birat ribon

कालिमाटी तरकारी बजारकोे व्यापारमा ५० प्रतिशत गिरावट

Neuro
कालिमाटी तरकारी बजारकोे व्यापारमा ५० प्रतिशत गिरावट

काठामाडौँ / सरकारले कोभिड १९ रोकथामका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ ।

निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै नौ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले चारदेखि पाँच सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ । सामान्य अवस्थामा दुईदेखि तीन करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रीको कारोबार र मूल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि ह्रास आएको हो ।

cura insider

तरकारी कम आएको भए पनि मूल्य भने बढेको छैन । सामान्यतया तरकारी कम आउनेबित्तिकै बिक्री मूल्य बढ्ने भए पनि यसपटक भने तरकारी किन्ने उपभोक्तामा पनि कमी आएकाले मूल्यमा पनि गिरावट आएको हो ।

तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खुद्रा उपभोक्ताहरुको पनि संख्यामा ५० प्रतिशतले कमी आएको छ । सर्वसाधारणलाई हिँडडुल गर्न सरकारले रोक लगाउनुका साथै तरकारी खरिद बिक्रीका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमी आएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका सहायक कार्यकारी निर्देशक अर्जुनप्रसाद अर्यालले सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबारमा झण्डै ५० प्रतिशतले गिरावट आएको बताए । उनले सामान्य अवस्थामा झण्डै नौ सय ५० मेट्रिक टन हरियो तरकारी आउने गरेकोमा अहिले चारदेखि पाँच सय मेट्रिक टनमा झरेको बताए ।

अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौला, लौकालगायत सिजनका तरकारीहरु नेपाली उत्पादनका आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ ।

समितिले स्थानीय तहसँगको समन्वयमा जुनसुकै समयमा कालिमाटीमा तरकारी ल्याउनसक्ने व्यवस्था मिलाएको छ । तर खरिदबिक्रीका लागि भने राति १ बजेदेखि बिहान ९ बजेसम्मको समय तोकेको छ । यसअघि कालिमाटी बजारमा राती ३ बजे देखि किसान तथा व्यवसायीले तरकारी ल्याउने गरेका थिए । किसान, उत्पादक तथा व्यवसायीले खरिदबिक्रीका लागि रातिको समय लम्ब्याएको भए पनि समयमै तरकारी आउन नसकेको व्यापारीको गुनासो छ ।

२०५२ सालदेखि कालिमाटी तरकारी बजारमा तरकारी बेच्दै आएका व्यापारी शिवकृष्ण खड्कीले हरियो तरकारी समयमै बेच्न नसक्दा बिग्रिएर कुहिने भएकाले तरकारी खरिद बिक्रीका लागि समय निर्धारण गरिनु दुखद भएको प्रतिक्रिया दिए । उनले निषेधाज्ञापछि हरियो तरकारीको मूल्यमा ५० प्रतिशतले कमी आएको र खरिदका लागि आउने व्यापारी र उपभोक्तामा पनि कमी आएको बताए ।

यसैबीच, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कोभिड महामारीबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पालनामा सहजीकरण गर्ने अभियानस्वरुप सूचना प्रकाशन, माइकिङ गरेर भिडभाड नगर्न र दूरी कायम गर्न सचेत गराउने काम पनि गर्दै आएको छ ।

समितिले बजारभित्र ठाउँमा स्वास्थ्य सर्तकता मापदण्ड अपनाउ आग्रह गर्दे पम्प्लेट टाँसेको छ । त्यसैगरी साबुनपानीले हात धुने व्यवस्था पनि मिलाएको छ ।

jackson ribon