birat ribon

हिउँका साथी पेम्बा : ज्यान दाउमा राखेर आरोहीलाई पुर्‍याउँछन् शिखरमा

Neuro
हिउँका साथी पेम्बा : ज्यान दाउमा राखेर आरोहीलाई पुर्‍याउँछन् शिखरमा
  • गार्डेन राई/काठमाडौँ

सोलुखुम्बूका पेम्बा तामाङले हिमाल र हिउँसँग गहिरो अनि प्यारो सम्बन्ध बनाएका छन् । सन २००१ बाट भरिया हुँदै हिउँसँग बनाएको सम्बन्ध आज माउन्टेन क्लाइम्बिङ गाइडसम्म आइपुग्दा पनि उस्तै प्रगाढ छ । 

सगरमाथा चढेर नाम कमाउँछु भन्ने उद्देश्य लिएर आएका देशी तथा विदेशी आरोहण दललाई हिमाल चढ्नका लागि गाइड गर्छन् उनी । दुई दशकभन्दा बढी पर्यटन क्षेत्रमा काम गरिसकेका पेम्बालाई हिमालको चुचुरो पुगेर फर्किनु पानी पँधेरो जस्तै हो । 

cura insider

हिमाल आरोहणका लागि चाहिने आवश्यक सामग्री डोरी, अक्सिजन बोतल, कपडा, खानेकुरा लगायत अन्य आवश्यक सामग्री प्याक गरिएका १५ देखि ३० किलोसम्मको गह्रौँ झोला भिरेर हिमालको यात्रा सुरु हुन्छ ।

अवस्था हेरेर सगरमाथा आरोहणका लागि ४० देखि ४५ दिन लाग्ने उनको भनाइ छ । बेसक्याम्प, क्याम्प–१, क्याम–२ हुँदै विभिन्न हिमालको चुुचुरामा पुग्न हिमाल आरोहीहरूलाई सहायता गर्छन् उनी । 

‘हिमाल चढाउने क्रममा कति आरोहीहरू बिरामी हुन्छन् । कहिलेकाँही स्वास्थ्य अनि मौसमले साथ नदिँदा आधा बाटोबाटै फर्किनुपर्ने बाध्यता हुन्छ’, उनी सुनाउँछन् ।

उनी भन्छन्, ‘यस्तो समयमा निकै जिम्मेवारी हुन्छ गाइडको । आफ्नो टिममा भएका सबैले सफल आरोहण गरून् भन्ने मनसाय हुन्छ ।’ 

नेपाल, स्विट्जरल्यान्ड, फ्रान्स, जर्मन, अस्ट्रिया, चीनलगायत दर्जनौँ देशका आरोहीहरूलाई हिमाल आरोहणमा सहायता दिएको उनको भनाइ छ । 

उनी भन्छन्, ‘विदेशी नागरिकहरू पर्यटन क्षेत्रमा अलि बढी शौखिन हुन्छन् । उनीहरू साहसिक कार्यमा अगाडि नै देखिन्छन् । हिमाल आरोहणका लागि पनि आवश्यक ज्ञान लिएरै आएको पाएको छु मैले ।’

उनले १० जनासम्मको आरोही टिमलाई लिएर विभिन्न हिमाल चढेका छन् । उत्तरी मोहडा (चीन) बाट तीन पटक र दक्षिण मोहडा (नेपाल) बाट तीन पटक गरी ६ पटक सगरमाथा आरोहण गराएका छन् । यस्तै कञ्चनजङ्घा, मनास्लु, हिमलुङ हिमाल, पुथा हिमचुली लगायत दर्जनभन्दा बढी हिमालमा पटकपटक आरोहण गराएका छन् । 

उनी भन्छन्, ‘आफ्नो व्यवसाय नै हिमाल आरोहण गराउने भएकाले कति आरोहीलाई कति पटक आरोहण गराएको भनेर एकिन नै छैन ।’ 

हिमाल आरोहण गर्ने क्रममा हिमपहिरो जाने, मौसम अनुकूल नहुने, आरोहीको स्वास्थ्यले साथ नदिने अनि कहिलेकाहीँ आफैँ पनि बिरामी हुनेलगायत अन्य प्राविधिक समस्या आइपर्छन् । जसका लागि पूर्वतयारीमा रहनुपर्ने उनी बताउँछन् । 

उनी भन्छन्, ‘भाग्यबस आजसम्म मेरो टिमबाट त्यस्तो अप्रिय घटना भने भएको छैन । भगवानसँग यही प्रार्थना गर्छु– अब आउने दिनमा पनि केही नहोस् ।’

आफ्नो टिमबाट सकुशल आरोहण गरेर फर्कँदा साँच्चै खुसी हुन्छन् उनी । चुचुरोमा पुग्दा आरोहीको अनुहारमा आएको खुसी अनि हर्षले आफूलाई पनि खुसी बनाएको र त्यहीँबाट अझ प्रोत्साहन मिलेको बताउँछन् पेम्बा । 

‘आरोहीहरू चुचुरोमा पुगेपछि खुसी मुद्रामा फोटो खिचाउँछन् । झन्डा फहराउँछन् अनि फर्कन्छन्,’ उनी भन्छन्, ‘उनीहरू आफ्नो उद्देश्यअनुसार विभिन्न हिमाल चढेर आफ्नो देशको नाम रोशन गर्छन् । एकअर्कामा खुसी साट्छन् ।’ 

दुई दशकभन्दा बढी यही व्यवसायमा आबद्ध पेम्बा तामाङ आरोहीको खुसीमा नै आफ्नो खुसी देख्छन् । आरोहीहरूको उद्देश्यमा पुर्‍याउनु आफ्नो जिम्मेवारी सम्झन्छन् । आरोहीको पीडालाई आफ्नो पीडा महसुस गरी मल्हमपट्टि लगाइदिन्छन् । 

तर उनको पीडा कसले बुझिदिने ? हजारौँको पीडामा सहायता दिँदादिँदै उनले आफ्नो पीडा बिर्सेका छन् । चुुचुरोमा पुगेर झन्डा फहराएर देशको नाम विश्वमा चिनाउँछन्, उनीहरूको नाम अगाडि आउँछ । तर पेम्बा जस्ता हजारौँ गाइड, जसले आफ्नो ज्यानको बाजी राखेर आरोहीलाई आफ्नो उद्देश्यमा पुर्‍याउँछन्, उनीहरूको नाम पछाडि नै हुन्छ ।

पर्दापछाडिको हिरो माउन्टेन क्लाइम्बिङ गाइड । तर उनीहरू स्वयंलाई बाहेक अन्यलाई कमै मात्र थाहा हुन सक्छ– उनीहरूको व्यथा । 

‘राज्यले हिमाल आरोहीलाई समेत वास्ता गरेको पाइँदैन । अझ गाइडको त के कुरा ? बाँचे आफैँ मरे पनि आफैँ,’ उनी भन्छिन्, ‘व्यक्तिगत इन्स्योरेन्सबाहेक अन्य सेवा सुविधा छ भनेको अहिलेसम्म सुन्न पाएको छैन ।’

उनी भन्छन्, ‘राज्यले केही मापदण्ड राखेर पर्यटन क्षेत्रमा चासो दिने र हामीलाई प्रोत्साहन दिने हो भने नेपालमा अझै कैयौँ नेपाली युवा पर्यटन क्षेत्रमा आउन सक्छन् । यही क्षेत्रमा भविष्य देखेर आएका साथै भावी पुस्तालाई सहज हुने छ ।’

jackson ribon