birat ribon

चरन क्षेत्र र गोठाला अभावमा ‘एकादेशको कथा’ बन्यो भेडापालन

Neuro
चरन क्षेत्र र गोठाला अभावमा ‘एकादेशको कथा’ बन्यो भेडापालन
  • गार्डेन राई/सोलुखुम्बू

गुरुङ समुदायको मुख्य पेसाको रूपमा रहेको भेडापालन व्यवसाय लोप हुँदै जाँदा सोलुखुम्बूको थुलुङ दूधकोसी गाउँपालिका मुक्ली मैदेलकी अम्बिका गुरुङ चिन्तामा छिन् ।

चरन क्षेत्र कम हुँदै गएपछि भेडापालन छाडेको गुरुङ बताउँछिन् । पहिला–पहिला दुई सय वटासम्म भेडापालने गुरुङ समुदायमा अहिले १० वटा भेडा देख्न पनि मुस्किल छ । 

cura insider

अम्बिका भन्छिन्, ‘पहिला हाम्रो घरमा धेरै भेडा थिए, अहिले एउटा पनि पालेका छैनौँ ।’

८८ वर्षीय अम्बिका गुरुङ पहिला दुई सय वटासम्म भेडा चराउन खुम्बू, लुक्ला र सुर्केसम्म पुग्थिन् । तर अहिले गाउँका सबैले भेडापालन छाड्दै गएको देख्दा दुःख लागेको उनी बताउँछिन् । 

पहिला चरन क्षेत्र प्रशस्त थियो । तर अहिले सबै जङ्गल सामुदायिक वन भएका छन् । साथै जङ्गलमा चिराइतो खेती लगायत अन्य जडिबुटीको खेती लगाउन सुरु गरिएको छ ।

भेडाको चरनका लागि ठूलो क्षेत्रफल आवश्यक पर्छ । तर अब त्यो सम्भव रहेन । 

‘अहिले गर्मी मौसम हो, भेडाहरूलाई लेक लाने बेला भयो,’ गुरुङ भन्छिन्, ‘पहिला हामी यतिबेला भेडा लिएर लुक्लातिर लाग्थ्यौँ ।’ 

आफ्नो पुर्ख्याैली व्यवसायलाई नयाँ पुस्ताका युवाले खासै चासो देखाएनन् । नयाँ पुस्ताले नयाँ नै व्यवसाय सुरु गरिसकेका छन् । कतिले कुखुरापालन सुरु गरे भने कसैले नगदे बालीतर्फ चासो दिएको पाइन्छ । 

गुरुङ भन्छिन्, ‘छोरा नातिहरूले समय अनुसारको नयाँ पेसा–व्यवसाय गर्नु त ठिकै हो । तर आफ्नो पुरानो व्यवसायलाई पनि सँगसँगै अगाडि बढाउन सके जाती हुन्थ्यो ।’ 

भेडापालनबाट नै आफ्नो जीविकोपार्जन गर्दै आएको गुरुङ समुदायले भेडापालन व्यवसायलाई नै आय आर्जनको स्रोत मान्ने गर्थे । भेडा बेचेर आएको पैसाले गाँस, बास र कपासको व्यवस्था गरेको अम्बिका गुरुङ बताउँछिन् । 

उनी भन्छिन्, ‘अहिलेको जस्तो झलमल बिजुलीबत्ती कहाँ थियो र उहिले ? रातभरि अँध्यारोमा चर्खा अनि राँटा चलाउनुपथ्र्यो । सातु सामल बनायो अनि दिनभरि भेडा चराउन गयो । राडी, लम्पट बनाउथ्यौँ, बेचेर पैसा पनि जम्मा गथ्र्यौं ।’ 

जङ्गलमा नै गोठ बनाएर बस्नुपरेको, जुका, कीराहरूले टोकेको र पहिलाको समय साह्रै कठिनसाथ बिताएको अनुभव छ अम्बिकासँग ।

पुर्ख्याैली पेसा हराउने भयो भन्दै उनी सधैँ चिन्तित हुने गर्छिन् । आफूले ऊन काढ्न र राडी लम्पट बनाउन जाने पनि बुढ्यौली लागेर अहिले काम गर्न नसकेको उनी बताउँछिन् । 

आफ्नो पुर्ख्याैली पेसा हराउँदै गएको र कसैले वास्ता नगरेकामा उनी आक्रोशित छिन् । गर्न सके यही व्यवसायबाट अझै पनि मनग्य आम्दानी लिन सकिने उनको बुझाइ छ । 

पुर्ख्याैली पेसा हराउँदै जाँदा उनका छोरा मनकुमार गुरुङ पनि चिन्तित छन् । उनका अनुसार अहिलेका युवा पुर्ख्याैली पेसा गर्न लजाउँछन् । 

‘अहिलेका युवा सहज र सुविधा मात्र खोज्छन्, पहिला हामी जस्तो दुःख गर्न मान्दैनन्,’ उनी भन्छन्, ‘अहिले त स्थानीय सरकार आएको छ । हाम्रो यो व्यवसायलाई पनि सम्बोधन गर्न सके फेरि हाम्रो पेसाले संरक्षण पाउने थियो ।’ 

भेडापालनका लागि धेरै समय खर्चिनुपर्छ । पूरै समय नै गोठालो बस्नुपर्ने हुन्छ । भेडालाई चिसो अर्थात् जाडोको समयमा आवल र गर्मीको समयमा लेकखर्क सार्नुपर्छ । 

चरन क्षेत्र नहुनु एउटा पीडा हो भने भेडा चराउन गोठालो नपाउने अर्को पीडा हो– गुरुङ समुदायको । 

पहिले दुई सय वटा भेडा चराएबापत एक जना गोठालालाई २० वटा भेडा दिनुपर्ने चलन थियो । तर अहिले त्यतिले मात्र गोठाला जान नमान्ने गुरुङ समुदायको गुनासो छ ।

पहिला बिना पैसा नै जङ्गलमा भेडा चराउँदै आएकामा अहिले एउटा भेडाको मूल्यभन्दा बढी शुल्क तिर्नुपर्दा पनि समस्या चुलिएको छ ।

व्यावसायिक भेडापालन गर्न सके मनग्य आम्दानी लिन सकिन्छ । अहिले एउटा भेडाको मूल्य १० हजारदेखि २० हजार रुपैयाँसम्म पर्छ । यस्तै भेडाका पाठा बेचेर पनि मनग्य आम्दानी लिन सकिन्छ । 

यस्तै भेडाको ऊन र बड्क्युँलाबाट पनि फाइदा नै हुन्छ । भेडाको ऊनबाट राडी, लम्पट बनाइन्छ भने बड्क्युँला बारीमा छरेर उर्बरा बढाउन सकिन्छ । यस्तै भेडाको घ्यू आगोले पोलेको ठाउँमा लगायो भने जाती हुन्छ भन्ने मान्यता छ । 

अहिले गुरुङ समुदायको पुर्ख्याैली पेसा भेडापालन एकादेशको कथाजस्तै भइसकेको छ । पछिल्लो पुस्तालाई त खासै वास्ता नै छैन । पछिल्लो पुस्तासँग भेडापालनबारे कुरा गर्दा ‘ए हो र ?’ भन्ने उत्तर दिन्छन् । 

नयाँ पुस्ताका युवाले हाम्रा बाजेहरूले उहिले यति र उति भेडा पाल्थे रे भनेर कथा सुनाउनेसिवाय अन्य चासो छैन ।

वास्तवमा ८८ वर्षीया अम्बिकादेवी गुरुङको मात्र चासो र गुनासोको कुरा भने पक्कै होइन । यदि नयाँ पुस्ताले पनि आफ्नो पुर्खाहरूको व्यवसायलाई नै नयाँ तरिका र नयाँ स्वरूपबाट अगाडि बढाउन सके भेडापालन व्यवसाय मात्र होइन, अन्य लोप हुँदै गएका पेसा व्यवसायको पनि जगेर्ना हुने कुरामा दुईमत नहोला ।

jackson ribon