birat ribon

निषेधाज्ञाले विपन्न वर्गको दिनचर्या कष्टकर बन्दै

Neuro
निषेधाज्ञाले विपन्न वर्गको दिनचर्या कष्टकर बन्दै
  • मोहन ढकाल / विराटनगर

विराटनगर, सरौचियाका विनोद उराँव ३३ वर्षदेखि जुत्ताचप्पल सिलाउने व्यवसाय गरेर परिवार चलाउँदै आएका छन् । गतवर्ष पनि लामो समयको लकडाउनका कारण दैनिक गुजारामा समस्या भोगेका उराँव यसपटकको निषेधाज्ञामा पनि दैनिक गुजारामा समस्या भएको बताउँछन् ।

ट्राफिक चोकमा बसेर जुत्ताचप्पल सिलाउँदै आएका उराँव निषेधाज्ञा सुरु भएपछि नौ दिन घरमै बसे । तर दैनिक गुजारा गर्न समस्या भएपछि हिजोबाट फेरि काममा निक्लिन थालेका छन् । तर निषेधाज्ञाका कारण दिनभरि बस्दासमेत सय रुपैयाँ आम्दानी नभएको उनले बताए ।

cura insider

सामान्य अवस्थामा सात जनाको परिवार राम्ररी चलेको बताउँदै उनले भने, ‘निषेधाज्ञा सुरु भएपछि केही दिन घरमा नै बसेँ, तर बिहान-बेलुकाको छाक टार्न समस्या भएपछि आएर बसेको छु, आम्दानी भने छैन । जे भए पनि, आफू भोकै बसेर भए पनि बालबच्चालाई दुई छाक खुवाउनु नै पर्‍यो ।’

सरोचियाकै रामआशीष राम पनि लामो समयदेखि ट्राफिक चोकमा बसेर जुत्ताचप्पल सिलाउने काम गर्छन् । गतवर्षको लकडाउका कारण भोगेका समस्या बिर्सन नपाउँदै पुनः निषेधाज्ञा सुरु भएपछि अबका दिनमा कसरी बिहान-बेलुकाको छाक टार्ने भन्ने पिरलो थपिएको रामले सुनाए ।

रामको ६ जनाको परिवार छ । सामान्य अवस्थामा यही पेसाबाट घरव्यवहार र छोराछोरी पढाउन पुगेको सुनाउँदै रामले भने, ‘यस्तै हो भने भोकै बस्नुपर्ने अवस्था आउन लाग्यो, निषेधाज्ञा भएपछि आठ–नौ दिन घरमै बसेँ । तर बिहान-बेलुकाको छाक टार्न समस्या भएपछि हिजोबाट काम सुरु गरेको हुँ, तीन बजेसम्म बोहनी भएको छैन ।’

कटहरी–१ की फूलोदेवी साह ठेलामा फलफूल बेचेर परिवार चलाउँदै आएकी थिइन् । ३० वर्षदेखि हटियामा गएर फलफूल बेच्ने साह निषेधाज्ञासँगै घरमा नै बसेकी थिइन् ।

बिहान-बेलुकाको छाक टार्न समस्या भएपछि उनी मङ्गलबारबाट ठेला लिएर निक्लिएकी छिन् । तर, कतै प्रहरीले दुःख दिने गरेको बताउँदै उनले भनिन्, ‘सामान्य अवस्थामा यही व्यवसायबाट छोराछोरी पढाउन र घरव्यवहार चलाउन पुग्ने गरेको थियो, तर अहिले बिहान-बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता थपिएको छ ।’

विराटनगर मधुमाराकी सरस्वती सहनी मकै बेचेर दुई छोराछोरीको पढाइसँगै परिवार चलाउँदै आएकी थिइन् । उनले आठ वर्षदेखि मकै र सब्जी बेच्दै जीविकोपार्जन गर्दै आएकी छिन् । तर निषेधाज्ञाका कारण अहिले बिहान-बेलुकाको छाक टार्नसमेत समस्या भएको उनले बताइन् ।

jackson ribon