birat ribon

विश्वमा थपिएका नयाँ सङ्क्रमितमा आधाभन्दा धेरै भारतका

Neuro
विश्वमा थपिएका नयाँ सङ्क्रमितमा आधाभन्दा धेरै भारतका

विराटनगर / विश्वभरमा २४ घण्टाभित्र कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामध्ये आधाभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन् ।

विश्वमा एकै दिन पाँच लाख ८९ हजार सात सय ३४ जना नयाँ बिरामी थपिँदा भारतमा मात्रै तीन लाख २९ हजार पाँच सय १७ जनामा कोरोना पुष्टि भएको छ । भारतलाई छाडेर विश्वका अन्य मुलुकमा दुई लाख ६० हजार दुई सय १७ जनामा सङ्क्रमण देखिएको छ । मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि भारतमा उच्च छ ।

cura insider

विश्वमा एकै दिन नौ हजार आठ सय १७ जना सङ्क्रमितको मृत्यु भयो । भारतमा मात्रै तीन हजार आठ सय ७९ जनाको मृत्यु भएको छ । नेपालसँग खुला सीमा रहेको भारत पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणको कठिन परिस्थितिको सामना गरिरहेको छ ।

सङ्क्रमण दर अत्यन्तै उच्च रहेको भारतमा गम्भीर प्रकृतिका सङ्क्रमितले उपचार गराउने ठाउँसम्म पनि पाइरहेका छैनन् । उपचार गराउने स्वास्थ्य संस्था सबै सङ्क्रमितले भरिभराउ छन् । मृत्यु भएकाको दाहसंस्कार गर्न पनि असहज भइरहेको छ । अन्त्येष्टिस्थलको अभाव भारतमा खड्किएको छ ।

अक्सिजन र औषधिको पनि अभाव हुन थालेको छ । भारतले आफै पनि कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरेर विश्वका अन्य मुलुकमा निर्यात गरिरहेको थियो । तर पछिल्लो समय कोरोनासँग नराम्ररी जुध्नुपरिरहँदा भारतको अवस्था निक्कै कहालीलाग्दो बनेर गएको छ ।

कोरोनाले भारत नराम्ररी प्रभावित बनिरहँदा त्यसको प्रत्यक्ष प्रभाव खुला सीमा रहेको नेपालमा परिरहेको छ । नेपालमा पनि दैनिक सङ्क्रमण पुष्टि हुने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । नेपालमा कोरोना नियन्त्रणका लागि भारततिरबाट हुने आवतजावत नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ ।

तर अवैध बाटोबाट हुने आवतजावत कोरोना नियन्त्रणका लागि मुख्य चुनौती बनेको छ । सबैले सावधानी नअपनाएमा र स्वास्थ्य मापदण्डको पालना नगरेमा नेपालको अवस्था पनि निक्कै भयावह बनेर जाने चेतावनी विज्ञहरुले दिएका छन् । उनीहरुले आकस्मिक कामबाहेक घरबाहिर ननिस्किन र जमघट नगर्न सबैमा अनुरोध गरिरहेका छन् । नत्र कोरोना सङ्क्रमण थप तीव्र बनेर नेपालले अरु कठिन अवस्थाको सामना गर्नुपर्ने चेतावनी उनीहरुको छ ।

नेपालमा पनि कोरोना सङ्क्रमितले प्रभावकारी उपचार पाउन सकिरहेका छैनन् । अस्पतालका बेडहरु पूरै सङ्क्रमितले भरिएका छन् । गम्भीर प्रकृतिका बिरामीले अक्सिजन पाउन सकिरहेका छैनन् । जीवनको अन्तिम अवस्थामा पनि आईसीयू र भेन्टिलेटर नपाएर सङ्क्रमितले त्यसै मृत्युवरण गर्नु परिरहेको छ ।

jackson ribon