birat ribon

व्यावसायिक खेतीका लागि माटो परीक्षण अनिवार्य

जिल्लामा सुविधा नहुँदा परीक्षण गराउने न्यून

Neuro
व्यावसायिक खेतीका लागि माटो परीक्षण अनिवार्यजिल्लामा सुविधा नहुँदा परीक्षण गराउने न्यून
  • गार्डेन राई/सोलखुम्बू

आर्थिक वर्ष ०७७–७८ मा माप्य दूधकोसी गाउँपालिकामा एक सय ४० जनाले माटो परीक्षण गराएका छन् ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बूको माटो शिविर कार्यक्रम अन्तर्गत कृषकहरूले माटो परीक्षण गराएका हुन् ।

cura insider

माटो शिविर अन्तर्गत छुट्याइएको एक लाख रुपैयाँ बजेटमा कृषि ज्ञान केन्द्र सोलुखुम्बूले माघ २४ गते गाउँपालिकामा माटो परीक्षण गरेको थियो । 

माटो परीक्षणका लागि कृषकहरूको उल्लेख्य सहभागिता रहेको कृषि ज्ञान केन्द्र सोलुखुम्बूले जनाएको छ ।

सोही कार्यक्रमअन्तर्गत दूधकोसी अर्गानिक एग्रो मल्टिपरपोज प्रालिका अध्यक्ष निर्मल मगरले यो वर्ष पहिलो पटक माटो परीक्षण गरे । माटो परीक्षण गर्नुपर्छ भन्ने कुरा थाहा पाए पनि व्यावसायिक खेती नगरेका कारण खासै वास्ता नगरेको उनको भनाइ छ ।
 
उनी भन्छन्, ‘हामी प्रायः अर्गानिक मल नै प्रयोग गर्छौँ, मल राम्रो भएपछि उत्पादन पनि राम्रै होला भन्ने लाग्थ्यो । अहिले व्यावसायिक खेती सुरु गरिएको छ । त्यही भएर पनि माटो परीक्षण गरियो ।’ 

माटो परीक्षण गर्दा जग्गाको किसिम थाहा हुने, नाइट्रोजनको मात्रा, कस्तो मल लगाउने भन्ने कुराको जानकारी पाइने भएकाले पनि माटो परीक्षण गरिनुपर्ने उनी बताउँछन् । 

वर्षमा बल्ल एकपटक आयोजना हुने कार्यक्रमले मात्र कृषकलाई नपुग्ने बताउँदै बेलाबेलामा माटो शिविर कार्यक्रम साथै कृषकलाई माटो परीक्षण गराउनका लागि आवश्यक सेवा सुविधा उपलब्ध गराई कृषकलाई सहजता प्रदान गर्नुपर्ने अध्यक्ष मगरको भनाइ छ । 

यस्तै गाउँपालिकामा भएको माटो शिविर कार्यक्रममा कविधन राई पनि माटो परीक्षण गर्न पुगे । तर आफूले सोचेजस्तो माटोको रिजल्ट नआउँदा दुःख लागेको उनी बताउँछन् ।

उनले यो वर्ष मात्र होइन, अन्य समयमा पनि माटो जँचाउन जिल्ला पुगेको बताए । हरेक वर्ष माटोको जाँच गरे पनि माटोको उपचार हुन नसकेको उनको गुनासो छ । 

नयाँ किसिमको खेती गर्न तथा माटो सुहाउँदो खेती गर्नका लागि माटो परीक्षण गर्नुपर्छ भन्ने उनलाई पूरा जानकारी छ ।

परम्परागत खेती छाड्दै आधुनिक खेती सुरु गर्नका लागि जग्गा मात्र भएर नहुने र मल टन्न लगाएको छ भनेर मात्र ढुक्क भएर बस्न नहुने उनको बुझाइ छ । 

उनी भन्छन्, ‘एकोहोरो मल मात्र लगाएर मात्र पनि बाली सप्रिने होइन रहेछ । माटो परीक्षण गरेपछि मल कति र कसरी लगाउने, सुरक्षित किसिमले मल कसरी राख्नेलगायत कुरा कृषि प्राविधिकबाट थाहा हुन्छ ।’

उनले अहिले २५ रोपनी जग्गामा मकै, आलु, कोदो लगाएका छन् । केही समययता कुन बालीलाई कस्तो माटो सुहाउँदो रहेछ भनेर बुझ्न माटो परीक्षण आवश्यक रहेछ भनेर बुझ्दै गएको कविधन राई बताउँछन् । कृषि पेसामा नै निर्भर रहनुपर्ने कारण हरेक वर्ष माटो परीक्षण गर्नुपर्ने उनको भनाइ छ । 

गत आर्थिक वर्ष ०७६–७७ मा सोलुदूधकुण्ड नगरपालिकाका एक सय ५७ जनाले माटो परीक्षण गराएका कृषि ज्ञान केन्द्र सोलुखुम्बूका बाली संरक्षण अधिकृत बबि बस्नेतले जानकारी दिए । 

उनका अनुसार २०७६ फागुन ११ गते सल्लेरीको नयाँ बजारमा आयोजित माटो शिविरमा ६३ जना कृषकले माटो परीक्षण गराएका थिए भने सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ तिंलामा फागुन १२ गते ९४ जना कृषकले माटो परीक्षण गराएका थिए । 

अहिले आठ वटै स्थानीय तहमा कृषि शाखा स्थापना भएका कारण कृषकहरूलाई सल्लाह सुझाव लिन सहज भएसँगै कृषकहरूमा माटो परीक्षणबारे जानकारी भएको अधिकृत बस्नेत बताउँछन् । 

आलु ब्लक, चिया ब्लक, माटो परीक्षण साथै प्रधानमन्त्री स्वरोजगारलगायत कार्यक्रमले कृषिमा आकर्षिक भएसँगै माटो परीक्षण गनुपर्ने कुरामा समेत कृषक सचेत छन् । 

राम्रो बीउ भएपछि उत्पादन राम्रो हुन्छ भन्ने कृषकको सोचाइ परिवर्तन गर्दै उत्पादन बढाउनका लागि माटो परीक्षण आवश्यक छ भन्ने कुरामा कृषकलाई सचेत गराउँदै आएको बस्नेत बताउँछन् । 

ल्याबको व्यवस्था नभएको तथा जनशक्ति अभावका कारण जिल्लामा माटो परीक्षण नहुने कारण यी सबै कुराको व्यवस्था गर्न प्रदेश सरकारमा प्रस्तावना पेस गरेको अधिकृत बस्नेतले बताए । 

निश्चित कार्यक्रमका लागि सीमित मात्र बजेट छुट्टिने भएकाले कार्यक्रममा परीक्षण गरेकोबाहेक अन्य समयमा कृषकले माटो परीक्षण गराउँदैनन् । जिल्लामा कार्यक्रम नआउँदा कृषक आफैँ माटो परीक्षणका लागि झापा पुग्नुपर्ने भएकाले पनि समस्या भएको उनी बताउँछन् । 

माटो परीक्षण किन गर्ने ?

बाली लगाउनुअघि सबै कुराको जानकारी नलिईकन बाली लगाएमा आफूले चाहेको जस्तो आम्दानी लिन नसकिने कृषि ज्ञान केन्द्र सोलुखुम्बूका निमित्त प्रमुख दुर्गाबहादुर तिरुवा बताउँछन् । 

माटो परीक्षणबाट माटोमा कुन तत्व कम वा बढी छ, माटो सुहाउँदो खेतीपाती लगाउन, माटोमा कुनै तत्वको कमीले ल्याउने क्षति न्यूनीकरण गर्न, माटोमा उपलब्ध भएका खनिज पदार्थको बारेमा जानकारी लिन, माटोमा हाल्नुपर्ने मलको मात्रा थाहा पाउन पनि माटो परीक्षण गरिनुपर्ने उनको भनाइ छ । 

बिरुवालाई चाहिने खाद्य पदार्थ र पोषक तत्वको पहिचान गर्न अनिवार्य माटो परीक्षण गर्नुपर्ने साथै बाली लगाउनुअघि कृषकहरूले माटो परीक्षण गराउन सकेको खण्डमा कृषकले राम्रो उत्पादन लिन सक्ने तिरुवा बताउँछन् । 

एउटा बाली पाकेर खेतबाट निकालिसकेपछि अर्काे बाली लगाउनुभन्दा एक महिनाअघि माटोको नमुना लिनुपर्ने उनी बताउँछन् । 

माटोको नमुना सङ्कलन कसरी गर्ने ?

माटो सङ्कलनबाट आएको माटोलाई कुनै सफा ठाउँमा फिँजाउने र पात पतिङ्गर, झारहरू हटाउने, माटोको डल्ला फुटाउने, ढुङ्गाहरू हटाउने ।

सङ्कलन गरेको माटोबाट चार भाग छुट्याउने, दुई भाग फालिदिने र दुई भाग पुनः मिसाउने 
मिसाएको दुई भागलाई पनि चार भाग लगाएर दुई भाग फालिदिने र दुई भाग मिसाउने । यो विधि अपनाएर निकालेको नमुनालाई सफा झोलामा हालेर उचित विवरण राखेर परीक्षणका लागि लानुपर्छ ।

सोलुखुम्बू जिल्लामा व्यावसायिक खेती गर्ने कृषक कम सङ्ख्यामा रहेको निमित्त प्रमुख तिरुवा बताउँछन् । व्यावसायिक भन्दा पनि निर्वाहमुखी कृषक बढी भएका कारण माटो परीक्षणमा खासै वास्ता नदिए पनि पछिल्लो समय कृषकहरू उत्साहित देखिएको उनले बताए ।

केहीलाई जानकारी नभएका कारण वास्ता नगरेको पाइएको छ भने कतिलाई चेतनाको समेत अभाव रहेको पाइएको उनले बताए । तर व्यावसायिक तवरले जान्छु भन्ने कृषकहरू भने सल्लाह सुझावका लागि निरन्तर आइरहेको उनी बताउँछन् । 

माटो परीक्षणका लागि कृषकहरू सचेत भएको भनिए पनि जिल्लामा उचित सेवा सुविधा नभएका कारण कृषकले गुुुनासो पोखिरहेकै छन् । त्यसैले कृषकको आवश्यकतालाई मध्यनजर गरेर कृषकको मनोबल उच्च बनाउने किसिमले थप सुविधा प्रदान गर्न सकेमा कृषि क्षेत्रमा थप सुधार हुँदै जाने निश्चित छ । 

jackson ribon