birat ribon

विराटनगरमा उद्योगीलाई खोप, बचाउमा उभियो मुख्यमन्त्री कार्यालय

Neuro
विराटनगरमा उद्योगीलाई खोप, बचाउमा उभियो मुख्यमन्त्री कार्यालय

विराटनगर / पहुँच र पावरका भरमा विराटनगरका उद्योगीलाई कोरोना भाइरसविरुद्धको खोप सुटुक्क दिने योजना असफल भएपछि प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय त्यसको बचाउमा उत्रिएको छ ।

सर्वसाधारण नागरिकलाई बेवास्था गर्दै विराटनगरमा उद्योगीलाई सुटुक्क खोप लगाउन खोजिएपछि प्रदेश १ सरकारको तीव्र आलोचना भइरहेको छ । कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ननसक्दा निक्कै आलोचना खेपिरहेको सरकार खोप प्रकरणमा पनि मुछिएको हो ।

cura insider

सरकारकै बेवास्थाका कारण तीव्र रुपमा कोरोना फैलिएर सर्वसाधारण सकसमा परिरहँदा सरकार मौन छ । कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले कुनै गतिलो र प्रभावकारी योजना ल्याएको छैन । कोरोनाबाट सङ्क्रमित र मृत्यु हुने सर्वसाधारण नागरिकको सङ्ख्या बढिरहेका बेला रमिता हेरेर चुप बसिरहेको सरकार आफ्नो आलोचना भएपछि बचाउमा लागेको स्रोतले बतायो ।

उद्योगी, व्यावसायी र पहुँचवालालाई मात्रै खोपको व्यवस्था गरेर सर्वसाधारण नागरिकको स्वास्थ्यमा खेलवाड भइरहँदा गलत गर्नेमाथि कारबाही गर्नेतर्फ केन्द्रित हुनुपर्ने मुख्यमन्त्री कार्यालय उल्टै खोपमाथि भइरहेको अनर्गल खेलको बचाउमा उभिएको हो । स्वास्थ्य क्षेत्रका जानकार र सरोकारवालाहरु मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारको यो कदमलाई तल्लोस्तरको र निकृष्ठ व्यवहारका रुपमा व्याख्या गर्छन् ।

उद्योगीलाई मात्रै दोस्रो डोजको खोप लगाउने कार्यक्रम बनाएको प्रदेश १ सरकारको गत शुक्रबारको योजना सफल हुन सकेन । कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञामा सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाउँदै उद्योगीलाई भने सुटुक्क बोलाएर दोस्रो डोज खोप लगाउन खोजिएको थियो ।

सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको दोस्रो डोजका लागि उद्योगी–व्यावसायी विराटनगरको तीनपैनी चोकमा रहेको सिटी सिनेमामा भेला भएका थिए । तर स्थानीयले अवरोध गरेपछि भागाभाग भयो । योजना नै सफल हुन पाएन । खोप लगाउन पुगेका उद्योगी तथा खोप लगाइदिन पुगेका स्वास्थ्यकर्मीलाई प्रहरीले उद्धार गरेर सुरक्षित बनाउनुपर्ने अवस्था आयो ।

‘कोरोनाले जनता भकाभक थलिएका छन् । श्वास फेर्न नसकेर सर्वसाधारणले मृत्युवरण गरिरहनु परेको छ,’ नागरिक अगुवा एवं पूर्वशिक्षक केशव अधिकारी भन्छन्, ‘सर्वसाधारण नागरिकलाई छलेर प्रदेश सरकारले पहुँचवालालाई मात्रै खोप दिनखोज्नु गलत हो । चुनावमा जिताएर जनताले सरकारमा पुर्याएकाले त यस्तो विभेद गर्छन् भने अरुको के कुरा गर्नु ?’

सुरुमा जनतालाई सुरक्षित गर्न सकियो भने सबै सुरक्षित होइन्छभन्ने बिर्सिएर सरकारले कोरोनाका सवालमा हेलचेक्राइँ गरिरहेको उनको आरोप छ । उल्टै निषेधाज्ञाका नाममा जनतालाई घरभित्र थुनेर पहुँचवालालाई खोप लगाउन बोलाउनु नाजायज भएको अधिकारीको तर्क छ ।

सर्वसाधारण मरिरहँदा सरकारले खोपको व्यापार गरेको उनले बताए । ‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनरलाई खोप लगाएको भए सबैले स्वागत गर्ने थिए,’ पूर्वशिक्षक अधिकारीले भने, ‘चुनाव घोषणा भइसकेको अवस्थामा उद्योगीलाई फकाउन सरकारले खतरनाक खेल खेलिरहेको पाइयो ।’ उनले कोरोना नियन्त्रणका लागि अग्रमोर्चामा खटिएका र गरिब नागरिकलाई खोपको व्यवस्था गर्न सकेको भए सरकार आलोचनाको पात्र हुनबाट जोगिने पनि बताए ।

तर गलत ढङ्गले खोपमा खेल र झेल गर्दै सरकार पहुँचवाला एवं धनीका लागि मात्रै हो भन्ने सन्देश दिन खोजिएको अधिकारीको बुझाइ छ । सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार शुक्रबार मुख्यमन्त्री निवासमा उद्योगीलाई खोप लगाउने योजना थियो । तर पछि उद्योग सङ्गठनका अध्यक्ष सुयस प्याकुरेलले उपलब्ध गराएपछि मुख्यमन्त्री कार्यालयबाट खोप केन्द्र सिनेमा हलतिर सरेको हो ।

खोपको पहिलो डोज लगाएका उद्योगीलाई सुटुक्क सिनेमा हलमा बोलाएर दोस्रो डोज लगाउन खोजिएको थियो । नेपाली काङ्ग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की जनतालाई घरमा थुनेर प्रदेश सरकारले एमालेको ओली गुटकालाई मात्रै कोरोनाको खोप लगाएको आरोप लगाउँछन् । ‘सरकार जनतालाई घरबाट ननिस्कनु भन्छ । पहुँचवाला र एमालेको ओली गुटकालाई कार्यालयमा बोलाइ–बोलाई कोरोनाको खोप लगान्छ,’ उनले भने, जनताप्रति उत्तरदायी नदेखिएको यो सरकार धनी र पहुँच पुग्नेहरुको पक्षमा उभिएको छ । भ्रष्ट्राचारमा लिप्त भएको गतिलो प्रमाण यहि हो ।’

आफूले गरेको गल्तीलाई सुधारेर आगामी दिनमा कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउँदै अघि बढ्नुपर्ने सरकार उल्टै जानाजान गल्ती ढाकछोप गरेर जनताको आँखामा छारो हान्नेतर्फ केन्द्रित भएको सरोकारवालाको भनाइ छ ।

मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले आज (आइतबार) बिहान एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै खोप प्रकरण ढाकछोपको प्रयास गर्नुले पनि यसको पुष्टि हुन्छ । उनले खोपको विषयलाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएका छन् ।

खोपको गलत खेलविरुद्ध समाचार लेखेका सञ्चार माध्यममाथि अनेक लाञ्छना लगाउने काम सुवेदीले गरेका छन् । ‘विभिन्न स्रोतको हवाला दिएर मुख्यमन्त्री निवासमा खोप लगाउने योजना रहेको, मुख्यमन्त्री कार्यालयमा खोप लगाउने कार्यक्रम रहेको र अझ मुख्यमन्त्रीको सचिवालयको दबावमा खोप लगाएको भन्नेजस्ता अनर्गल एवं प्रायोजित रुपमा गरिएको प्रचार र लेखिएको समाचारको हामी खण्डन गर्छौँ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पहिलो डोज खोप लगाएका सबैलाई प्रोटोकल अनुसार मौज्दातबाट दोश्रो डोज लगाउँदै थप खोपको व्यवस्था गर्न र बाँकी सबै नागरिकका लागि खोपको शीघ्र व्यवस्था गर्न अहोरात्र जुट्नुभएका मुख्यमन्त्रीलाई सोच्नै नसकिने तहको आरोप लगाएर भ्रमपूर्ण प्रचार गरिनु आश्चर्यजनक र निन्दनीय रहेको जिकिर विज्ञप्तिमा गरिएको छ ।

प्रदेशका नागरिकलाई कोभिड–१९ को भाइरसबाट बचाउँदै त्यसको रोकथाम, नियन्त्रण र उपचारमा सबै उपाय अपनाउँदै स्रोत एवं सामथ्र्य जुटाउन प्रदेश सरकार सक्रिय रहेको झुठो दाबी सुवेदीले विज्ञप्तिमार्फत गरेका छन् । सबै नागरिकलाई खोप लगाउन सङ्घीय सरकारसँग समन्वय गर्दै खोप खरिदबारे परामर्श भइरहेको जानकारी पनि उनले गराएका छन् ।

प्रायोजित ढङ्गबाट गरिएका प्रचार र लेखिएका समाचारहरुमा कुनै सत्यता नरहेकोले भ्रममा नपर्न सबैमा विज्ञप्तिमार्फत आग्रह गरिएको छ । तर खोप केन्द्र सिनेमा हल सर्नुअघि मुख्यमन्त्रीको सचिवालकै ‘सेटिङ’मा मुख्यमन्त्री निवासमा खोप लगाउने योजना बनेको सामाजिक विकास मन्त्रालय स्रोतको भनाइ छ । स्रोतका अनुसार मुख्यमन्त्री निवासमा लगाउँदा विवाद आउने देखिएपछि खोप केन्द्र सिनेमा हलतिर सारिएको हो ।

jackson ribon