birat ribon

चुरे–भावर मास्दै, बजेट र कमिसनमा हाँस्दै

Neuro
चुरे–भावर मास्दै, बजेट र कमिसनमा हाँस्दै

कन्टिर–बाबू बजेट घोषणा भएको दिनदेखि बडो छक्क परिरहेका छन् । अरे लोकप्रिय बन्ने नाममा, कार्यकर्ता पाल्ने नाममा, सत्तामा बसेर चुनाव जित्ने नाममा जे पनि गर्ने ? मिल्छ यसो गर्न ?

चुरे–भावर क्षेत्रको सुरक्षा र संरक्षण गरिनुपर्छ भन्ने विगत वर्षहरूदेखि कुरा उठ््दै आएको हो तर यस दिशामा पछिल्ला कुनै पनि सरकारले कुनै ठोस कार्य गर्न नसकेको विडम्बनापूर्ण परिस्थिति कन्टिर–बाबूले देखी–भोगी आएका छन् ।

cura insider

कन्टिर–बाबू भन्छन्– यस दिशामा वर्तमान सरकार पनि अपवाद हुने कुरा भएन । अरे यार, बिक्री गर्ने नाममा जे पनि बेच्ने ? ढुङ्गा, गिटी, बालुवा, माटो केही पनि नछोड्ने ?

यो सरकारले पनि त्यहि गरेको छ । सरकारले बजेटमा गरेको व्यवस्थाका कारण तराई–मधेसको जीवनरेखा मानिने चुरे एकपटक फेरि औपचारिक रूपमा सङ्कटापन्न अवस्थामा पुगेको छ । बजेट वक्तव्यमा भारतसँगको व्यापार घाटा कम गर्न चुरेका सामग्री निर्यात गर्न सकिने व्यवस्था गरिएको जो छ ।

कस्तो बिडम्बना ! उता शिवालिक उत्खननमा नियन्त्रण गरिएको छ । यता राज्यले व्यापारका लागि चुरेको निर्वाध उत्खननलाई प्राथमिकतामा राखेको छ । पहिले तराई–मधेसमा ४०–५० फिट जमिनमुनि पाइने पानी चुरे विनाशका कारण अहिले चार–पाँच सय फिटमा पनि पाइन्न । यस्तो अनपेक्षित परिस्थितिबीच कन्टिर–बाबूलाई लाग्छ– सरकारी पारा यही रहने हो भने तराई–मधेस आगामी दुई–तीन दशकमा मरूभूमि बन्ने निश्चित छ ।

नेता भनाउँदाले चुरे–भावर जोगाउन आजसम्म कुनै आन्दोलन गरेका छैनन् । यस्तोमा प्रश्न उठ्नु स्वाभाविक हो- साँच्चै चुरेको पक्षमा किन आन्दोलन नभएको होला ?

वाह सरकारी नीति घर डढाएर खरानी व्यापार गर्ने ! आफूलाई लुटाएर भए पनि अरूलाई खुसी बनाउने !

कन्टिर–बाबू प्रश्न गर्छन्– चुरे विनाशले दीर्घकालमा पार्ने प्रभावबारे सरकारलाई थाहा छैन ? चुरे संरक्षणका नाममा राष्ट्रपतिको नाम जोडेर एक उच्चस्तरीय समिति नै कार्यरत छ भन्ने सुनिन्छ, त्यसले चाहिँ के गर्छ नि ? खाली तलब–भत्ता, पारिश्रमिक हसुर्छ ? त्यो समितिले सरकारलाई चुरे संरक्षणका बारेमा नीति ल्याउन दबाब दिनु पर्दैन ?

कन्टिर–बाबूको असहमति त तराई र मधेसका नाममा राजनीति गर्ने दल र तिनका नेतासँग पनि छ । तिनीहरू यस दिशामा गम्भीर बन्नुपर्दैन ? तर के बन्थे तिनीहरू ? चुरे पर्वत र चुरेनिःसृत खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा, भरोट, खनिज, काठ–दाउरा निकाल्ने र विदेशमा त्यसको व्यापार गर्नेसँग कमिसन खानु परेन ? मनमाफिक कमिसन दिने ठेकेदार–व्यापारीलाई यिनै नेताको संरक्षण प्राप्त भएको कुरा कसको आँखाबाट लुकेको छ ? यिनीहरूलाई आफ्नो समाजको माया भए पो ? खाली सत्ता, भत्ता र कमिसन भए पुग्यो ।

कन्टिर–बाबूले यी नेता भनाउँदाले अनेक नाममा आन्दोलन गरेको देखेका छन् तर तराईर मधेस जोगाउन, चुरे–भावर जोगाउन आजसम्म कुनै आन्दोलन गरेको थाहा पाएका छैनन् । यस्तोमा कन्टिर–बाबूलगायत सबैमा प्रश्न उठ्नु त स्वाभाविक हो नि– साँच्चै चुरेको पक्षमा किन आन्दोलन नभएको होला ?

jackson ribon

प्रतिक्रिया दिनुहोस्: