birat ribon

जब बज्छ प्रहरी भ्यानको साइरन– आधा सटर घ्यार्र…

Neuro
जब बज्छ प्रहरी भ्यानको साइरन– आधा सटर घ्यार्र…
  • गार्डेन राई/काठमाडौँ

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै स्थानीय प्रशासनले गत बिहीबार अर्थात वैशाख १६ गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञा जारी गरे । सङ्क्रमित सङ्ख्या थपिएसँगै निषेधाज्ञा जारी हुने जिल्लासमेत थपिँदै गए । सोमबार दिउँसोसम्म ४१ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । 

निषेधाज्ञा जारी भएसँगै खाद्यान्न र अत्यावश्यक सेवाका पसल बिहान र बेलुका मात्र सञ्चालन गर्न समय तोकिएको छ । जमघट हुने कार्य नगर्न प्रशासनले पटकपटक भनिरहेकै छन् ।
 
तर काठमाडौँका केही स्थानको अवस्था हेर्दा लाग्छ– यो निषेधाज्ञा जनताका लागि नभई प्रशासनका लागि लगाइएको हो । यहाँ न नागरिक निषेधाज्ञा मान्न तयार छन् न होटल, पसल व्यवसायीहरू । 

cura insider

मानिस निस्फिक्री सडकमा निस्किएका छन्, पसल तथा होटल पनि खुलेकै छन् । जब प्रहरीको गाडीको साइरन बज्छ, त्यसपछि सडकका मानिस साइड लाग्छन्, अनि पसल–होटलका सटर घ्यार्र पारिन्छ ।

निषेधित समयमा बिनाकाम मानिस सडकमा निस्किएका छन् । उनीहरू सडकमा हिँडेको देख्दा लाग्छ– यहाँ कोरोना सङ्क्रमणको त्रास छैन । राजनीतिक कारणले लगाइएको कफ्र्युमा जसरी मानिस निषेधाज्ञा तोड्दा बहादुर सम्झिन्छन् । 

न शारीरिक (भौतिक) दुरी पालना छ । हातमा हात मिलाएर लामबद्ध रुपमा सडकमा निस्किएका देखिन्छन् । बच्चाहरू खाली सडकमा ब्याडमिन्टन, भलिबल खेलिरहेका छन् । जब प्रहरी भ्यानको साइरन आउँछ, तब केहीछिन बाटो खाली हुन्छ, प्रहरी गएपछि पुनः उही दृश्य ।

यस्तै आधा मात्र सटर खोलेर होटल चलाइरहेका छन् व्यवसायी । बाहिर बन्द गरेजस्तो गरेर भित्र विभिन्न परिकारहरू बनाइरहेको पाइन्छ । अनि ग्राहक पनि एक अर्कामा न सामाजिक दुरी, न मास्क– आनन्दले खान व्यस्त छन् । 
 
यता पसलहरू पनि मनोमानी चलाइरहेका छन् व्यापारीहरू । बाहिर आधा खुलेको सटरबाट ग्राहकले सामान लिँदै जाँदै गरिरहेका छन् । प्रहरी आएपछि हतारहतार सटर बन्द गर्छन्, प्रहरी गएपछि फेरि घ्यार्र…

भ्यानमा आएको प्रहरी टोली भन्छ, ‘अब त भ्यानको आवाजले पनि मान्छे तर्सिन छोडिसके । मनोमानी हिँडिरहन्छन्, हाम्रो ड्युटी सम्झाउने हो । बाँकी सम्झिने र बुझ्ने उनीहरूको काम हो । बुझ्नेले बुझ्छन्, नबुझेपछि परिणाम आफैँले बेहोर्छन् ।’

यता व्यापारीको तर्क बेग्लै छ । बिहान र बेलुका मात्रै पसल खोलेर उनीहरूको व्यापार नै हुँदैन रे । उनीहरू भन्छन्, ‘बिहान र बेलुका मात्र पसल खोलेर के गर्ने ? भाडा’नि उठ्न गाह्रो छ । खोलौँ पनि घाटा, बन्द गरे’नि घाटा । के हामी चाँहि बाँच्नु परेन ?’ 

‘हामीलाई सरकारले लौ तँलाई भनेर दिन्छ ? यसो ग’रो उसो ग’रो गरिबलाई दुःख दिने मेलो,’ उनीहरू भन्छन्, ‘अस्ति इन्डियामा सुरु भयो भन्नासाथै नाका बन्द गरेको भए अहिले यस्तो हुन्थ्यो ? समय छँदै केही गर्दैन, जब राति अनि बुढी ताती । खालि जनतालाई कष्ट दिने काम । खासमा भन्ने हो भने हाम्रो सरकारको केही काम ठिक छैन ।’ 

अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका डाक्टरले पनि बाहिर हिँडडुल नगरी स्वास्थ्यको ख्याल राख्न अनुनय विनय गरिरहेकै छन् । कतिपय सङ्क्रमितले गाह्रो भएको आफ्नो अनुभव सुनाउँदै भित्र बस्न अनुरोध गरेका छन् । 

दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा बेड खाली छैन भनेर समाचार आइरहेकै छन् । तर नागरिकमा भने ती कुराको कुनै प्रभाव परेको छैन । यस्तो विकराल अवस्थामा पनि किन नागरिक खुलेआम हिँडिरहेका छन् ? 

कोरोनाको यस कहरमा सबैका आ–आफ्नै पीडा छन् । मजदुर अनि साना व्यवसायीलाई भोको पेटको चिन्ता । दैनिकी गुजार्ने चिन्ता । यता सरकारलाई जनता कसरी जोगाउने चिन्ता । प्रहरी अनि डाक्टरलाई नागरिक सचेत नभइदिँदा चिन्ता । 

वास्तवमा भन्ने हो भने अहिले सबैको चिन्ता एउटै विषयमा हो– कोरोना भाइरसको सङ्क्रमण ।

सन् २०१९को अन्त्यमा चीनको वुहान सहरबाट फैलिएसँगै विश्वका हरेक देशमा अहिले कोरोनाको भय छ । लाखौँले ज्यान गुमाए । करोडौँ सङ्क्रमित भए । विश्वको अर्थतन्त्रमा ह्रास आयो । दिनहुँ हिँडडुल गर्ने अनि आफ्नो काममा व्यस्त रहने मानिस एउटा कोठामा सीमित रहनुपर्‍यो । 

संसारको चेतनशील प्राणी मानिस । तर पनि किन अबुझ भइरहेका छौँ हामी ? सबैका बाध्यता आफ्ना–आफ्नै भए पनि अहिलेको त्रास भनेको कोरोनाको हो । त्यसैले सबै जनाले निषेधाज्ञाको पालना गरेर सभ्य नागरिकको परिचय किन नदिने ?

यो अवस्थामा घरमै बसेर सरकारलाई किन सहयोग नगर्ने ? सरकारलाई सहयोग गर्नु भनेको नै हामी सुरक्षित रहनु हो । त्यसैले अहिले डाक्टर अनि सरकारको सुझाव अनुसार घरमै बसौँ । टोल छिमेक अनि सिङ्गो देशलाई कोरोनामुक्त बनाउन साथ दिऔँ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: