birat ribon

कोरोना नियन्त्रणका लागि गल्ली र टोल–टोलमा खटिँदै सुरक्षाकर्मी

Neuro
कोरोना नियन्त्रणका लागि गल्ली र टोल–टोलमा खटिँदै सुरक्षाकर्मी

विराटनगर / कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि नेपालमा निक्कै सक्रिय तरिकाले लागिरहेका सुरक्षाकर्मी आज (मङ्गलबार)देखि गल्ली र टोल–टोलमा खटिने भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिने भएको हो । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चौबीसै घण्टा गल्ली र टोल–टोलमा सुरक्षाकर्मी खटाइने घोषणा गरेका थिए ।

cura insider

प्रधानमन्त्रीको भनाइ छ– ‘जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिनेछ ।’

प्रधानमन्त्री ओलीले जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्ने तथा परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने पनि जानकारी दिएका थिए । उनकै घोषणा अनुसार सुरक्षाकर्मीले थप सक्रियता देखाउने भएका हुन् ।

ओलीले सरकारले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा लिनेसमेत बताएका छन् । यसका साथै स्वास्थ्यकर्मी, चालक, सहचालक, सफाइकर्मीलगायत कोरोना नियन्त्रणमा खटिनेहरूलाई सुरुको तलब स्केलको ५० प्रतिशतले हुन आउने रकम बराबर प्रोत्साहन भत्ता दिने पनि प्रधानमन्त्रीले घोषणा गरेका छन् ।

उनीहरूका परिवारको उपचार र बीमाको व्यवस्था गरिने भएको छ । प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र ज्यान नजाओस् भन्नेमा सरकार सचेत रहेको बताउँदै सङ्घीय सरकार, प्रदेश र पालिकाहरूमा विभिन्न तहका अस्पताल बनाउने काम भइरहेको पनि जानकारी दिए ।

वीर अस्पतालको नयाँ भवन, सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल र अन्य केही ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा विकास गरिने उद्घोष प्रधानमन्त्रीले गरेका छन् । यस्तै नेपाली सेनालाई एक हजार शय्याको अस्पताल बनाउन निर्देशन दिइएको पनि प्रधानमन्त्रीले जानकारी दिए ।

साथै पार्टी प्यालेस, विद्यालय, रङ्गशाला हल, होटल, कारखाना, गोदाम घरलगायतलाई क्वरेण्टीन, आइसोलेशन, होल्डिङ सेन्टर बनाउने ओलीको भनाइ छ । देशभरका ठूला अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, भएका प्लान्टको क्षमता बढाउने र बिग्रेका प्लान्टको मर्मत गर्न निर्देशन दिइएको प्रधानमन्त्रीले बताए ।

अस्पतालले हरेक दिन आफूसँग भएका शय्याको बारेमा स्वास्थ्य मन्त्रालयलाई रिपोर्ट पठाउनुपर्ने र शय्या लुकाएको पाइएमा कारबाही हुने प्रधानमन्त्रीको भनाइ छ । नेपालमा कोरोना नियन्त्रणका लागि सुरक्षाकर्मी सबैभन्दा बढी सक्रिय रुपमा लागेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: