birat ribon

ठेकेदारले पैसा नदिँदा बेखर्ची भएका कामदार भोकभोकै

Neuro
ठेकेदारले पैसा नदिँदा बेखर्ची भएका कामदार भोकभोकै

विराटनगर / ठेकेदार कम्पनीले पैसा नदिँदा रोजगारीका लागि मोरङ आएका १५ जना भोकभोकै परेका छन् । घिनाघाट–विराटचोक सडकखण्डमा पर्खाल निर्माणका लागि आएका उदयपुरका १५ जना कामदार भोकभोकै परेका हुन् ।

बानिया निर्माण सेवामार्फत डेढ महिनाअघि विराटनगर आएका उनीहरूको काम एक सातायता रोकिएको छ । काम रोकिएपछि उनीहरूले ठेकेदार कम्पनीसँग पैसा मागिरहेका छन् । तर ठेकेदार कम्पनीले दिएको छैन । ‘ठेकेदार कम्पनीले पैसा दिएन, खाना खान चामल पनि छैन,’ उदयपुरको बेलका–३ का रेवत राईले भने, ‘हामी १५ जना बसेका छौँ, भरे के खाने भन्ने टुङ्गो छैन ।’

cura insider

काम गरेको पैसा नपाएका कारण आफूहरू समस्यामा परेको उनले बताए । ‘हामीले दुई लाख ५० हजार जति पाउनुपर्नेछ,’ उनले भने, ‘आज पैसा दिने भाका थियो, ठेकेदारले दिएनन् ।’

ठेकेदारले पैसा नदिँदा चामल र तरकारी किन्न नसकिएको अर्का कामदार सविन राईले बताए । ‘एउटा कोठामा १५ जना अलपत्र भएर बसेका छौँ,’ उनले भने, ‘बेखर्ची भयौँ, ठेकेदारले पैसा दिएन, घर जान पनि पाएनौँ ।’

यता ठेकेदार कम्पनी बानिया निर्माण सेवाले भने केही दिनमा पैसा दिने बताएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि मनोज अधिकारीले बैङ्क बन्द भएकाले कामदारलाई पैसा दिन नसकिएको बताए । ‘आज दिने भाका थियो । तर बैङ्क बन्द भएर दिन पाएनौँ,’ उनले भने, ‘अझै केही दिन ढिलो हुन्छ ।’

jackson ribon