birat ribon

विराटनगरमा ३० रुपैयाँ किलो टमाटर : कटहरी र जहदामा बारीमै कुहियो

Neuro
विराटनगरमा ३० रुपैयाँ किलो टमाटर : कटहरी र जहदामा बारीमै कुहियो
  • मोहन ढकाल / विराटनगर

मोरङको कटहरी र जहदाका कृषकले लगाएको तरकारी बारीमा नै कुहिएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता नदिएर विराटनगरका व्यापारीले भारतलगायतका स्थानबाट तरकारी खरिद गर्दा स्थानीय उत्पादन ओझेलमा परेको हो ।

मोरङको कटहरीमा निर्माण भएको तरकारी बजारसमेत सञ्चालन हुन नसक्दा कृषकहरू मारमा परेका छन् ।

cura insider

कटहरी–४ का सत्यनारायण मण्डलले एक बिगाहामा टमाटरलगायत अन्य तरकारी लगाएका छन् । तर, बेच्ने समयमा निषेधाज्ञा भएपछि टमाटर बारीमै कुहिएको छ । गत वर्ष पनि लाखौँको नोक्सानी व्यहोरेका उनले यसपटक पनि नोक्सानी व्यहोर्न बाध्य भएको सुनाए । स्थानीय सरकारले समेत कुनै पहल नगर्दा समस्या भएको उनले गुनासो गरे । लाखौँको लगानीमा लगाएको टमाटरलगायत तरकारी बारीमा नै कुहिएपछि बैङ्कबाट लिएको ऋणसमेत कसरी तिर्ने भन्ने समस्या थपिएको उनले बताए ।

कटहरीकै रामचन्द्र सिंहले पनि बारीमा टमाटरलगायत विभिन्न तरकारी लगाएका छन् । बैङ्कबाट ऋण लिएर तरकारी लगाएको बताउँदै उनले भने, ‘गतवर्ष पनि यहि समयमा लकडाउन भएर धेरै नोक्सान भयो, यस पटक पनि बारीमा लगाएको सबै टमाटरलगायतका तरकारी नष्ट हुने अवस्थामा पुगेको छ ।’

कटहरीका विष्णुदेव मण्डलले गतवर्ष लगभग चार लाखको नोक्सानी व्यहोरे । यस पटक भने उनले बारीमा आफूलाई खान पुग्नेबाहेक तरकारी लगाएनन् । उनले भने, ‘मैले त गतवर्ष नोक्सानी व्यहोरेका कारण टमाटरतगायत तरकारी लगाइनँ, तर यहाँका सबै कृषकले लगाएको तरकारी अहिले खेर गइसकेको अवस्था छ । लाखौँको नोक्सानी व्यहोर्न बाध्य कृषकको समस्या कसले सुनिदिने ? सबै कृषक मर्कामा छन् ।’ गाउँपालिकाले समेत कृषकका समस्या समाधानमा कुनै पहल नगरेको उनले बताए ।

निषेधाज्ञा भए पनि निश्चित समयमा तरकारी बजार सञ्चालन भइरहेको छ । तर, स्थानीय उत्पादनलाई ओझेलमा पारेर विराटनगरलगायतका स्थानमा खपत हुने तरकारी बाहिरबाट आयात हुने गरेको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिन गाउँपालिकाले समेत कुनै पहल गरेको पाइँदैन ।

यता, कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले भने कृषकले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन सहकार्य गरिरहेको बताए । उनले भने, ‘हामीले सहकार्य त गरिरहेका छौँ, तर कृषकले उत्पादन गरेको सबै तरकारी बजार पुर्‍याउन सम्भव छैन, हाटबजार बन्द भएका कारण पनि समस्या भएको हो ।’ कृषक मारमा परे पनि केही गर्न सक्ने अवस्था नभएको उनले बताए ।

गतवर्ष कटहरीमा रहेको तरकारी बजारले कृषकको बारीबाट तरकारी ल्याएर बिक्री वितरणमा सहजीकरण गरे पनि यसपटक भने सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारले सहजीकरण नगरेका कारण कृषकको बारीबाट तरकारी ल्याउन नसकिएको विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टिकरण सहकारी सङ्घका सचिव राकेश दाहालले बताए । उनले भने, ‘प्रदेश सरकारले सहजीकरण नगरिकन हामीले केही गर्नसक्ने अवस्था छैन ।’

jackson ribon