birat ribon

सेलिब्रिटी शिरीष र बाँकी प्रश्नहरू !

Neuro
सेलिब्रिटी शिरीष र बाँकी प्रश्नहरू !
  • विष्णुप्रसाद / सुनसरी

नगर सौन्दर्यको पर्याय मानिने गहना रुख (अर्नामेन्टल ट्री)हरू इटहरी नगरपालिका सेरोफेरोमा कति थिए, कति मासिए, कति बाँकी छन् ?

इटहरी उपमहानगरपालिकाको गेटअगाडि उभिएर सेरोफेरो अवलोकन गर्ने क्रममा तपाईका मनमा यस्ता जिज्ञासा आउनसक्छन् । तर यसको चित्तबुझ्दो जबाफ दिने आधिकारिक निकाय वा व्यक्ति कोही छैन ।

cura insider

नगरमा बाँचीवर्ती रहने मौका पाएका गहना रुखहरू फुलेको देखेर रमाउनेहरूको सङ्ख्या अधिक छ, रोप्ने–हुर्काउनेहरूको सङ्ख्या भने न्यून । त्यसो त बेला–बेलामा सडककिनार र केही खाली जमिनमा वृक्षरोपण र गोडमेल गर्दै गरेको दृश्य देखिन्छ । तर त्यसरी वृक्षरोपण गरेर सेल्फी खिचेको, समाचार बनाएको, पब्लिसिटी स्टन्ट गरेको एक वा दुई महिनापछि हेर्दा ती बिरुवाहरू अस्तित्वमा हुँदैनन् ।

कुनै दिन विशेषमा ‘देखावटी’का लागि रोपिने बिरुवा स्थानीयका करकमलले तातोपानी खन्याएर, चुँडेर, गाई–बाख्रा चर्न सजिलो पारेर मासिन्छन् । कसैगरी जोगिएर दुई–तीन वर्षका भइहाले भने काँटी ठोकेर, बोक्रा ताछेर, ग्रिज दलेर मारिन्छन् । यस्तो (अ)मानवीय प्रवृत्ति इटहरीको मात्र होइन, हरेक नगरको नियति नै बनेको छ ।

नगरमा सडक विस्तारका नाममा काटिएका रुख कति हुन् ? तिनको वातावरण प्रभाव तथा विकल्प के हो ? काव्य वाटिकामा भएका तीन दर्जनभन्दा बढी गहना रूखहरू नगरका प्रतिनिधिको अगुवाइमा काटिए । तर पछिल्लो स्थानीय निर्वाचन भएको चार वर्षमा जनप्रतिनिधिले काव्य वाटिका परिसरमा कतिवटा बिरुवा रोपे ? यसको सार्वजनिक जबाफ पनि नगर नेतृत्वले दिनसकेको छैन । न आत्मआलोचित नै भएको छ ।

यस्तो अनपेक्षित परिस्थितिबीच नगरमा भएका रुखहरू काट्ने–मास्ने घटनामा फड्के किनाराका साक्षी बनेका जनप्रतिनिधिहरू भने ढकमक्क फुलेका गहना रुखहरू देखेमा दङ्ग पर्ने गरेका छन् । फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने गरेका छन् ।

त्यही क्रममा इटहरी नगर क्षेत्रमा दुःखले बाँचेर हुर्किएका केही रुखहरूमध्ये एउटा ‘भाग्यमानी’ शिरीषको रुखले प्रत्येक वर्ष सेलिब्रिटीको हैसियत पाउने गरेको छ । प्रत्येक वसन्त ऋतुमा सो रुखतर्फ विभिन्न तहका जनप्रतिनिधि, पत्रकार, सामाजिक अभिन्ता, कवि, कलाकार, व्यापारीसहित बटुवाहरू आकर्षित हुने गरेका छन् ।

विगत लामो समयदेखि ‘सेलिब्रिटी’ बन्ने अवसर पाउने गरेको सो ज्याकारान्डा प्रजातिको शिरीषको रुख गत वर्ष र यो वर्ष लक–डाउन तथा कारोना महामारीका बीचमा पनि आफ्नो छवि कायम राख्न सफल देखिएको छ ।

सो शिरीषको बिरुवा कसको हातबाट रोपिएको हो ? त्यो यकिन नभए पनि २०५४ साल जेठमा कलाकार विक्रमश्रिको टोलीले नगरपालिका सेरोफेरो, सडक किनार, बजार क्षेत्र र टेङ्ग्राकिनारमा गरी १८ वटा उही प्रकारका शिरीषका बिरुवा रोपेको थियो । त्यो बेला पाम, कृष्ण–कल्की, राजवृक्षसहित गहना रूखका ५० भन्दा बढी बिरुवाहरू रोपिएका थिए, जसमध्ये आधा जीवित छन्, आधा मरिसके ।

तत्कालीन धर्म, कला, संस्कृति विभाग संयोजक विक्रमश्रि, नगरपालिका प्रतिनिधि नारायण दङ्गाल, संरक्षण कार्यकर्ताहरू महेश सुवेदी, राम याक्खालगायतको टोलीले काव्य वाटिकादेखि बूढीखोलासम्म सडक किनारमा सञ्चालित बृहत् वृक्षरोपण अभियानको नेतृत्व गरेको थियो ।

‘त्यो बेला भएका रुख–बिरुवा मास्दै कङ्क्रिटका संरचना बनाउने विकृति अहिलेजस्तै उग्र–रूपमा अघि बढाइएको थियो,’ इटहरी भर्खर नगरपालिका घोषणा भएको विगत सम्झिँदै कलाकार विक्रमश्रि भन्छन्, ‘यता इटहरीमा जनप्रतिनिधि आफैँ अघि सरेर जथाभावी रुख काटिरहेका थिए, उता भारतमा रुख बचाउन चिपको आन्दोलन उत्कर्षमा चलिरहेको थियो ।’

‘रुख काट्नुअघि हामीलाई काट’ भन्दै रुखमै टाँसिएर विरोध प्रदर्शन गर्ने शैली (चिपको आन्दोलन)को सकारात्मक प्रभाव स्वाभाविक रूपमा विक्रमश्रिसहित प्रकृतिप्रेमी युवामा पर्‍यो ।

‘सपिङ कम्प्लेक्स बनाउन ढकमक्क फुलिरहेका रुखहरू काटेको देखेपछि मन थाम्न सकेनौँ र बाँकी रहेका रुखमै टाँसिएर विरोध गर्‍यौँ,’ विक्रमश्रि भन्छन्, ‘त्यसरी केही रुखहरू बचायौँ । लगत्तै काटिएका रुखहरूको क्षतिपूर्तिस्वरूप वृक्षरोपण अभियानमा सहयोग गर्न नगरप्रमुख सर्वध्वज साँवालाई बाध्य बनायौँ ।’

त्यसरी दबाबमूलक ढङ्गले रोपिएको र अहिले सेलिब्रिटी हुने अवसर पाइरहेको शिरीषको बिरुवा पशुपति नर्सरीले सौजन्यस्वरूप उपलब्ध गराएको थियो । नर्सरीले धरान घोपा क्याम्पबाट बिउ ल्याएर बिरुवा उमारेको थियो ।

इटहरीमा नगरपालिका परिसरवरपर रहेका शिरीषको रुखसँगै जनजीवन र संस्कृति रमाउने सिलसिला पुरानै हो । पहिले–पहिले शिरीषको रुखतल साकेला नाच तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू हुन्थे भने फोटो खिचेर सङ्ग्रहित गर्ने चलन पनि पुरानै हो ।

तस्बिर स्रोत – सामाजिक सञ्जाल
साकेला नाचेको तस्बिर – राम याक्खा

jackson ribon