birat ribon

माझीसरलाई पनि नौलो अनुभव !

Neuro
माझीसरलाई पनि नौलो अनुभव !

हामी उदयपुर जिल्लाको गाईघाटका लागि राजमार्गको जलजले चोकबाट उत्तरतर्फ लाग्यौँ । उत्तरी क्षेत्रको रहनसहन, गाउँघर तथा वनजङ्गल अवलोकन गर्दै अघि बढ्यौँ ।

उत्तरतिर जति अघि बढ्यो उति धरातलीय स्वरूप र माटोको रङ पनि फरक, हावापानी पनि बिस्तारै फरक पर्दै जान्छ । बाटोको दुवैतिर रातमाटे ढिस्काहरूमा होचा खाले सालको जङ्गल देखिन्छ ।

cura insider

यस्तै भूबनोट पार गर्दै जाँदा एउटा खोला भेटियो । उक्त खोला खरक नदीको शिर रहेछ । म एकछिन उत्रेर त्यसको किनारै–किनार हर्पेटोफाउना अवलोकन गर्दै गएँ । सामान्य किथ्रे तथा आहाले भ्यागुता तथा बगैँचे छेपाराहरू यत्रतत्र पाइएको टिप्पणी नोट गरेँ ।

यतिकैमा खरकनदी शिरको पुल पुगियो । पुल तरेपछि बिस्तारी उकाली सुरु हुँदै गयो । पुलबाट उकालो सुरू भएकाले माझीसरले बाइक हाँक्न मलाई दिनुभयो । त्यसपछि उहाँ पछाडि बस्नुभयो ।

मिश्रित चुरे जङ्गलको ५० मिटरको परिधिमा सरीसृप खोज्ने प्रयास गर्दा भालेमुङ्ग्र्रोबाहेक अरू भेटिएन ।

प्राकृतिक सुन्दरताभित्र घुम्तीहरूमा रोमाञ्चित हकाइसँगै चुरेको अन्तिम उचाइ ६ सय ५० मिटर पुग्यौँ । त्यहाँ एउटा चुरिया-माईको मन्दिर पनि रहेछ । पुजारी मगर जातिका बस्दा रहेछन् ।

चुरेको त्यो उचाइबाट एकातर्फ तराई प्रदेश र अर्कोतर्फ गाईघाट भित्री मधेस छर्लङ्ङ देखिँदो रहेछ । यसर्थ प्रायः यात्रुहरू यहाँ बिसाएर सेरोफेरोको प्राकृतिक दृश्यावलोकन गर्दा रहेछन् ।

हामी पनि त्यहाँ बिसाएर जङ्गल क्षेत्रको अवलोकन गर्न थाल्यौँ । त्यो मिश्रित चुरे जङ्गलको ५० मिटरको परिधिमा सरीसृप खोज्ने प्रयास गर्दा भालेमुङ्ग्र्रोबाहेक अरू भेटिएन ।

त्यसपछि मन्दिरमा गएर देव–देवीको दर्शन गर्दै पुजारीसँग त्यस जङ्गलमा पाइने सरीसृपहरूबारे सोधखोज गर्‍यौँ । पुजारी मगर दाइ निकै फर्स्याइला र अनुभवी पनि रहेछन् । त्यस क्षेत्रको बारेमा बडो चाखलाग्दो तरिकाले केही स्थानीय आख्यानसहित हाम्रो जिज्ञासाअनुरूपको कुरा बताइदिए । त्यसपछि हामी उनलाई धन्यवाद दिँदै ओरालो लाग्यौँ ।

चिम्नीबाट निस्केको धुँवाले आकाशमा कालो तह बनाएको थियो । यसबाट वनस्पतिहरूमा प्रकाश संश्लेषण क्रिया अवरूद्ध भइरहेको तथा वायु प्रदूषण भई पर्यावरणमा नराम्रो असर पारिरहेको थियो ।

एकैछिनमा उदयपुर सिमेन्ट उद्योग पुगियो । यस क्षेत्रको पर्यावरणमाथि सिमेन्ट कारखानाले पारेको असरबारे अध्ययन गर्नुपर्ने भएकाले त्यहाँ गई उद्योग सेरोफेरोको अध्ययन–अवलोकनका लागि सम्पर्क गर्‍यौँ । तर भित्र घुम्ने समय सकिएकाले उद्योग परिसरको मात्र अध्ययन–अवलोकन गर्‍यौँ ।

प्रायः सबै रुख–बिरुवाका पात सिमेन्टको धुलोले फुस्रै भएका थिए । अर्काेतिर यसको चिम्नीबाट निस्केको धुँवाले आकाशमा कालो तह बनाएको थियो । यसबाट वनस्पतिहरूमा प्रकाश संश्लेषण क्रिया अवरूद्ध भइरहेको तथा वायु प्रदूषण भई पर्यावरणमा नराम्रो असर पारिरहेको कुरा फिल्ड नोटबुकमा टिपेँ ।

यसरी अध्ययन गर्दा गर्दै झमक्क साँझ पर्न लागेकोले सीधै जलजले निस्क्यिौँ । जलजलेबाट गाईघाटतर्फ जाँदैगर्दा ढल्के चोकछेउमा मेरी भतिजी शारदा पो ‘हैन अङ्कल कहाँ जानुभएको ? हामी त यतै थियौँ नि !’ भन्दै हाँसीरहेकी देख्यौँ ।

हामीले अघि बढिसकेको बाइक घुमायौँ । ‘तिमीहरूको ठाउँ थाहा नभएकाले गाईघाट गएर तिमीहरूबारे सोधखोज गरौँला भनेर हिँडेका थियौँ,’ फर्केर नजिक पुग्दै मैल भनेँ, ‘लौ, कता हो घर, जाऊँ ।’

शारदाले एउटा ठुलो बरको रुखको माथिल्लोपट्टि पुर्‍याइन् । त्यहाँ एउटा सानो चिटिक्क परेको घर थियो । त्यही घर थियो मेरी माइली फुपूको ।

स्थलगत अवलोकन गर्दै २०५६ सालमा अनुसन्धानकर्ता

माइली फुपूको जेठो छोरा, मेरो भान्जेदाइ दानबहादुर राई हुनुहुन्छ । हामी दामाली पनि भएकोले बाल्यावस्थादेखिकै साथी र सहयोगी पनि हौँ । उहाँ पनि घरमै हुनुहुँदोरहेछ ।

म आएको थाहा पाएर फुपू बाहिर निस्कनुभयो । मैले ढोगिदिएँ । माझीसरले पनि नमस्कार गर्नुभयो ।

हामी अचानक पुगेकोमा फुपूले आश्चर्य र हर्ष दुवै व्यक्त गर्नुभयो । भान्दाइ–भाउजुहरूसँग ढोगभेट भयो । साँझ परिसकेको थियो । बेलुकी म अब केही वर्षको लागि पिएचडी (विद्यावारिधि) अध्ययन–अनुसन्धानतर्फ लागेको कुरा फुपू र भान्दाइलाई भनेँ ।

‘तेरो पढाइ कहिले सकिएन हो कि !’ फुपूले भन्नुभयो ।

त्यो रात हामी त्यहीँ बस्यौँ । मलाई बनौलामा नयाँ अनुभव भएजस्तै माझीसरलाई पनि पहाडी जनजीवनबारे नौलो अनुभव हुने भयो भन्दै गफ गर्दै हामी विश्राम गर्नतिर लाग्यौँ ।

क्रमशः
मेरो अनुसन्धान यात्राबाट

jackson ribon