birat ribon

आइसोलेनसमा बस्दा हुने मानसिक समस्या र यसको समाधान

Neuro
आइसोलेनसमा बस्दा हुने मानसिक समस्या र यसको समाधान

विराटनगर / कोरोना भाइरसबाट सङ्क्रमित हुने, मृत्यु हुने सङ्ख्या बढिरहेका बेला, आइसोलेसनमा बसेका मानिसमा मानसिक समस्या देखिन थालेको छ ।

यस्तोमा सङ्क्रमित भई होम आइसोलेसनमा बस्दा वा परिवार तथा आफन्तमा सङ्क्रमण भएमा, कसैको मृत्यु भएमा डर, चिन्ता तथा तनाव बढ्ने हुन्छ । नेपाल चिकित्सक सङ्घ (एनएमए) कोसी शाखाको आयोजनामा कोभिड म्यानेजमेन्ट इन इस्टर्न नेपालसम्बन्धी वेबिनारमा न्यूरो अस्पतालका मनोचिकित्सक डा. रन्जन थापाले आइसोलेनसमा बस्दा हुने मानसिक समस्या र यसको समाधानका बारेमा जानकारी दिएका छन् ।

cura insider
डा. रन्जन थापा

अधिकांश सङ्क्रमितमा हल्कादेखि मध्यम सङ्क्रमण मात्र भई निको हुने हुन्छ जसकारण धेरैजसो मानिस आइसोलेसनमा बसिरहेका छन् । उनका अनुसार आइसोलेसनमा बसेका धेरैजसो सङ्क्रमितमा रुघाखोकी, ज्वरोलगायत कोभिडका सामान्य लक्षण मात्र देखिने वा केही समयपछि हराउने हुन्छ । तर, आइसोलेसनमा बसेका धेरैमा मानसिक समस्या देखिएको छ ।

आइसोलेसनमा एक जना मात्र सङ्क्रमित नभई परिवारका अन्य वा सबै सदस्य सङ्क्रमित भई आइसोलेसनमा बसिरहेका छन् । सङ्क्रमित भई आइसोलेसनमा बसेका मानिसमा धेरैजसो डर र तनाव हुने डा. थापा बताउँछन् । ‘मान्छेहरूमा हरेक समय लक्षण गम्भीर पो हुने हो कि, गाह्रो पो हुने हो कि, अस्पताल जानुपर्ने वा मरिन्छ कि भन्नेलगायत डर हुन्छ,’ उनले भने, ‘सामान्य लक्षण भएका मानिसमा समेत आइसोलेसनको अवधि नसकेसम्म वा सङ्क्रमणमुक्त नभएसम्म यस प्रकारका डर भइरहन्छ ।

आइसोलेसनमा बसेकै कारणले पनि मानिसमा तनाव उत्पन्न हुने डा. थापाको भनाइ छ । उनका अनुसार आइसोलेसनमा बस्दा बाहिर निस्कन नपाउँदा, एक्लै बस्नुपर्दा फ्रस्टेसन हुने, अल्छी लाग्ने हुनसक्छ । यसका साथै आफूमा सामान्य सङ्क्रमण भए पनि परिवारका अन्य सदस्य गम्भीर भएमा अस्पताल भर्ना भएमा वा आफ्ना वा आफन्तको मृत्युको खबर सुन्दा पनि तनाव बढ्छ ।

आइसोलेसनमा बसेका मानिसमा आफू कसरी सङ्क्रमित भएको वा कसले सङ्क्रमण सारेको हो भन्ने रिस पनि हुनसक्छ । आफू जोगिन नसक्दा आफ्ना कारणले परिवार वा अन्य कसैलाई सङ्क्रमण भएमा आफू जिम्मेवार भएको दोष पनि दिनसक्ने डा. थापा बताउँछन् । यसका साथै, केटाकेटीहरूलाई सम्हाल्न, घरमा चाहिने खाद्यान्न तथा औषधि ल्यादिने मानिस नहुँदा तनाव, काम गर्न नपाउँदा आर्थिक अवस्था कमजोर हुने तनाव, जागिरबाट निकालिने डर तथा तनाव देखिन्छ । त्यसैले आइसोलेसनको बेलामा सङ्क्रमण हल्का भए पनि स्ट्रेस गम्भीर हुनसक्ने उनको भनाइ छ ।

उनका अनुसार कहिले पनि एन्जाइटीको समस्या नभएका मानिसमा पनि सङ्क्रमण हुनसक्ने डरका कारण वा पहिला एन्जाइटी भएर निको भइसकेका मानिसमा एन्जाटइी भएको पाइएको छ । कोभिडका बिरामी र कोभिडबाट निको भइसकेका बिरामीमा पनि एन्जाइटी र डिप्रेसनको समस्या देखापरिरहेको छ ।

आइसोलेसनमा बस्दा हुने मानसिक समस्या समाधान

आइसोलेसनमा बसेको मानिसले इन्टरनेट वा फोनलगायत टेक्नोलोजीको माध्यमबाट परिवार, आफन्त तथा साथीभाइसँग नियमित कुरा गरिरहनु पर्छ । आफूलाई भएको समस्या बताएर मद्दत लिन सकिन्छ । घरमा चाहिने खाद्यान्न तथा औषधि ल्यादिने, अस्पताल लग्नुपर्दा होस वा अन्य कुरामा सहयोग माग्न सकिन्छ । समस्या वा तनावलाई मनमा राख्नुभन्दा पनि परिवारका सदस्य र आफ्नासँग समस्या सेयर गर्दा फ्रस्टेसन तथा तनाव कम हुँदै जान्छ ।

अधिकांश मानिस घरमै निको भइरहेको, मृत्युदर पनि कम रहेको, अस्पताल भर्ना भइहाले पनि उपचार हुने कारण आइसोलेसनमा बसेका मानिसले हरेक समय सकारात्मक सोच्न जरुरी हुन्छ । अस्पताल जान डराउनुभन्दा पनि देखिएका लक्षणलाई मनिटर गर्ने र गाह्रो भएको अवस्थामा वा आवश्यक परे तुरुन्त अस्पताल जानुपर्ने हुँदा तयार अवस्थामा रहनुपर्ने वा प्लान गर्नुपर्ने हुन्छ ।

एउटै कोठामा बसिरहँदा अल्छी लाग्ने हुँदा आइसोलेसनमा बसेका मानिसले अल्छीपना हटाउने विभिन्न उपाय खोज्नुपर्ने हुन्छ । दिनभरि व्यस्त रहनसकेको खण्डमा स्ट्रेस बढाउनेखालको अनावश्यक सोच नआउने तथा कोभिडका बारेमा मात्र पनि सोच आउँदैन । आइसोलेसनमा बस्दा आफूलाई व्यस्त राख्नका लागि फिल्म हेर्ने, गीतसङ्गीत सुन्ने, किताब पढ्ने, केही रचनात्मक वा आफूलाई मनपर्ने काम गर्ने, साथीभाइलगायत आफन्तसँग कुरा गर्ने गर्नुपर्छ ।

आइसोलसनमा बस्दा पोषणयुक्त सन्तुलित खानामा ध्यान दिने गर्नुपर्छ । शारीरिक तथा मानसिक रूपले स्वस्थ रहनका लागि पोषणयुक्त खाना खानुका साथै प्रशस्त मात्रामा तरल पदार्थको सेवन गरी हाइड्रेटेड रहनुपर्छ । समयमा सुत्ने, निद्रा पुर्‍याउने, शरीरिक गतिविधि तथा व्यायाम गर्ने, लगातार वा धेरै समाचार हेर्न तथा सुन्नबाट बच्ने, विश्वसनीय स्रोतबाट मात्र समाचार हेर्ने, फेसबुकलगायत सामाजिक सञ्जालमा धेरै समय नबिताउने, इन्टरनेटमा भएका तनावपूर्ण पोस्ट भएका पेज वा समूहलाई ब्लक गर्ने वा अनफलो गर्ने, मदिरा तथा लागुपदार्थको सेवनबाट टाढा रहने जस्ता कुरामा ध्यान दिनुपर्छ ।

आइसोलेसनमा बसेर वाक्क हुँदा केही लक्षण नदेखिए वा सिटी भ्याल्यु हाइ हुँदा चारपाँच दिनमा आइसोलेसनबाट निस्कनु हुँदैन । केही पनि लक्षण नहुँदा पनि दुई साता आइसोलेसनमा बस्न सुझाव दिइन्छ । आइसोलेसनमा बसेर आफूले परिवारका अन्य सदस्य, सामाजमा मानिसलाई सङ्क्रमणबाट बचाइरहेको तथा महामारीलाई नियन्त्रण गर्न सघाइरहेको छु भनेर सोच्न जरुरी हुन्छ ।

कसैमा दुई साताभन्दा बढीसम्म पनि पिसिआर रिपोर्ट पोजिटिभ आउन सक्छ । लामो समयसम्म आइसोलेसन बस्नाले पनि मानिसमा मानसिक समस्या बढी भएको देखिन्छ । त्यसैले दुई सातापछि आइसोलेसनबाट निस्कन सकिन्छ । साथै, यस्तो अवस्थामा केही मात्रामा तनाव रहनु सामान्य हो भनेर स्वीकार गर्नुपर्छ । तर, तनाव सहन नसकेमा, सुत्न समस्या हुन थालेमा, नकारात्मक सोच बढ्न थालेमा, आत्महत्याको विचार आउन थालेमा चिकित्सकसँग सहयोग लिई यसप्रकारका तनावलाई नियन्त्रण गर्न जरुरी हुन्छ ।

तनावले मानिसक मात्र नभई शारीरिक समस्या पनि बढाउने गर्छ । यस्ता मानसिक समस्याले मानिसलाई लामो समयसम्म पनि असर गर्नसक्ने हुँदा यसलाई समयमा नै नियन्त्रण गर्नुपर्ने हुन्छ । डाक्टरको परामर्श वा छोटो समयका लागि औषधिको सेवनले पनि सहयोग पुर्‍याउन सक्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: