birat ribon

इसाई समाजद्वारा पाँच लाखभन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

Neuro
इसाई समाजद्वारा पाँच लाखभन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

विराटनगर / इसाई समाज विराटनगरले एफजिटी चर्च नेपालको आर्थिक सहयोगमा कोसी अस्पताल विराटनगरलाई कोभिडसँग लड्नका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको छ ।

अस्पताल परिसरमा हस्तान्तरण कार्यक्रम आयोजना गरी समाजले लेबल २ को कम्प्लिट पिपिई सेट दुई सय थान, एक सय मिलिलिटरको स्यानिटाइजर पाँच सय बोतल, सर्जिकल मास्क १६ हजार दुई सय थान, एक्जामिनेसन ग्लोब्स चार हजार दुई सय थानलगायत कुल पाँच लाख २५ हजार बराबरको स्वास्थ्य सामाग्रीहरू अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

cura insider

कार्यक्रममा सहयोगी चर्चका पास्टर युवराज प्रधानले देशलाई खाँचो परेको बेला कोही चुप लागेर बस्न नसक्ने भन्दैआफ्नो चर्च समूहले चर्चमा सङ्कलन भएको भेटी रकमहरू यतिखेर महामारीको सामना गर्नका लागि खर्च गरेको बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेशप्रसाद भट्टराईले इसाई समुदायद्वारा गरिएको यो ठूलो सहायताले केही समयका लागि पिपिईको खाँचो पूरा भएको बताउँदै अक्सिजन सिलिन्डरको भने अझै अभाव रहेको जानकारी दिए ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि, समाजसेवी एवम् प्रदेश सभाका सदस्य केदार कार्कीले स-साना सामाग्रीहरू हस्तान्तरण गरी फोटो खिच्ने होडबाजी चलिरहेको बेला इसाई समाज विराटनगरले भने अस्पतालसँग समन्वय गरी खाँचो परेको सामान नै उपलब्ध गराएर महत्वपूर्ण कार्य गरेको बताए ।

इसाई समाज विराटनगरका अध्यक्ष सुरज मल्लले सञ्चालन गरेको हस्तान्तरण कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास, इसाई समाज विराटनगरका उपाध्यक्ष रामप्रसाद पौडेल, अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

jackson ribon