birat ribon

‘तत्काल वैकल्पिक व्यवस्था नगरे ठूलो सङ्कट देखापर्छ’

Neuro
‘तत्काल वैकल्पिक व्यवस्था नगरे ठूलो सङ्कट देखापर्छ’

काठमाडौँ / अक्सिजन उत्पादक कम्पनीहरूले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो सङ्कट नेपालमा देखापर्ने चेतावनी दिएका छन् ।

कोभिड १९ सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन अभावमा बिरामीको मृत्यु भएको तथा अस्पतालका आइसियू र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरूले भविष्यमा अझै ठूलो समस्या आइपर्ने चेतावनी दिएका हुन् । अक्सिजन उत्पादक सङ्घका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४ सै घण्टा प्लान्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताए ।

cura insider

उनले तत्काल सरकारले अक्सिजन आपूर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणाले वृद्धि हुने चेतावनी दिए । उनले सरकारले अक्सिजन आपूर्ति सहज बनाउन बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताए ।

उनले अहिले काठमाडौँ उपत्यकामा मात्रै आठवटा प्लान्ट संञ्चालनमा रहेको र दुईवटा प्लान्टहरू मर्मतको क्रममा रहेको जानकारी दिँदै सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताए । अहिले दैनिक झण्डै नौ हजार ग्यास सिलिन्डर उत्पादन भइरहेको पनि उनले जानकारी दिए ।

सगरमाथा अक्सिजन नेपाल प्रालिका अध्यक्षसमेत रहेका तिमिल्सिनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रिजमा भएका खाली सिलिन्डर उद्योगमा फिर्ता गरेर सर्वसाधारणको जीवनरक्षाका लागि सहयोग गर्न आव्हान पनि गरे ।

‘हामीले उत्पादन गरेको स्थितिले अबको बजार र माग पूरा गर्न नसक्ने स्थिति आइसकेको छ । त्यसकारण सम्बन्धित निकाय र सम्बन्धित उद्योगीहरू तयार भएर यसको विकल्प के हो ? त्यसको व्यवस्थापन गरेर हामी अगाडि बढेनौँ भने यो देशमा अक्सिजनको विषयलाई लिएर ठूलो अभाव हुने सम्भावना मैले देखेको छु,’ उनले भने ।

अक्सिजन अभावमा अस्पतालमा उपचार हुन नसकेपछि सर्वसाधारण अहिले आफन्तको उपचारका लागि आफैँ अक्सिजन उत्पादन कम्पनीमा पुग्ने गरेका छन् । सर्वसाधारण अक्सिजनको सिलिन्डर बोकेर उद्योगमा नै जान थालेपछि अहिले उद्योगको सुरक्षार्थ सुरक्षाकर्मी नै परिचालन गरिएको छ ।

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रालिमा दुई दिनदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । विशेष गरेर सरकारले सम्बन्धित निकायको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउन उद्योगहरुलाई परिपत्र जारी गरेपछि सर्वधारण उद्योग घेराउमा निस्किएका छन् ।

मन्त्रालयले अस्पतालबाहेक घरघरमा बसेका दीर्घरोगी, कोभिड भएर घरमै बसेर उपचार गराइरहेका बिरामीको आवश्यकतालाई बेवास्ता गरेको भन्दै सर्वसाधारण आक्रोशित भई अक्सिजन उद्योग घेराउमा पुगेपछि अहिले अक्सिजन उद्योगहरूमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

jackson ribon