाएर व्यवसाय सुरु गरेका छौँ ।’

सुरुआती अवस्था भएकाले आम्दानीभन्दा पनि व्यवसायलाई कसरी राम्रो बनाउने भनेर दुवै जनाले उत्तिकै मेहनत गरेको उनी बताउँछन् । 

कुनै पनि पेसा वा व्यवसाय सुरु गर्दा राम्रो बुझेर थालनी गर्दा लाभ लिन सकिने भक्तबहादुरको बुझाइ छ ।

सोलुखुम्बू जिल्लामा कालिज पालन खासै नभएका कारण कालिज पालनलाई प्राथमिकतामा राखेर फार्मको सुरुवात गरेको गुरुङद्वय बताउँछन् ।

गुरुङद्वय भन्छन्, ‘पहिला कुन व्यवसाय गर्ने भनेर अन्योल थियो । पछि कालिज पालनलाई रोज्यौँ ।’ 

सोलुखुम्बूमा अहिलेसम्म (समाचार तयार पार्दासम्म) व्यावसायिक रूपमा दुई वटा मात्र कालिज फार्म सञ्चालित छन् । 

व्यवसाय सुरुआती क्रममा विभिन्न सुझाव आए पनि आफ्नो निर्णय अनुसार व्यवसाय थालेको उनीहरू सुनाउँछन् । 

गुरुङ समुदायको पुर्ख्याैली पेसा भेडापालन हो । सँगै लाहुरे बन्नुपर्छ, नभए विदेश गएर पैसा कमाउनुपर्छ भन्ने पुर्ख्याैली सोच छ ।

तर गुरुङद्वय नेपालमै अन्य पेसा व्यवसाय गरेर स्वरोजगार बन्न सकिने साथै रोजगार पनि दिन सकिने कुरामा विश्वस्त छन् ।

भक्तबहादुर भन्छन्, ‘पुर्ख्याैली पेसा भेडापालन त हो । तर चरन क्षेत्र नभएकाले अब सम्भव छैन ।’ 

‘विदेश बसेर मात्र के गर्नु, बरु आफ्नो गाउँठाउँमा कुनै राम्रो व्यवसाय छनौट गरेर मेहनत गर्न सके यहीँ पनि कमाएर रमाउन सकिने वातावरण छ,’ केशव भन्छन्, ‘मान्छेपिच्छे फरकफरक रोजाइ हुन्छन् । तर हामी चाहिँ अब यहीँ केही गर्न सकिन्छ भन्ने सोचाइ बनाएर व्यवसाय सुरु गरेका छौँ ।’

विदेशमा काम गरेको अनुभव र सिकाइलाई स्वदेश फर्केर कुनै व्यवसाय सुरु गरी सीपलाई लागू गर्न सकिने बताउँदै अन्य युवाको उदाहरण बन्ने कोसिस गरिरहेको उनीहरू बताउँछन् ।

कालिज साढे पाँचदेखि ६ महिनामा खानका लागि तयार हुने केशव बताउँछन् । पाहुनालाई मेजमान दिन होस् अथवा घरपरिवार सँगै बसेर खानलाई, प्रायः मासु नै पहिलो नम्बरमा पर्छ । जसकारणले गर्दा पनि कालिज पालन फस्टाउने गुरुङद्वयको विश्वास छ । 

केशव भन्छन्, ‘व्यवसायलाई विस्तार गर्दै अर्ग्यानिक तरकारी उत्पादनका साथै रिसोर्ट सञ्चालन गर्ने तयारी छ । सुरुआती चरणमा छौँ । हेरौँ, बजारको अवस्थामा पनि भर पर्छ ।’

यस्तै भक्त भन्छन्, ‘व्यक्तिले मात्र सम्भव हुँदैन । गाउँपालिकाबाट पनि व्यावसायिक कार्यक्रमको प्याकेज हुनुपर्छ । कुनै पनि व्यवसाय गरिरहेका व्यवसायीहरूको समस्या बुझेर सो अनुसारको राहतको पनि व्यवस्था गर्न सक्नुपर्छ ।’

विदेशमा काम गरेको अनुभव र सिकाइलाई स्वदेश फर्केर कुनै व्यवसाय सुरु गरी सीपलाई लागू गर्न सकिने बताउँदै अन्य युवाको उदाहरण बन्ने कोसिस गरिरहेको उनीहरू बताउँछन् ।

विदेशमा गरिने मेहनत र इमानले आफ्नै ठाउँमा कमाएर रमाउन सकिनेमा गुरुङद्वय विश्वस्त छन् । 

लामो समय विदेश बसेर नेपाल फर्केर के गर्ने होला भनेर कतिपय युवा सोच्न बाध्य हुन्छन् । केही व्यवसाय सुरु गरे पनि निरन्तरता दिन सकिने हो कि होइन भन्नेमा पनि युवा दोधारमा देखिन्छन् । 

जसका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरूलाई स्वदेशमै केही काम गर्ने र स्वावलम्बन बनाउन सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत अन्य कृषि उपज कार्यक्रमलाई लागू गर्दै युवाहरूलाई विशेष प्राथमिकताका साथ सहभागी गराउन जरुरी छ । जसले गर्दा युवाहरू पुनः विदेश फर्किनु नपरोस् । 

jackson ribon

प्रतिक्रिया दिनुहोस्: