birat ribon

कल्पना राईको यात्रा : भरियादेखि नगर उपप्रमुखसम्म

Neuro
कल्पना राईको यात्रा : भरियादेखि नगर उपप्रमुखसम्म
  • गार्डेन राई/सोलुखुम्बू

बुबा गुमानसिंह राई र आमा सञ्चमाया राईको दोस्रो सन्तानको रुपमा सोलुखुम्बूको सोताङ गाउँपालिकामा जन्मिएकी कल्पना राई अहिले सोलुदूधकुण्ड नगरपालिकाकी उपप्रमुख हुन् । 

निम्नवर्गीय परिवारमा जन्मिएकी राईले बाल्यकालमा भरियादेखि उपप्रमुख हुँदासम्मको यात्रामा निकै चुनौती, सङ्घर्ष अनि पीडा खेपेकी छिन् । 

cura insider

दोस्रो सन्तानको रुपमा जन्मिए पनि भाइबहिनीको रेखदेखदेखि घरव्यवहार चलाउनुपर्ने ठूलो जिम्मेवारी उनको काँधमा थियो ।

घरमा कमाउने कोही पनि नभएपछि सानै उमेरदेखि घरको जिम्मेवारीका कारण आफूभन्दा गह्रौँ भारी बोकेर पैसा कमाउनका लागि कहिले नाम्चे–लुक्ला कहिले जिरी त कहिले घुर्मी–कटारी गर्थिन् । 

बुबा परदेश हुँदा आफूले घरको जिम्मेवारी पूरा गर्थिन् । बिहानभरि खेतबारीमा काम गर्‍यो, स्कूल गयो । अनि ४ बजेपछि छुट्टी हुनासाथ फेरि बिहान छाडेको काममा खेतबारी गयो । 

रातभरि कुपी (मट्टीतेल हालेर बालिने) बालेर पढ्यो । यसैगरी बाल्यकालका हरेक दिन दुःखमा नै बिते उनका ।

‘बुबा पैसा कमाउन भारी बोक्न जानुभएको थियो, घरमा बाँझो बारी जोत्नुपर्ने, कोही थिएनन्,’ उनी भन्छिन्, ‘म आफैँ जोत्छु भनेर आँट गरेँ । तर छोरीले जोत्न हुन्न भन्ने भनाइ थियो । तैपनि आँट गरेर जोत्न सुरु गरेँ ।’

तर उनी सानै थिइन् । गोरुलाई लयमा ल्याउन सक्ने बल थिएन । उल्टै गोरुले दुई कान्ला तल फालिदियो । 

बाल्यकाल रमाइलो हुन्छ भनेर अरूले भनेको सुनेको भए पनि आफ्नो बाल्यकाल भने दुःखैदुःखमा बितेको उनी बताउँछिन् ।

आफू चार–पाँच वर्ष उमेरको हुँदा मात्र दसैँतिहार मनाएको याद छ उनलाई । ६ वर्षको उमेरमा भारी बोक्न सुरु गरेदेखि दसैँतिहार मनाएको सम्झना छैन । 

उनी भन्छिन्, ‘एक–दुई पटक अलिअलि याद छ दसैँको । दसैँमा स्कूलको ड्रेस लगाएर टीका लाउने चलन थियो । एकपल्ट आमाबुबाले घाँघर किन्दिनुभएको थियो । घाँघर देखाउन गाउँभरि डुलेको याद छ ।’ 

दसैँ तिहार अनि बर्खे बिदाको मौकामा हरेक वर्ष नाम्चे लुक्ला गर्नुपथ्र्यो उनले– आफूभन्दा गह्रौँ भारी बोकेर । 

सात कक्षामा पढ्दै गर्दा १२ वर्षकी थिइन् उनी । बिदाको मौका पारेर बुबासँग टे«किङ गइन् । तर हाइ (लेक) लागेर टे«किङ जान नसकेपछि लुक्लाको एउटा होटलमा भाँडा माझ्ने काम गरिन् ।

करिब दुई महिनापछि बुबा टे«किङबाट फर्केपछि बुबासँग घर फर्किइन् । होटलको साहुले दुई महिना काम गरेको पाँच सय रुपैयाँ दिएको उनलाई सम्झना छ । 

उनी भन्छिन्, ‘मेरो पहिलो कमाइ थियो त्यो पाँच सय रुपैयाँ । आइस जमेको ठाउँमा भाँडा माझेर कमाएको कमाइ खुसी हुँदै बुबालाई दिएँ । कति धेरै पैसा कमाएको जस्तो लाग्यो, त्यसपछि अझै पैसा कमाउने रहर जाग्यो ।’

त्यसअघि भारी बोके पनि त्यसको पारिश्रमिक उनले पाउँदिनथिन् । उनकै बुबाले लिन्थे कि लिँदैनथे– थाहा छैन ।

त्यसपछि भने उनले भारी बोकेको पैसा आफैँले पाउन थालिन् । अरूको भरिया बनेर ६० धार्नीसम्म बोकेर लुक्ला–नाम्चे गरिन् कैयाँैपटक । एक धार्नी बोकेको ४० रुपैयाँ हुन्थ्यो । पछिपछि ५० रुपैयाँ धार्नी पुगेको थियो ।

भारी बोकेर जाने क्रममा कतिपय घरमा ढाक्रे भनेर बास नपाएको उनी सुनाउँछिन् । बल्ल बास पाउँदा पनि पाँच रुपैयाँ किराया तिर्नुपर्ने भएका कारण ओडारमा बास बस्ने गरेको उनको अनुभव छ । 

हावा, पानी, अन्य वन्य जीवजन्तुको डरसँगै ओडारमा आधा रात निदाएपछि डरले कतिपय रात ननिदाईकन छर्लङ्ग पारेको सम्झिन्छिन् ।
 
सुरुमा अरूको भरिया बनेकी उनले १६ वर्षको उमेरदेखि आफैँ व्यापार गर्न थालिन् । खोटाङको ऐँसेलुखर्कबाट ४० रुपैयाँ प्रतिपाथी कोदो किनेर एक मुरी कोदो बोकेर लुक्ला पुर्‍याएर दुई सय रुपैयाँ प्रतिपाथी बेच्न थालिन् । 

कोदो बेच्दाबेच्दै बङ्गुर, कुखुरा, कुखुराको अण्डा बेचेर व्यापार बढाउँदै लगिन् । व्यापार फस्टाउँदै गएपछि अदुवा र किनिमा (भटमासबाट बन्ने एक प्रकारको अचार) को व्यापार पनि गरिन् । 

लामो बिदाको बेला लुक्ला–नाम्चे अनि शनिबार र अन्य समयमा छुट्टीमा गाउँकै धनाढ्यको घरमा खेताला गएर दिनको ४० रुपैयाँसम्म कमाएको उनी सुनाउँछिन् । 

गाउँका अरू मान्छे जिरीबाट लुक्ला, नाम्चेसम्म सामान लगेर बेच्ने गरेका कारण उनी पनि ठूलोबुबाको साथ लागेर जिरीबाट सामान लगेर नाम्चे, लुक्लामा बेच्न सुरु गरिन् ।

पहिला आफैँले मात्र सामान लगेर बेचे पनि पछि आफैँले अरू भरिया समेत थपेर व्यापार गर्दै पैसा कमाउन थालिन् । 

स्कूल पढ्दै भारी बोकेर पैसा कमाउने उनको दैनिकी नै बनेको थियो ।

२०५६ सालमा अनेरास्ववियुका अध्यक्ष डिल्ली राई कमिटी गठन गर्न सोताङ पुगे । कक्षाको फस्ट, सेकेन्ड विद्यार्थीलाई जम्मा गरियो । कल्पना राई भारी बोक्दै भए पनि सधैँ फस्ट नै हुन्थिन् । त्यो समूहमा कल्पना राई पनि परिन् ।
 
त्यहाँ अनेरास्ववियु पढ्न जान्नेहरूको सङ्गठन हो, जसले विद्यार्थीहरूको हकहितका लागि काम गर्छ भनिएको थियो । उनलाई थाहा थिएन, अनेरास्ववियुको कमिटी गठन गरिँदै छ भनेर । 

कक्षाको फस्ट अनि अन्य क्रियाकलापमा सधैँ सक्रिय र सदनको नेता पनि भएका कारण उनलाई अध्यक्ष बनाएर डिल्ली राई परिचयपत्र बाँडेर त्यहाँबाट फर्केको उनी बताउँछिन् । 

पछि भारी बोकेर लुक्ला जाने क्रममा परिचय पत्र उनको गोजीमा थियो । द्वन्द्वकाल भएकाले ठाउँ–ठाउँमा प्रहरीको चेकिङ हुन्थ्यो । त्यही चेकिङका क्रममा उनको गोजीमा रहेको परिचय पत्रका कारण उनलाई माओवादीको मान्छे मानेर प्रहरीले गिरफ्तार गर्‍यो ।

चौकीमा राखेर केरकारसँगै शारीरिक यातना समेत दिइयो उनलाई । उनी भन्छिन्, ‘म अलि बोल्नमा कडा । जति बोल्यो त्यति पिट्थ्यो । मसँगै गाउँको एकजना दाइलाइ थुनेको थियो । दाइलाई मेरै अगाडि गाली हानेर हत्या गर्‍यो ।’

नौ दिनका दिन ठूलोबुबाले गाउँका ४० जना जति मानिस लिएर प्रहरी कार्यालयमा गएर उनी माओवादी नभएको र नेकपा एमालेको भ्रातृसङ्गठनको मान्छे हो भनेर छुटाएको उनी बताउँछिन् ।

‘त्यसपछि मात्र म नेकपा एमालेको जनवर्गीय सङ्गठनमा रहेछु भन्ने थाहा पाएँ,’ उनी भन्छिन्, ‘मलाइ के थाहा ? विद्यार्थीको हकहितका लागि बनाएको सङ्गठन हो भन्थे । आफूलाई किन यो पार्टीमा सङ्गठित गरियो भन्ने पनि थाहा नपाई अध्यक्ष भएको रहेछु ।’

त्यसपछि उनी पार्टीमा खुलेरै लागिन् । ‘सङ्कटकाल भएका कारण त्यो समयमा कुनै पार्टीमा सङ्गठित हुन पनि डर थियो । कुनै समयमा माओवादीले सुरुङ खन्न लाउने, माओवादीमा लाने ।’ 

सोताङबाट सदरमुकामको यात्रा

एसएलसी परीक्षा दिएपछि उनका सहपाठी कोही के पढ्ने भनेर तयारीमा लागे, कोही सीप सिक्न विकल्प खोजिरहेका थिए । तर कल्पनाको अरूको भन्दा ठिक विपरीत थियो । 

२०६० सालमा एसएलसी दिएर रिजल्ट आउने समयसम्म भारी बोकेर पैसा कमाउने योजना बनाइन् । त्यसपछि जिरीबाट भारी बोकेर गाउँ फर्किने क्रममा सचिवालय सदस्य सोताङका जुद्धबहादुर कार्कीसँग सदरमुकाम सल्लेरीमा भेट भयो । 

उनीसँगको भेटमा जागिरका लागि पहल गरिदिने कुरा भयो । जुद्धबहादुर साइनोले कल्पनाका काका पर्थे । उनले भारी पुर्‍याएर आउनु भनेपछि उनी गाउँ पुगेर पुनः सदरमुकाम फर्किइन् । 

लामो समयको पर्खाइपछि उनले माउन्ट एभरेस्ट सेकेन्डरी बोर्डिङ स्कुलमा जागिर पाइन् । करिब तीन वर्षसम्म शिक्षण पेसा गरेपछि फेक ओपन (सामुदायिक वनसँग सम्बन्धित काम गर्ने संस्था) मा काम गर्ने अवसर पाइन् । 

त्यही संस्थामा काम गर्दागर्दै त्यहीँबाट कमाएको कमाइसँगै व्यापारबाट जम्मा गरेको पैसाले सदरमुकाममा जग्गा किनेर आफ्नो नाममा पास गरिन् । 

स्टाफ नर्स बन्ने चाहना थियो– उनको । तर के पढेर नर्स बनिन्छ भने थाहा थिएन । पछि नर्स बन्न यो विषय पढ्नुपर्ने रहेछ भनेर थाहा पाउँदा उनको उमेर कटिसकेको थियो । 

राजनीतिक यात्रा

पहिला स्कुलमा हुँदा नै प्रारम्भिक कमिटीको अध्यक्ष भइसकेकी कल्पना राईलाई अन्य पदमा पुग्न चुनौती भए पनि काम गर्न भने उनलाई रहर थियो ।

पछि जिल्ला सम्मेलनका क्रममा सदरमुकाम सल्लेरीमा सम्मेलन आयोजक कमिटीको चौथो सम्मेलनको चुनाव हुँदै थियो । त्यही क्रममा आफ्नो भनाइसँगै गुनासो राख्ने क्रममा उनले प्रारम्भिक कमिटीमा हुँदाको सबै गुनासो, पीडा भन्ने मौका पाइन् ।

उनको योगदान अनि क्षमताको कदर गर्दै उनलाई सम्मेलन आयोजक कमिटीको चौथो सम्मेलनको चुनावबाट सचिव पदमा निर्वाचित गराइयो । 

त्यसपछि २०६४ सालतिर पार्टीको महिला इन्चार्ज भएर गाउँमा पुगेर अनेम सङ्घको समिति गठन गर्न सुरु गरिन् । 

ज्यान जोखिममा राखेर ३४ वटा गाविस पुगेर सङ्गठन निर्माण गर्दै अखिलको सम्मेलनमा पुनः सचिवमा निर्वाचित भइन् ।

२०५८ सालदेखि अनेरास्ववियुको प्रारम्भिक कमिटीमा काम गरेको, त्यसपछि तहगत रुपमा अधिवेशनको जिल्ला सचिव, केन्द्रीय सचिव, जिल्ला कमिटीमा सदस्य, पार्टीको सचिवालय सदस्य, महिला इन्चार्ज हुँदै अहिले पार्टीको केन्द्रीय सदस्य भएर काम गरिरहेको उनले बताइन् । 

वैवाहिक जीवन

२०६५ सालमा उनले वीरउदास श्रेष्ठसँग अन्तरजातीय विवाह गरिन् । अन्तरजातीय विवाह गरेकै कारण श्रीमानको घर अनि माइतीबाट समेत स्वीकार भएन ।

एउटै पार्टीमा आबद्ध भएका कारण उनीहरूको प्रेमविवाह भयो । त्यसपछि माइती अनि घर जाने वातावरण भएन । विवाह गरेको धेरै समयसम्म समस्यामा नै दिनहरू बितेको उनी सुनाउँछिन् । 

२०६६ सालमा छोरा जन्मिएपछि माइतीमा आमाले दसैँमा टीका लगाउन निम्तो दिइन् । आमाले बोलाए पनि बुबाले अझै स्वीकारेका थिएनन् ।

तर समय बित्दै गएपछि पारिवारिक स्थिति अनि राजनीति दुवैमा केही अगाडि बढेपछि दुवै परिवारले स्वीकारेको उनी बताउँछिन् । 

उपप्रमुखको यात्रा

अनेरास्ववियुकोे जिल्ला सचिव हुँदा केन्द्रीय सदस्यमा जितेको, स्ववियु कमिटीको सचिवमा तीन भोटले हारेको त्यसपछि पार्टीमा आबद्ध भए पनि चुनावको अन्य अनुभव थिएन उनीसँग । तर पनि स्थानीय तहमा नगरपालिकाको उपप्रमुखका लागि चुनाव लड्ने उनले आँट गरिन् । 

देश सङ्घीयतामा गएपछि जनप्रतिनिधि छनौटका क्रममा आफूले पनि उपप्रमुखका लागि दाबी गरिन् कल्पनाले ।

उपप्रमुखका लागि नौ जनाले दाबी गरेकामा पछि पाँच जनाले नाम हटाएपछि बाँकी चार जनाको नाम थियो । जिल्लाबाट लामो समयसम्म उपप्रमुखका लागि नाम टुङ्गो नलागेपछि प्रदेशमा नाम पुर्‍याउनुपर्‍यो । 

नगरपालिकामा शेर्पा बस्तीको बाहुल्य भएको र आफू किराँत भएका कारण जातीय कुरालाई लिएर चुनाव जित्न सक्दिन भन्ने हिसाबले टिकट पाउने सम्भावना न्यून थियो ।

लामो समयपछि उम्मेदवारको टुङ्गो लाग्यो । क्षमता, सक्रियता र योगदानका आधारमा टिकट पाइन् कल्पनाले । 

उनी भन्छिन्, ‘टिकट पाउन पनि निकै गाह्रो भएको समयमा टिकट पाउनु नै एक किसिमले मेरा लागि चुनाव जिते जस्तो महसुस भएको थियो ।’

आर्थिक कठिनाइका बाबजुद अनि शेर्पाको एरियामा किराँती उम्मेदवार भएका कारण पनि चुनाव जित्दिनन् भनेर धेरैले अड्कल काटेका थिए । तर पनि आफू निडर भएर निर्वाचन लडेको उनी बताउँछिन् । 

१० वटा वडामा चुनाव हुँदा आफूले उपप्रमुखमा जितेको उनले सुनाइन् । सोताङ जस्तो विकट ठाउँमा जन्मिएर सदरमुकाम क्षेत्रमा निर्वाचनमा जाने अठोट लिएर निर्वाचित भएकामा आफू गौरवान्वित भएको उनी बताउँछिन् । 

‘मैले गरेका कामकै मूल्याङ्कनका आधारमा सम्मान प्राप्त गर्ने अवसर पाएकी छु । अस्ति भर्खरै प्रवल जनसेवा श्री पदकबाट सम्मानित भएकी छु, यो मेरा लागि अझ अन्य काम गर्ने प्रेरणा अनि हौसलाको स्रोत हो ।’

उपप्रमुख भएर काम गर्दैगर्दा निकै नै चुनौती सामना गरिन् उनले । कहिले उपप्रमुखलाई बोल्न नदिने, उपप्रमुखलाई विभिन्न निहुुँमा हमला गर्ने, क्षमतामा प्रश्न गर्नेलगायत समस्यासँग हरेक बैठकमा जुध्नुपरेको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘देश सङ्घीयतामा गएपछि सङ्घीय गणतन्त्र नेपालको सोलुखुम्बू जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्डको पहिलो उपप्रमुख बन्न पाउनु गौरवको विषय हो । म जनताको पक्षमा रहेर काम गर्दा जस्तोसुकै बाधाअड्चन आओस्, सामना गर्न तयार छु ।’

‘यति भन्दाभन्दै पनि कहिलेकाहीँ बेकारमा जितेँछु, हारेको भए पनि हुने रहेछ भनेर आत्मग्लानि पनि हुन्छ,’ उनी भन्छिन्, ‘पार्टीको साथ सहयोग भए पनि आफ्नो पार्टीबाट जितेको जनप्रतिनिधिले साथ नदिएको तीन वर्ष, अर्को पार्टीले जितेको यो तीन वर्ष पीडादायक अनि सङ्घर्षमय छ । तर प्रतिपक्ष भएर काम गर्न पाउँदा चुनौतीका बाबजुद पनि खुसी प्राप्त भएको अनुभव गर्छु ।’

आजसम्मको योगदान अनि अनुभवलाई लिएर अब बाँकी समय केही जिम्मेवारी पाएमा बहन गर्ने तथापि पार्टीको सदस्य बनेर निरन्तर राजनीति क्षेत्रकै यात्रा तय गर्ने योजना रहेको उनले सुनाइन् । 

‘बिनाचुनौती र सङ्घर्षको जीवन पनि के जीवन ? गरिरहेको काममा पनि चुनौती खडा होस्, अनि त्यसलाई चिर्दै पार गरेको बाटो हिँड्न पो रमाइलो हुन्छ,’ उनी भन्छिन् । 

महिला भएकै कारण धेरै ठाउँमा चुनौतीहरू बेहोर्नुपरेको छ उनले । ‘कहिले क्षमतामा प्रश्न, कहिले कामकारबाहीमा । बोलीले होइन, कामले उत्तर दिने प्रयास गरिरहेकी छु । यात्रा निरन्तर छ, रहिरहने छ ।’

jackson ribon