birat ribon

त्यो दिन

Neuro
त्यो दिन
  • सत्यजित शर्मा

जबसम्म ब्याधाले
शान्तिलाई निशाना बनाएर
शान्तिकै परेवा उडाइरहन्छ,
जबसम्म जल्लादले
मान्छे मर्न विवश पारेर
सुन्दर जीवनका गफ लडाउँछ,
बेच्छ, सबै बेच्छ
आमालाई पनि बेच्छ
र, मातृभक्तिको नगरा बजाउँछ,
झुटका पुलिन्दाको पहाड बनाउँछ
र, त्यही घिनलाग्दो पहाडले
सास फेर्नै नदिई
थिचिरहन्छ मान्छेहरूको स्वाभिमानलाई,
मान्छेहरूलाई रित्तो मझेरीमा थुनेर
जबसम्म लासमाथि
शासन भैरहन्छ मेरो जमिनमा,
जबसम्म रैती नै रहन्छु म
आफ्नै पौरखको फूलबारीमा,
भो – मसँग देशभक्तिका कुरा नगर ।
भो – मसँग गणतन्त्रका कुरा नगर ।
जुन दिन,
फेरि एकचोटि आमाले
आफ्नै रगतको टीको
लगाइदिनेछिन् मेरो निधारमा
र, पठाउनेछिन् मुक्तियुद्धमा,
त्यो दिन–
हाम्रो पसिना खाएर
भ्रम छर्दै बाँचेका बादशाहहरू ढल्नेछन्
साँच्चै नागरिक हुनेछु म
र, सबैले सुन्ने गरी भन्नेछु–
मातृभूमि – जिन्दावाद !
गणतन्त्र – जिन्दावाद !

cura insider
jackson ribon