birat ribon

कोभिड सङ्क्रमित र पोस्ट कोभिडलाई व्यवस्थापन गर्ने तरिका

Neuro
कोभिड सङ्क्रमित र पोस्ट कोभिडलाई व्यवस्थापन गर्ने तरिका

विराटनगर / कोरोना भाइरसबाट सङ्क्रमित अधिकांशमा कुनै लक्षण नहुने तथा हल्का वा मध्यम लक्षण हुने हुन्छ ।

८० प्रतिशतभन्दा बढी बिरामी डाक्टरको परामर्शमा होम आइसोलेसनमा बसेर पूर्ण रूपमा निको भइरहेका छन् । तर, केही व्यक्तिलाई लक्षण गम्भीर हुने तथा जटिलताको विकास हुनसक्छ । कोरोना भाइरसको सङ्क्रमणका कारण देखिने लक्षण हरेक व्यक्तिपिच्छे फरक–फरक हुने, सङ्क्रमण कुनै पनि समय गम्भीर हुनसक्ने हुँदा हरेकले सतर्कता अपनाउन जरुरी हुन्छ ।

cura insider

नेपाल चिकित्सक सङ्घ (एनएमए) कोसी शाखाको आयोजनामा कोभिड म्यानेजमेन्ट इन इस्टर्न नेपालसम्बन्धी वेबिनारको पहिलो साताको कार्यक्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका सहप्राध्यापक तथा फिजिसियन डा. अग्रज उप्रेतीले कोभिड व्यवस्थापन गर्ने प्रोटोकलका बारेमा जानकारी दिएका थिए ।

डा. अग्रज उप्रेती

उनले सङ्क्रमितमा देखिने हल्कादेखि गम्भीर सङ्क्रमणका लक्षण, यसको उपचार, कुन अवस्थामा सतर्क रहनु आवश्यक हुने र सङ्क्रमणबाट निको भइसके पनि बिरामीमा देखिने पोस्ट कोभिडको विषयमा जानकारी दिएका हुन् । उनका अनुसार सङ्क्रमणको गरम्भीरता बढ्दा शरीरमा हुने इन्फ्लामेटरी प्रतिक्रिया पनि बढ्ने हुन्छ ।

हल्का सङ्क्रमण हुँदा देखिने लक्षण र यसको व्यवस्थापन गर्ने तरिका

कोभिड निम्त्याउने सार्स कोभ २ भाइरसले श्वासप्रश्वास प्रणालीलाई असर गर्ने हुन्छ । जसकारण सङ्क्रमितमा सुक्खा खोकी, ज्वरो आउने, घाँटी खसखस हुने, शरीर दुख्ने, टाउको दुख्नेलगायत लक्षण देखिने हुन्छ । हल्का सङ्क्रमण भएका व्यक्तिमा सास फेर्न गाह्रो हुने समस्या नहुने, श्वासप्रश्वासका अन्य समस्या नहुनुका साथै शरीरमा अक्सिजनको स्तर पनि घट्ने हुँदैन ।

यस्तोमा होम आइसोलेसनमा बसेर, हाइजिन मेन्टेन गरेर, शारीरिक गतिविधि तथा व्यायाम गरी, तनाव कम लिएर मनोवल उच्च बनाई खानपानमा ध्यान दिनुका साथै, प्रशस्त मात्रामा तरल पदार्थको सेवन गरी शरीरलाई हाइड्रेट गर्नुपर्ने हुन्छ । यसका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि मल्टिभिटामिन, जिङ्कलगायत सप्लिमेन्टको पनि प्रयोग गर्न सकिन्छ ।

सङ्क्रमण सुरु भएदेखि वा सङ्क्रमणको समयमा बिरामीलाई उच्च ज्वरो आएमा, लगातार खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा, अत्यधिक थकान हुन थालेमा, शरीरमा अक्सिजनको स्तर ९४ भन्दा कम हुँदा वा घट्दै गएमा सतर्क रहन जरुरी हुन्छ ।

यसबाहेक सङ्क्रमितमा देखिएको लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ । डाक्टरको परामर्शमा ज्वरो आएमा प्यारासिटामोल र खोकी लागेमा औषधिको सेवन गर्नुपर्ने हुन्छ । हल्का सङ्क्रमण हुँदा एन्टिबायोटिक तथा स्टेरोइडको प्रयोग गर्नु पर्दैन । स्टेरोइडको प्रयोगले कोभिड–१९ का बिरामीमा भाइरल लोडलाई दबाएर रोगप्रतिरोधी क्षमता कमजोर गराउने तथा रगतमा चिनीको मात्रा बढाउने गर्छ ।

डाक्टरको परामर्श नलिई तथा लामो समयको स्टेरोइडको प्रयोगले रोगप्रतिरोधी क्षमता कमजोर भएका तथा मधुमेह भएकामा जटिलता थप्ने, नयाँ मधुमेहका रोगी बढ्ने तथा म्युकरमाइकोसिस लगायतका फङ्गस सङ्क्रमण बढिरहेको छ । साथै, एन्टिबायोटिकको प्रयोगले शरीरमा हुने राम्रो व्याक्टेरियाको बढावामा बाधा पु¥याई अन्य फङ्गल सङ्क्रमणको जोखिम बढाउँछ ।

कतिबेला सतर्क हुने ?

सङ्क्रमण सुरु भएदेखि वा सङ्क्रमणको समयमा बिरामीलाई उच्च ज्वरो आएमा, लगातार खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा, अत्यधिक थकान हुन थालेमा, शरीरमा अक्सिजनको स्तर ९४ भन्दा कम हुँदा वा घट्दै गएमा सतर्क रहन जरुरी हुन्छ । यो सङ्क्रमण गम्भीर भइरहेको सङ्केत हुनसक्छ । यस्तो अवस्थामा पल्स अक्सिमिटरको सहयताले दिनको चारदेखि पाँच पटक शरीरमा अक्सिजनको स्तर नाप्नुपर्ने हुन्छ ।

योसँगै श्वासप्रश्वासको गति, मुटुको चाल, हाइपोक्सिया भए–नभएको थाहा पाउन ६ मिनेट वाक टेस्ट लगायतका विषयलाई मनिटर गर्नुपर्ने हुन्छ । रोगप्रतिरोधात्मक क्षमता कम भएका तथा पहिलादेखि स्वास्थ्यमा समस्या भएका, दीर्घकालीन रोग लागेका बिरामीमा सङ्क्रमण गम्भीर हुने जोखिम बढी हुने हुँदा यस्ता बिरामीलाई थप ध्यान दिन जरुरी हुन्छ ।

सङ्क्रमण सुरु भएको केही दिनमा कुनै लक्षण नदेखिए वा सामान्य लक्षण देखिरहँदा पनि सङ्क्रमण गम्भीर हुनसक्छ । सङ्क्रमणको पहिलो लहरको तुलनामा दोस्रो अर्थात् अहिलेको समयमा देखिएको सङ्क्रमण फरक छ । कुनै लक्षण नदेखिए वा सामान्य लक्षण देखिँदा पनि रोगले यु टर्न लिएर पाँचदेखि सात दिनपछि एक्कासी सङ्क्रमण गम्भीर हुनसक्छ ।

भाइरसको सङ्क्रमण शरीरमा फैलिँदा इन्फ्लामेसन बढेका कारण यस्तो हुने गर्छ । उच्च ज्वरो, लगातार खोकी, सास फेर्न गाह्रो हुने, रगत जाँच तथा एक्सरे वा सिटी स्याक्न गर्दा समस्या देखिएमा, शरीरमा अक्सिजको स्तर घट्दा वा शरीरमा अक्सिजनको मात्रा ठिक भए पनि अस्पताल भर्ना गरेर उपचार सुरु गर्नुपर्ने हुनसक्छ । यो बिरामीको अवस्थामा निर्भर हुन्छ ।

यस अवस्थाका बिरामीलाई अक्सिजन सपोर्टमा राख्नुपर्ने, हाइ फ्लो अक्सिजन दिनुपर्ने, प्रोनिङ पोजिसनमा राख्ने, एन्टी इन्फ्लामेटरी औषधि दिने, एन्टिकोगुलेसन औषधि (गम्भीर सङ्क्रमणका कारण रगत जम्नसक्ने हुँदा) दिनुपर्ने हुन्छ वा बिरामी भेन्टिलेटरका जाने अवस्था पनि आउने हुनसक्छ । कोभिडका बिरामीमा अन्य सङ्क्रमणका कारण समस्या गम्भीर भइरहेको पनि हुनसक्ने हुँदा यसको पनि पहिचान गर्न जरुरी हुन्छ ।

सङ्क्रमणको समयमा ३ प्रतिशत अर्थात् एक सयमध्ये तीन जनामा र सङ्क्रमण निको भएपछि एक सयमध्ये १४ जना वा १४ प्रतिशतमा ब्याक्टेरियल वा अन्य सङ्क्रमण देखिने हुन्छ । सङ्क्रमणको समयमा ७२ प्रतिशत सङ्क्रमितलाई (नचाहिने अवस्थामा समेत) एन्टिबायोटिक दिइएको पाइन्छ जसकारण पोस्ट कोभिडमा अधिकांशलाई एन्टिबायोटिक रेसिस्टेन्स हुने सम्भावना धेरै देखिएको छ ।

एक पटक पिसिआर परीक्षण गराउँदा पोजिटिभ आएर आइसोलेसनमा बसेपछि पुनः पिसिआर गराउन जरुरी हुँदैन । केही मानिसमा वा केही अवस्थामा रिपिट पिसिआर गर्न भने आवश्यक हुनसक्छ ।

आइसोलेसनबाट कहिले निस्कने ?

कुनै पनि लक्षण नदेखिएका बिरामीहरूले पिसिआर गरेर रिपोर्ट पोजिटिभ आएको दस दिनपछि आइसोलेनबाट निस्कन सक्छन् । दस दिनपछि अरूलाई सङ्क्रमण सर्ने सम्भावना हुँदैन । आफूलाई समस्या भए थप केही दिन एक्लै बस्न सकिन्छ । त्यस्तै, लक्षण निको भएकाहरू पनि १० दिनमा र औषधिको प्रयोग नगरी ज्वरो निको भएका तथा अन्य लक्षण नदेखिएमा २४ घण्टापछि आइसोलेसनबाट निस्कन सक्छन् ।

एक पटक पिसिआर परीक्षण गराउँदा पोजिटिभ आएर आइसोलेसनमा बसेपछि पुनः पिसिआर गराउन जरुरी हुँदैन । केही मानिसमा वा केही अवस्थामा रिपिट पिसिआर गर्न भने आवश्यक हुनसक्छ ।

कोभिड निको भएपछि देखिने समस्या अर्थात् पोस्ट कोभिड लक्षण

कोरोना भाइरसबाट सङ्क्रमित भई निको भएका १० देखि २० प्रतिशतमा स्वास्थ्य समस्या देखिरहने सम्भावना रहन्छ । यसलाई पोस्ट कोभिड वा लङ कोभिड डिजिज भनिने गरिन्छ । यो समस्या १२ हप्तादेखि ६ महिना वा सोभन्दा बढीसम्म रहन सक्छ । कोरोना भाइरसबाट सङ्क्रमित भई सङ्क्रमणमुक्त भइसकेका वा निको भएका मानिसमा समेत खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकान, पहिला जस्तो काम गर्न गाह्रो हुने हुनसक्छ ।

यसबाहेक पोस्ट कोभिड भएका बिरामीमा एन्जाइटी, डिप्रेसन, निद्रामा समस्या, पिटिएसडी (पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर), मुटुको चाल बढ्ने, डिप्सनिया हुने, माशंपेसी कमजोर हुने, जोर्नीको दुखाइ हुने, टाउको दुख्ने, छाती दुख्ने, कपाल झर्ने, दीर्घकालीन मिर्गौलामा रोग लाग्नेजस्ता समस्या देखिन सक्छ ।

यस्तोमा सङ्क्रमणबाट निको भइसकेकाले पनि फलोअपका लागि अस्पताल जान वा डाक्टरसँग परामर्श लिन जरुरी हुन्छ । पोस्ट कोभिड भएका बिरामीले प्रयाप्त निद्रा प्राप्त गर्नुपर्ने, सन्तुलित तथा पोषणयुक्त आहारमा ध्यान दिनुपर्ने, शरीरिक गतिविधि, व्यायाम गर्नुपर्ने तथा तनाव कम गर्ने कुरामा ध्यान दिन जरुरी हुन्छ ।

पोस्ट कोभिडपछि देखिने एन्जाइटी, डिप्रेसनलगायतका मानसिक समस्याका लागि मनोचिकित्सकसँग परामर्श लिनु उचित हुन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: