birat ribon

‘कोरोनालाई सामान्य सोच्नु नहुने रहेछ’

Neuro
‘कोरोनालाई सामान्य सोच्नु नहुने रहेछ’

विराटनगर / विराटनगर घर भई काठमाडौँमा बस्दै आएका २६ वर्षीय समुन्द्र न्यौपाने सङ्क्रमणबाट मुक्त भएका छन् ।

ज्वरो, शरीरमा अत्यधिक दुखाइ, टाउको दुखाइ, थकान, घाँटीको दुखाइ, कमजोरीलगायतका लक्षण देखिएका उनले निरन्तर डाक्टरको परामर्श लिई होम आइसोलेसनमा बसेर सङ्क्रमणमुक्त भएका हुन् । मार्केटिङको काम गर्दागर्दै उनी कसरी सङ्क्रमित हुन पुगे उनैलाई थाहा छैन । तर, आजभन्दा १७ दिनअगाडि साथीको जन्मदिनको अवसरमा सानो गेट–टुगेदरमा उपस्थित भएको उनलाई याद छ ।

cura insider

झन्डै दुई सातासम्म सताएको कोभिडबाट मुक्त भए पनि उनलाई समयसमयमा छाती भारी भइरहेको अनुभव भइरहन्छ । सङ्क्रमित हुँदाको उनको अनुभव :

मलाई साथीको बर्थ–डे पार्टीमा गएको समयमा कोरोनाको सङ्क्रमण भएको हुनसक्छ । सो समयमा केही हुँदैन भन्ने सोचेर लापरबाही गरेर पार्टी गरिएको थियो । साथीको जन्मदिनको भोलिपल्टदेखि नै शरीरमा केही असजिलो भएको, टाउको दुखेको जस्तो महसुस हुन थल्यो । सो समयमा पानी पनि परिरहेको र पार्टीमा चिसो पिएको हुँदा र मौसम परिवर्तनका कारण सामान्य चिसो लागेको पो हो कि सोचेर उक्त दिन अफिसको काम घरबाटै गरेँ ।

दुई दिनसम्म पनि मलाई सामान्य यिनै लक्षण देखिरहेको थियो तर जिउ दुखाइ भने अत्यधिक बढ्दै गएको थियो । घाँटी खसखस हुने, चिलाउने, दुख्ने पनि हुन थाल्यो । तातो पानी पिउने, कुल्ला गर्ने, बाफ लिनेदेखि घाँटी दुखाइ निको हुने औषधिको सेवन गरेँ । तर तातोपानी पिएसम्म मात्र समस्या अलि कम भएजस्तो हुन्थ्यो ।

मनमा आफूलाई सङ्क्रमण भएको हो कि सोचेर शङ्का लागिसकेको थियो । जसकारण आफूलाई अरुबाट अलग्गै राखेर आइसोलेसनमा बस्न थालिसकेको थिए । शरीरको इम्युनिटी बढाउनका लागि इम्युनिटी बुस्टर (भिटामिन बी, सी, डी, जिङ्क), च्यवनप्रास, पोषिलो खानेकुरा, फलफूलको सेवन गर्न थाले । त्यसको, भोलिपल्ट समस्या कम हुनुभन्दा पनि झन् थपिँदै गयो ।

भोलिपल्टदेखि शरीर दुख्ने, खोकी लाग्ने जस्ता लक्षण पनि देखिन थाल्यो । बेसार पानी, कफ सिरप, एलर्जीको औषधिको सेवन गर्दा पनि देखिएका कुनै पनि लक्षण कम नभएका कारण थप डर बढ्न थाल्यो । र, कोरोना भाइरसबाट सङ्क्रमण भएको नै होला सोचेर पिसिआर जाँच गर्ने निर्णय गरेँ । पिसिआर जाँच गर्ने निर्णय गरेको दिन निकै ज्वरो पनि आएको थियो ।

मास्क लगाएर, सावधानीका सबै उपाय अपनाई पिसिआर जाँचका लागि भक्तपुर अस्पतालमा गएर स्वाब सङ्कलन गराएर आएँ । भोलिपल्ट रिपोर्ट पोजिटिभ आयो । आफू सङ्क्रमित भएपछि के गर्ने, के नगर्ने, भन्ने कुराले निकै डर बढाएको थियो । तर, रिपोर्टमा सिटी भ्याल्यु धेरै भएको हुनाले डर कम भयो । आफू निको हुन लागेको स्टेजमा रहेछु भनेर सोचेर रोगसँग लड्नका लागि शरीरको इम्युनिटी बढाउनका लागि ध्यान दिन थाले ।

त्यसपछि, डाक्टरको सल्लाहअनुसार म होम-आइसोलेसनमा बसेर उपचार सुरु गरेँ । मेरो शरीरमा निकै दुखाइ महसुस भइरहेको थियो, जसकारण मलाई धेरैजसो समय दिक्क मात्र लाग्थ्यो । तर पनि दैनिक उठेर व्यायाम गर्ने, नियमित बेसार–पानी पिउने, बाफ लिने, इम्युनिटी बुस्टरको सेवन गर्नुका साथै अण्डा, दुध, फलफूल, हरियो सागसब्जी, सुपलगायत पोषिलो खानेकुरामा बढी जोड दिन थालेँ ।

सङ्क्रमित भएको थाहा पाएपछि नियमित डाक्टरसँग परामर्श लिइरहेँ । रिपोर्ट आएको तीन दिनपछि खोकी लाग्ने र ज्वरो कम हुँदै गयो । मलाई देखिएको लक्षणका आधारमा एजिथ्रोमाइसिन, प्यारासिटामोल, एलर्जीको औषधि, भिटाममिन डी, भिटामिन बी, भिटामिन सी, क्याल्सियम र च्यवनप्रासको सेवन गरेँ । काठमाडौँमा भाडामा एक्लै बस्ने भएकाले यस्तो बेलामा साथीहरूले निकै सहयोग गरे ।

दिनभरि केही न केही कुरामा आफूलाई व्यस्त राखिरहने र ध्यान तथा योग गरेर माइन्डलाई डाइभर्ट गर्ने गरिरहेँ । समय कटाउनका लागि फिल्म हेर्ने, साथी भाइसँग कुरा गर्ने गरिरहेँ । परिवार तथा साथीहरूले समय-समयमा फोन, भिडियो कलमार्फत सधैँ हौसला बढाउने र साथ दिरहेका छन् । उहाँहरूको साथ र सहयोगका लागि म सधैँ मनैदेखि आभारी रहनेछु ।

रिपोर्ट पोजिटिभ आएको १० दिनभित्र सङ्क्रमणको प्रारम्भिक चरणमा देखिएका सबै लक्षण हराइसके पनि बेलाबेला ढाड दुख्ने, घाँटी खसखस हुने र छाती भारी भएकोजस्तो महसुस भइरहन्थ्यो । सङ्क्रमण हुँदा धेरै मानसिक तनावसमेत बढ्दै गएको थियो । डर लाग्ने, अवस्था गम्भीर पो हुन्छ कि भनेर चिन्ता लाग्ने, डरका कारण कयौँ रात निद्रामा पनि समस्या देखिन थालेको थियो ।

यस्तोमा सामाजिक सञ्जालमा आउने समाचारमा सङ्क्रमित र मृतकको सङ्ख्या थपिएको सुन्दा र अन्य भ्रामक समचारले झन् त्रसित बनाएको थियो । त्यसैले नकारात्मक कुरालाई सक्दो टाढा राखेर विश्वसनीय स्रोतबाट मात्र समाचारहरू हेर्न थालेँ । लक्षण देखिएको १४ दिनमा म सङ्क्रमणमुक्त भएको छु । सङ्क्रमणमुक्त भए पनि बेलाबेला छाती भारी भएको अनुभव भइरहन्छ ।

कोरोनालाई समान्य नसोचौँ । आफू स्वस्थ छु, केही रोग छैन, कोरोना लाग्दैन भनेर सोच्नु नहुने रहेछ । यसपटक कम उमेर समूहका मनिसमा समेत सङ्क्रमण गम्भीर भइरहेको छ । साथै, एक जनालाई लाग्दा परिवारका अन्यमा पनि सङ्क्रमण सर्ने सम्भावमा धेरै छ । कोरोना आफूलाई नलागेसम्म मात्र केही होइन जस्तो महसुस हुने रहेछ, लागेपछि धेरै गाह्रो हुने हुन्छ ।

मैले भोगेको कुरा अरूलाई नहोस् र कसैले पनि सङ्क्रमण नहोस् भन्ने जस्तो लाग्छ । सही तरिकाले मास्क लगाउने, सरसफाइमा ध्यान दिने, भौतिक दुरी अपनाएर कोरोनाबाट बच्न सक्दो सावधानीका उपाय अपनाउनु पर्छ । सङ्क्रमित भइहाले पनि खानपानमा ध्यान दिने, व्यायाम गर्ने, प्रशस्त आराम गर्ने, नकारात्मक नसोच्नुका साथै आत्मबल उच्च बनाउनु पर्दोरहेछ । साथै, नियमित डाक्टरसँग परामर्श गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

jackson ribon