birat ribon

सडक बीचको खाल्डो मर्मत नहुँदा दैनिक फस्छन् गाडी

Neuro
सडक बीचको खाल्डो मर्मत नहुँदा दैनिक फस्छन् गाडी
  • मोहन ढकाल / विराटनगर

विराटनगर–३ मानगढ चोकमा सडक मर्मत नहुँदा सवारी आवतजावतमा समस्या भएको छ । राजवंशी चोकबाट पुष्पलाल चोक जाने मुख्य सडकमा रहेको खाल्डो मर्मत नहुँदा दैनिक सवारीसाधन फस्ने गरेका छन् ।

लामो समयदेखि सडकमा रहेको खाल्डो मर्मत नहुँदा पानी परेसँगै सवारी आवागमनमा थप समस्या भएको छ । सवारीचालक कृष्ण तामाङले भने, ‘सडकको पूरै भाग खाल्डो छ, गाडी छेउबाट लग्दा बिजुलीको तारमा छुन्छ भन्ने त्रास छ, खाल्डोबाटै लानुपर्ने बाध्यता छ, खाल्डोबाट लग्दा फसेर निकाल्न हम्मेहम्मे पर्छ ।’

cura insider

सडक मर्मत नहुँदा स्थानीय पनि समस्यामा परेका छन् । तीन वर्षदेखि भत्किएर खाल्डो परेको सडक अहिलेसम्म मर्मत नभएको स्थानीय मनिप ओझाले बताए । उनले भने, ‘स्थानीय जनप्रतिनिधि पनि यो बाटो नियमित हिँड्छन्, तर मर्मतमा चासो देखाएका छैनन् ।’ कम्मर–कम्मर आउने खाल्डो छ, उनले भने, ‘नियमित सानाठूला सवारी आवतजावत गरिरहेका हुन्छन्, गाडी नफसेको दिन छैन ।’

पहिलादेखि नै खाल्डो भए पनि पानी परेसँगै थप समस्या भएको उनले बताए । समयमा मर्मत नभए सडककै कारण ठूलो दुर्घटना हुनसक्ने उनले बताए । उनले महानगरपालिका, वडा कार्यालयमा बारम्बार जानकारी गराउँदासमेत मर्मतमा चासो नदेखाएको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

पुरानो पिच भत्किएर बनेको खाल्डो मर्मतमा ध्यान नदिँदा ठूलो बन्दै गएको उनले बताए । उनले भने, ‘यस विषयमा हामी छलफल गरेर सम्बन्धित निकायलाई थप ध्यानाकर्षण गराउने पक्षमा छौँ ।’

यता वडाअध्यक्ष विनोदकुमार बस्नेतले भने एकदुई दिनभित्रमा खाल्डो पुर्ने काम हुने बताए । उनले भने, ‘मैले महानगरलाई जानकारी गराएको छु, गिट्टी झार्दिने कुरा भएको छ ।’ ओभरलोड गाडी चल्ने भएकाले यस्तो समस्या भएको हो, उनले भने, ‘सानो खाल्डो भयो भने कसैले हेर्दैन, अनि खाल्डो ठूलो भएपछि समस्या भएको हो ।’

‘सानो खाल्डो हुँदै मर्मत गरे त हुने हो नि ! कसैले गर्दैनन्,’ उनले भने, ‘महानगरलाई भनेको छु, तत्काललाई गिट्टी हालेर काम चल्ले बनाइदिनुपर्छ भनेर, तत्काल बन्छ ।’

jackson ribon