birat ribon

सबै कोरोना सङ्क्रमितलाई चाहिँदैन आइसियू

Neuro
सबै कोरोना सङ्क्रमितलाई चाहिँदैन आइसियू

विराटनगर / कोरोना महामारीको दोस्रो लहरमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या बढेको छ । सङ्क्रमितको सङ्ख्या बढेका कारण गम्भीर प्रकृतिका सङ्क्रमितका लागि आइसियूमा बेड पाउन मुस्किल पर्छ ।

विराट मेडिकल कलेज तथा अस्पतालका सहयोगी प्राध्यापक तथा एनेस्थेसिओलोजी र क्रिटिकल केयरका विभाग प्रमुख डा. ललित राजवंशीले गम्भीर कोभिडका बिरामीलाई आइसियूमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका थिए ।

cura insider

उनले नेपालमा सङ्क्रमित भएकामध्ये जम्मा १.२ प्रतिशतको मृत्यु हुने गरेको बताए । आइसियूमा भर्ना गर्नुपरेका बिरामीको दर पनि समावेश गरिएको छ । आइसियूमा भर्ना भए पनि सङ्क्रमणबाट मृत्यु हुने दर निकै कम छ ।

डा. ललित राजवंशी

उनका अनुसार सङ्क्रमितमा कुनै लक्षण नहुने वा ज्वरो, सुक्खा खोकी, घाँटी खसखस हुनेलगायत सामान्य सङ्क्रमणका लक्षण हुँदा वा सास फेर्न गाह्रो हुने, श्वासप्रश्वासका लक्षण देखिन थाले पनि शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी भएमा डाक्टरको परामर्श लिएर होम आइसोलेसनमै वा अस्पतालमा भर्ना भए पनि सामान्य वार्डमा राखेर बिरामीको उपचार गर्न सकिन्छ ।

तर, सङ्क्रमण गम्भीर हुँदै लक्षणहरू बिग्रिए, शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा वा घट्दै गएमा, ह्याप्पी हाइपोक्सिया भएका, रेडियोलोजिकल इमेङ्गमा सङ्क्रमण ५० प्रतिशतभन्दा बढी देखिएमा, रेस्पिरेटरी फेलियर, सेप्टिक सक, मल्टिपल अग्र्यान डिसफङ्गसन भएका गम्भीर अवस्थाका बिरामीलाई आइसियूमा भर्ना गर्नुपर्ने उनको भनाइ छ ।

‘अस्पतालमा स्रोत साधनको अभावका कारण सबै बिरामीलाई आइसियूमा भर्ना गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘स्रोत साधनको अभावका कारण बिरामीको अवस्था हेरेर अति आवश्यक पर्ने बिरामीलाई आइसियुमा भर्ना गरिन्छ ।’ गम्भीर लक्षण देखिएका बिरामीलाई सोहीअनुसार उपचार गरिन्छ भने अग्र्यान सपोर्ट, हाइफ्लो अक्सिजन चाहिने, भेन्टिलेसन चाहिने बिरामीलाई आइसियूमा भर्ना गरेर उपचार गरिन्छ ।

आइसियूमा भएका बिरामीलाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । उनका अनुसार सामान्य एआरडिएस (एक्युट रेसपिरेटरी डिस्ट्रेस सिन्ड्रम) र कोभिड एआरडिएसलाई छुट्याउन सकेमा, फोक्सोमा सङ्क्रमण कोभिडका कारणले निम्तिएको साइटोकाइन स्ट्रमबाट भएको वा अन्य कारण भएको पत्ता लागेमा र शरीरमा अक्सिजनको स्तर नाप्न पल्स अक्सिमिटर मात्र नभई अन्य विधि अपनाएमा बिरामीलाई आइसियूमा उपचार गर्न सहज हुने हुन्छ ।

कुनै अवस्थामा शरीरमा अक्सिजनको मात्रा कम वा घटिरहेको भए पनि पल्स अक्सिमिटरमा अक्सिजन स्याचुरेसन (एसपिओ २) ठिक देखाउन सक्छ । उनले भने, ‘यस्तोमा पल्स अक्सिमिटरबाट मात्र अक्सिजनको स्तर नाप्दा गम्भीर केसमा पनि मिसलिड हुनसक्ने सम्भावना हुन्छ । जसकारण गम्भीर बिरामीमा अक्सिनको स्तर नाप्न अन्य विधि पनि प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यसपछि बिरामीलाई लो वा हाई फ्लो अक्सिजनको सपोर्टमा राख्दा हुने वा कुन भेन्टिलेटरमा राख्नु पर्छ भनेर छुट्याउनुपर्ने हुन्छ ।

फोक्सोमा सङ्क्रमण धेरै फैलिनुअघि बिरामीको उपचार गर्न सके निको हुने सम्भावना धेरै हुन्छ । तर, रेस्पिरेटरी फेल्यर, साइटोकाइन स्ट्रम, हाइपरकोगुएबिलिटी (रगत जम्ने समस्या), श्वासप्रश्वासमा समस्या, अक्सिजनको स्तर कम हुनुबाहेक बिरामीमा पहिलादेखि भएका स्वास्थ्य समस्या र जोखिम कारकले पनि सङ्क्रमणलाई गम्भीर बनाउन सक्ने उनले बताए । सङ्क्रमण गम्भीर हुनसक्ने बिरामीको पहिचान गर्नु निकै महत्वपूर्ण हुने उनको भनाइ छ ।

उपचारमा ढिलो भएमा फोक्सोमा क्षति बढ्नुका साथै सङ्क्रमण घातकसमेत हुनसक्छ । यसबाहेक बिरामीलाई एन्टिभाइरल, एन्टिबायोटिक्स, इम्युनोमोडुलेटर, स्टेरोइड, हेपारिनलगायत औषधि उपचार गरिन्छ । आइसियूमा भर्ना गरिएका बिरामीको उपचारमा चुनौती पनि धेरै आउन सक्छ । फोक्सोमा धेरै क्षति भइसकेका बिरामीले भेन्टिलेसन स्ट्राटेजीमा कुनै प्रतिक्रिया देखाउँदैनन् ।

कुनै अवस्थामा शरीरमा अक्सिजनको स्तर मेन्टेन गर्न सके पनि कार्बोनडाइअक्साइडको मात्रा नियन्त्रण गर्न गाह्रो हुने गर्छ । उनका अनुसार हालसम्म बिरामीहरूका लागि राम्रो परिणाम प्राप्त गर्न मद्दत गर्ने कुनै प्रोटोकल उपलब्ध छैनन् । जसकारण सङ्क्रमण गम्भीर हुनसक्ने बिरामीको पहिचान गरी बिरामीमा देखिएको लक्षणअनुसार उपचार गर्दै उनीहरूलाई सहज बनाउँदै लानुपर्छ ।

(नेपाल चिकित्सक सङ्घ कोसी शाखाले आयोजना गरेको कोभिड म्यानेजमेन्ट इन इस्टर्न नेपालसम्बन्धी वेबिनारको प्रस्तुतीकरणमा आधारित)

jackson ribon