birat ribon

विवादास्पद पेनाल्टी : पहिलोपटक रेफ्रीसँग रिसाए जिदान

Neuro
विवादास्पद पेनाल्टी : पहिलोपटक रेफ्रीसँग रिसाए जिदान

विराटनगर / रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले सेभिल्लासँगको खेलका क्रममा रेफ्रीसँग आफू धेरै रिसाएको बताएका छन् । विवादास्पद पेनाल्टीका कारण खेलमा अङ्क बाँड्नुपरेको बताउँदै जिदानले पहिलो पटक आफू रेफ्रीसँग धेरै रिसाएको उल्लेख गरेका हुन् ।

आइतबार राति स्पेनिस ला लिगामा साविक विजेता रियल सेभिल्लासँग बराबरीमा रोकिएको थियो । रियलको मैदानमा सेभिल्लाले घरेलु टिमलाई २–२ गोलको बराबरीमा रोकेको थियो । रियलको मैदानमा सेभिल्लाका लागि फर्नान्डो र इभान राकिटिकले एक–एक गोल गरे भने रियलका मार्को एसेन्सियो र इडेन हाजार्डले समान एक गोल गरेका थिए ।

cura insider

खेलको ७८औँ मिनेटमा सेभिल्लो पेनाल्टीको मौका पाएको थियो । जुन पेनाल्टीमा राकिटिकले गोल गरेका थिए । तर सो पेनाल्टी विवादास्पद बनेको थियो । रियलको डी बक्समा डिफेन्डर इडर मिलिटाओको हातमा बल लागेको भन्दै रेफ्रीले पेनाल्टी दिएका थिए । जसमा राकिटिकले गोल गरेका थिए । तर, सो बल ह्यान्डबल नभएको जिदानको जिकिर छ ।

‘म धेरै नै रिसाएको छु’, जिदानले खेलपछि भने, ‘मैले रेफ्रीलाई विवरण हेर्नका लागि भनेको छु । यो धेरै नै गाह्रो हुन्छ किनकि हामीले धेरै कुराको हकदार थियौँ तर अरू नै भइदियो ।’

‘मैले रेफ्रीबाट केही पनि कुरा बुझिनँ । यदि, त्यहाँ मिलिटाओको ह्यान्डबल थियो भने त्यसरी नै सेभिल्लाको ह्यान्डबल थियो । रेफ्रीले मलाई भनेका कुराबाट म विश्वस्त छैन । मैले यसअघि कहिले रेफ्रीबारे बोलेको थिइनँ, तर आज म धेरै रिसाएको छु,’ उनले थपे ।

यसैगरी, जिदानले ७८औँ मिनेटमा दुवैतर्फको ह्यान्डबल स्पष्ट देखिए पनि रियलविरुद्ध मात्र दिइएको उल्लेख गरे । ‘म फुटबललाई विश्वास गर्छु । म के भन्न खोजिरहेको छु भने मैले दुवैतर्फको ह्यान्डबल देखेको छु र उनीहरूले हाम्रोलाई मात्र मान्यता दिए,’ उनले भने ।

यस बराबरीसँगै रियल बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । उसले ७५ अङ्क जोडेको छ । समान अङ्क भएको बार्सिलोना तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ७७ अङ्क छ । रियल बराबरीमा रोकिँदा एथ्लेटिकोलाई फाइदा पुगेको छ । ऊ उपाधि होडमा अब्बल बनेको छ । सेभिल्ला भने ७१ अङ्कका साथ चौथो स्थानमा छ ।

jackson ribon