birat ribon

नयाँ सरकार गठनको समयसीमा आज राति सकिँदै, विपक्षीमा जुटेन सहमति

Neuro
नयाँ सरकार गठनको समयसीमा आज राति सकिँदै, विपक्षीमा जुटेन सहमति

विराटनगर / राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज (बिहीबार) राति सकिँदै छ ।

तर सत्तासमीकरणका लागि कसरत गरिरहेको विपक्षी गठबन्धनमा भने नयाँ सरकार गठनको विषयलाई लिएर सहमति जुट्न सकिरहेको छैन । राष्ट्रपति भण्डारीले यहि वैशाख २७ गते संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्दै आज राति ९ बजेसम्मको समय दिएकी थिइन् ।

cura insider

केपी ओली शर्मा नेतृत्वको सरकारले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । समय सकिन केही घण्टामात्रै बाँकी रहँदा पनि दलहरुबीच सहमति जुट्न सकिरहेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्दै माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल तीव्र पारेका छन् । जसपाको एउटा खेमा उनको विपक्षमा छ । एउटाले मात्रै साथ दिँदा उनको नेतृत्वमा बहुमतको सरकार गठन हुन सक्ने अवस्था छैन ।

जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनको पक्षमा छैनन् । उनीहरु ओलीको समर्थनमा देखिएका छन् । सोमबार सदनमा ओलीले विश्वासको मत लिँदासमेत ठाकुर र महतोसहित जसपाका १५ सांसद तटस्थ बसेका थिए ।

विपक्षी गठबन्धनलाई जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई लगायतका नेताहरुको साथ छ । कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र यादवले नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई आग्रह गरिरहँदा जसपको अर्को खेमा विपक्षमा देखियो ।

वैशाख २७ गते राति ठाकुरले विज्ञप्ति जारी गर्दै सरकार गठन जसपाको प्राथमिकतामा नरहेको जनाएका थिए । जसपाको ठाकुर र महतो पक्षले राष्ट्रपतिलाई भेटेर अर्को पक्षले दिएको निर्णय आधिकारिक नहुने जनाउँदै सरकार गठनका लागि पत्र आए त्यसलाई वैधता नदिन पनि आग्रह गरिसकेको छ ।

सरकार निर्माणमा निर्णायक देखिएको जसपाभित्रको ध्रुवीकरणले नयाँ सरकार गठनमा अन्यौलता देखिएको छ । नयाँ सरकारका लागि एमालेभित्रको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको भूमिका पनि निर्णायक छ ।

सामूहिक राजीनामाको चेतावनी दिँदै आएको उक्त समूहका २८ सांसद ओलीले विश्वासको मत लिँदा संसदमा अनुपस्थित थिए । उनीहरूले राजीनामा दिएको खण्डमा मात्रै बहुमत पुर्याएर नयाँ सरकार बन्न सक्ने भएपछि कांग्रेस र माओवादीसहितको विपक्षी गठबन्धन जसपा तथा नेपाल र खनाल पक्षको निर्णय पर्खिएर बस्नुपर्ने अवस्थामा पुगेको छ ।

गठबन्धनको सरकार बनाउन आवश्यक रहेको एक सय ३६ सङ्ख्या पुग्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाका ३२ मध्ये कम्तीमा २६ सांसदको साथ चाहिन्छ । तर जसपाभित्रको विभाजनले समस्या ल्याएको छ । एमालेको नेपाल र खनाल पक्षले राजीनामा नदिए नयाँ सरकार गठन हुनसक्ने सम्भावना छैन ।

संविधानको धारा ७६ को (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउनु पर्ने प्रावधान छ । विश्वासको मत लिने क्रममा ओलीले जम्मा ९३ मत पाएका थिए । उनको विपक्षमा एक सय २४ मत खसेको थियो ।

तर सरकार बनाउन आवश्यक पर्ने एक सय ३६ सांसद पुर्‍याउन दलहरुलाई चुनौती छ । यस्तो अवस्थामा संसदको ठूलो दलको हैसियतमा ओली नै ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त हुने सम्भावना बलियो बनेर गएको स्रोतले बतायो ।

jackson ribon