birat ribon

‘अक्सिजनको अभाव छैन, आवश्यकताअनुसार खपत भइरहेको छ’

Neuro
‘अक्सिजनको अभाव छैन, आवश्यकताअनुसार खपत भइरहेको छ’
  • मोहन ढकाल / विराटनगर

विराटनगरको कोसी अस्पताल र कोसी कोभिड अस्पतालमा अक्सिजन आपूर्ति सहज बन्दै गएको छ । अक्सिजनको आपूर्ति सहज भएसँगै अहिले अक्सिजनको अभाव नभएको कोसी अस्पताल र कोसी कोभिड अस्पतालले जनाएको छ ।

दैनिक पाँच सयको हाराहारीमा अक्सिजन खपत हुँदै आएको कोसी कोभिड अस्पतालमा अहिले प्रयाप्त मात्रामा अक्सिजन आपूर्ति भइरहेको कोसी कोभिड अस्पतालका संयोजक वैजनाथ साहले बताए । हिमाल, मारुती रविनायक अक्सिजन उद्योगबाट अहिले सहज रूपमा अक्सिजन आपूर्ति भइरहेको साहले बताए । उनले भने, ‘दैनिक यति नै अक्सिजन खपत हुन्छ भन्ने छैन, बिरामीको सङ्ख्या र अवस्था हेरेर हुन्छ, तर, दैनिक एभरेजमा हेर्ने हो भने पाँच सयको हाराहारीमा अक्सिजन खपत हुँदै आएको छ । अहिले आवश्यक परेको अक्सिजन सहज रूपमा खपत भइरहेको छ ।’

cura insider

अहिले भर्ना हुने सङ्क्रमितको सङ्ख्या केही दिनको तुलनामा घटिरहेको बताउँदै उनले भने, ‘पहिलाजस्तो बिरामीको चाप छैन, अहिले बेड अभाव भएको छैन ।’

कोरोनाको दोस्रो लहर सुरु भएदेखि आइतबारसम्म कोसी कोभिड अस्पतालमा भर्ना भएका तीन सय ६३ सङ्क्रमितमध्ये दुई सय एक जना डिस्चार्ज भएका उनले बताए । यस्तै सोमबारसम्म ८४ जनाको मृत्यु भएको उनले बताए ।

यस्तै कोसी अस्पतालमा पनि अहिले अक्सिजनको अभाव नरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । मारुती, विनायक र भाजुरत्न अक्सिजन उद्योगबाट नियमित अक्सिजन आपूर्ति भइरहेकाले अहिले अक्सिजनको अभाव नरहेको उनले बताए ।

केही दिनअगाडि समस्या भएको भए पनि अहिले समस्या नरहेको भन्दै उनले भने, ‘अहिले तीनवटा उद्योगबाट नियमित र प्रयाप्त अक्सिजन आपूर्ति भइरहेको छ ।’ कोसी अस्पतालमा दैनिक दुई सय ५० देखि तीन सय सिलिन्डर अक्सिजन खपत हुँदै आएको दासले बताए ।

केही दिनको तुलनामा अहिले भर्ना हुने सङ्क्रमितको सङ्ख्या पनि केही कम भइरहेको बताउँदै उनले थपे, ‘भर्ना हुने सङ्क्रमित केही कम भए पनि भेन्टिलेटर भने प्याक नै छ, निजी स्वास्थ्य संस्थामा भर्ना भएका सङ्क्रमित आउने क्रम जारी छ, मृत्यु हुनेको सङ्ख्यामा समेत केही कमी आएको छ, अहिले अक्सिजन भने कमी छैन, आवश्यक अक्सिजन आपूर्ति सहज रूपमा नै भइरहेको छ ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: