birat ribon

होम आइसोलेसनबाटै अन्य सङ्क्रमितलाई परामर्श

Neuro
होम आइसोलेसनबाटै अन्य सङ्क्रमितलाई परामर्श

अङ्किता ताम्राकार / विराटनगर

कोरोना सङ्क्रमण तीव्र रूपले फैलिँदै जाँदा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरू पनि कोरोना भाइरसबाट सङ्क्रमित भइरहेका छन् ।

cura insider

बिरामीको उपचारमा खटिएका विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा. यज्ञ खरेल पनि सङ्क्रमित भए । तर, दुबै डोज खोप लगाएका कारण लक्षण अरू सङ्क्रमितको भन्दा सामान्य रहेको उनको अनुभव छ । सङ्क्रमण भएर होम आइसोलेसनमा बसेका उनी दिनभर फोनमार्फत् अन्य सङ्क्रमितलाई परामर्श दिन व्यस्त थिए ।

दुई साता होम आइसोलेसमा बसेपछि सङ्क्रमणमुक्त भएका उनी पुनः बिरामीको उपचारमा फर्किसकेका छन् ।

सङ्क्रमण हुँदाको उनको अनुभव :

बिरामी मात्र नभएर सम्भावित सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहँदा कोरोना भाइरसको सङ्क्रमण हुने जोखिम धेरै थियो । अस्पतालमा काम गर्दागर्दै घाँटी दुखेको, हल्का ज्वरो (९९ डिग्री), र रुघाखोकी जस्ता सामान्य लक्षण देखिएपछि कोभिडको शङ्कामा होम आइसोलेसनमा बसेँ । जाँच गराउँदा रिपोर्ट पोजिटिभ आयो । अर्थात् आफूमा भाइरसको सङ्क्रमण भएको पुष्टि भयो ।

आफूले दुबै डोज खोप लगाएका कारण अन्य लक्षण नदेखिएको तथा कुनै गम्भीर समस्या भने देखिएन । देखिएका लक्षण पनि दुईदेखि तीन दिनमा हराएर गए । घरमा सतर्कता अपनाएर आइसोलेसनमा बसेपछि तातो पानी पिउने, बाफ लिने भने गरिरहेँ । होम आइसोलेसनमा बस्दा खासै औषधिको प्रयोग गरिनँ । ज्वरो आएको बेलामा एउटा प्यारासिटामोल र रुघाखोकी कम गर्न दुई दिनजति औषधिको सेवन गरेँ ।

इम्युनिटी बढाउने सप्लिमेन्ट वा भिटामिनको समेत सेवन गरिनँ । होम आइसोलेसनमा बस्दा पनि अन्य सङ्क्रमितलाई परामर्श दिएर दिन बित्ने गथ्र्यो । विराटनगर महानगरपालिकामा अरू होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई परामर्श दिनका लागि मलगायत केही डाक्टरहरूलाई जिम्मा दिइएको छ । मसँग परामर्श लिने बिरामीहरू पनि धेरै थिए ।

दिनभरि बिरामीहरूको फोन आइरहन्थ्यो । अन्य आइसोलेसनमा बसेका सङ्क्रमितलाई सल्लाह दिएर आफ्नो सङ्क्रमणको समय बितेको पत्तो पाइएन । कहिले काहीँ तनाव हुनु समान्य हो । तर, आइसोलेसनमा बसेको बेला पनि सङ्क्रमितकै उपचारमा, आइसियु बेडहरू मिलाइदिनेलगायत काममा व्यस्त भइरहेका कारणले खासै तनावको अनुभव भने भएन ।

होम आइसोलेसनमा बसेको १६ दिनपछि जाँच गराउँदा रिपोर्ट नेगेटिभ आयो । सङ्क्रमणमुक्त हुनुका साथसाथै फिट भएर पहिला जसरी आफ्नो काममा अर्थात् अस्पताल गएर बिरामीको उपचारमा पुनः फर्किसकेको छु । सङ्क्रमणमुक्त भएको केही दिनपछि शल्यक्रियासमेत गरेको छु । गम्भीर सङ्क्रमण भएका धेरैजसोमा पोस्ट कोभिडको समस्या देखिन थालेको छ ।

तर, हल्कामात्र लक्षण देखिएको हुनाले सङ्क्रमणमुक्त भएपछि आफूमा अहिलेसम्म कुनै समस्या देखापरेको छैन । अधिकांशमा सङ्क्रमण हल्का हुने हुँदा सङ्क्रमण आफैँ नै ठिक भएर जाने हुन्छ । यसकारण आत्तिहाल्नु पर्दैन । सामान्य सङ्क्रमण भयो भन्दैमा हेल्चेक्र्याइँ वा लापरवाही गर्नु हुँदैन । देखिएका लक्षणहरूलाई समय–समयमा मनिटरिङ गरिरहनु पर्छ ।

सङ्क्रमित भएँ भनेर तनाव लिनु भएन । यसको साटो व्यस्त रहने उपाय खोज्न सकिन्छ । गम्भीर सङ्क्रमण भएकामा, शरीरको अक्सिजनको मात्रा घट्न थालेकाहरूले समयमा अस्पताल भर्ना भएर सोहीअनुसार उपचार सुरु गर्नुपर्ने हुन्छ । कोभिडको खासै उपचार छैन । बिरामीलाई अक्सिजन दिने, देखिएका लक्षण तथा समस्याअनुसार औषधि दिनु नै यसको उपचार हो । धेरैजसो बिरामीलाई सुधार भइरहेको छ ।

त्यसैले, कुनै समस्या देखिए वा गाह्रो भएमा घर बसिरहनुभन्दा पनि तुरुन्त अस्पताल आउन सुझाव दिन्छु । महानगरपालिकाको तर्फबाट विराटनगरमा होम आइसोलेसनमा बसेका सङ्क्रमितहरूलाई केही डाक्टरहरूको फोन नम्बर उपलब्ध गराइदिएको छ । जसले बिरामीहरूले परामर्श लिन वा कुनै पनि समसमा समस्या भए तुरुन्त सम्पर्क गर्न सहज बनाइदिएको छ ।

त्यसैले, सङ्क्रमण भयो भन्दैमा आत्तिनुभन्दा पनि सतर्कता अपनाएर डाक्टरको परामर्शमा आइसोलेसनमा बसेर, खानपान, व्यायाममा ध्यान दिई मनोवल उच्च बनाए सङ्क्रमणलाई सहजै जित्न सकिन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: