birat ribon

नेपालीको जग्गा हडप्न खोजेको आरोपमा भारतीय नागरिक विराटनगरबाट पक्राउ

Neuro
नेपालीको जग्गा हडप्न खोजेको आरोपमा भारतीय नागरिक विराटनगरबाट पक्राउ

विराटनगर / नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले विराटनगरबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाली नागरिकको जग्गा हडपेर आफ्नो नाममा पार्ने प्रयास गरिरहेका भारतको अररिया जिल्लास्थित नरपतगञ्जका बासिन्दा अनिरुद्ध शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सोमबार राति १० बजेतिर विराटनगर महानगरपालिका–५ चाँदनी चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँग नेपालको नागरिकता पनि छ । भारतीय नागरिक हुँदाहुँदै कीर्ते गरेर सुनसरीको दुहवीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको पुष्टि भएपछि शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

cura insider

आफू नेपाली नागरिक भएको गलत विवरण पेस गर्दै नेपाली नागरिकता लिएका उनलाई कारवाहीको माग राखेर सुनसरीस्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

उजुरी परेको थाहा पाएपछि उनी दुई सातादेखि फरार थिए । तर लुकिछिपी विराटनगर आएपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई छुटाउनका लागि कानुन व्यवसायीदेखि लिएर राजनीतिक दलका नेता र समाजसेवीका नाममा समेत दवाव आउन थालेको प्रहरी स्रोतले बतायो ।

शर्माको नाममा रहेको नेपाली नागरिकता बदरका लागि गृह मन्त्रालयमा सिफारिस गरेर थप कारवाही अघि बढाउन प्रशासनबाट पनि अनुसन्धान अघि बढाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

‘भारतीय नागरिक पुष्टि हुने कागजातसहित उजुरी परेपछि पक्राउ गरिएको हो,’ उनले भने, ‘झुटो विवरण बुझाएर नागरिकता लिएको देखियो । ढकालका अनुसार भारतीयलाई नागरिकता दिलाउने भूमिकामा रहेका सबै जना तथा नेपाली नागरिकता लिएको पुष्टि भएमा परिवारका अरू सदस्यलाई पनि कारवाहीको दायरामा ल्याइने छ ।

जिल्ला प्रशासन कार्यालयले खटाएको नागरिकता वितरण टोलीमार्फत सुनसरीको दुहवी–६ बाट २०६३ साल माघ ७ गते नेपाली नागरिकता लिएका शर्मा परिवारसहित विराटनगर महानगरपालिका–५ चाँदनी चोकमा बस्दै आएका थिए ।

प्रहरीले शर्मालाई पक्राउ गरेर कारवाही अघि बढाउनका लागि आइतबार जिल्ला अदालत सुनसरीबाट अनुमति लिइएको थियो । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले नागरिकता ऐनअन्तर्गत कारवाही अघि बढाउन अदालतबाट मङ्गलबार नै म्याद थप गरेर पक्राउ परेकालाई हिरासतमा राख्दै बाँकी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

मोरङ प्रहरीले उनलाई पक्राउ गरी सुनसरी प्रहरीलाई बुझाएको थियो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार पक्राउका क्रममा शर्मा र उनको परिवारका सदस्यले प्रहरीमाथि दुर्व्यवहार गरेका छन् ।

गत फेब्रुअरी १५ मा भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको भारतीय मतदाता नामावलीमा नाम समावेश रहेका उनको जन्ममिति सन् १९६२ जनवरी १ छ । उनको नाममा एसपीजे ०२३९३३५ नम्बरको भारतीय मतदाता परिचयपत्र छ ।

कवाडीको काम गर्न शर्मा भारतबाट २०५० सालमा नेपाल छिरेर सुनसरीको दुहवीमा बस्न थालेका थिए । २०५५ सालमा दुहवीकै महिलासँग बिहे गरेका उनले जन्मसिद्धका आधारमा ०३३००९÷३२५ नम्बरको नेपाली नागरिकता लिएका थिए ।

नेपाली नागरिकतामा उनको जन्म मिति २०२७ भदौ ११ गते उल्लेख छ । भारतीय मतदाता परिचयपत्रका आधारमा उनको उमेर ५९ वर्ष भए पनि नेपाली नागरिकताका आधारमा भने उमेर ५१ वर्ष मात्रै हुन्छ । भारतमा बुवा मुन्नर शर्माको नामबाट नागरिकता लिएका उनको नेपालमा बुबाको नाम मुनरलाल शर्मा उल्लेख छ । आफ्नो नाम पनि भारतमा अनिरुद्ध शर्मा र नेपालमा अनिरुद्र शर्मा भनेर लेखाएको पुष्टि भएको छ ।

सुनसरीबाट खटिएको नागरिकता वितरण टोलीका प्रमुख पुन्यराज भट्टराईले उनलाई नागरिकता दिलाएको देखिन्छ । शर्माले विराटनगर–५ मा उत्तमकुमार रायकी श्रीमती सीतादेवी रायको नाममा रहेको एक कट्ठा आठ धुर जग्गा हड्प्न कीर्ते नेपाली नागरिकताको आडमा नेपालकै अदालतमा मुद्दामामिला गरिहेका थिए ।

उत्तमकुमारले कित्ता नम्बर २९३८ नम्बरको एक कट्ठा आठ धुर जग्गा प्रमिलादेवी साहसँग २०६५ सालमा खरिद गरेर श्रीमती सीतादेवीको नाममा राखेको देखिन्छ । मितेरी साइनोमा जोडिएका शर्मालाई उत्तमकुमारले त्यही जग्गामा आवश्यकता परेका बेला खाली गरिदिने शर्तमा एउटा घर बनाइदिँदै २०६६ सालबाट बस्ने व्यवस्था मिलाइदिएको स्थानीयको भनाइ छ । तर खाली गर्न अटेर गरेका शर्माले उल्टै जग्गा आफ्नो भएको दाबीसहित वडा कार्यालयमा निवेदन दिएका थिए ।

वडामा भएको छलफलमा जग्गा आफ्नो नाममा रहेको कुनै आधार र प्रमाण पु¥याउन नसकेपछि २०७६ साल चैत मसान्तसम्ममा खाली गरिदिने सहमति उनले गरेका थिए ।

विराटनगर महानगरपालिकाको न्यायिक समितिले जग्गा सीतादेवीकै भएको ठहर २०७७ साउन ५ गते गरेको थियो । तर शर्माले जग्गा आफ्नो भएको दाबी गर्दै जिल्ला अदालत मोरङमा उत्तमकुमारलाई प्रतिवादी बनाएर २०७७ असोज २ गते रिट दायर गरेका थिए ।

न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले गत पुस २० गते स्थानीय न्यायिक समितिको निर्णय कानुनबमोजिम नै रहेको र त्यो नै सदर हुने फैसला गरेको थियो । शर्माले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दिए । भारतीयले नेपालीको जग्गामा आफ्नो हकदाबी गरेर दायर गरेको मुद्दा अहिले उच्चमा विचाराधिन छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: