birat ribon

भारतमा सङ्क्रमित सङ्ख्या दुई करोडनजिक

Neuro
भारतमा सङ्क्रमित सङ्ख्या दुई करोडनजिक

विराटनगर / कोरोना भाइरस सङ्क्रमणले नराम्ररी गाँज्दै लगिरहेको छिमेकी मुलुक भारतमा सङ्क्रमितको सङ्ख्या दुई करोडनजिक पुगेको छ ।

कोरोना कहरको कठिन परिस्थितिसँग जुधिरहेको भारतले कोरोना नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गर्न सकिरहेको छैन । विश्वकै ध्यान केन्द्रित हुने गरी भारतमा दैनिक सङ्क्रमित थपिने गरेका छन् । मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि अन्य मुलुकको भन्दा अत्याधिक धेरै छ ।

cura insider

भारत कोरोनाको दलदलमा नराम्ररी फस्दा त्यसको प्रत्यक्ष असर खुला सीमा रहेको नेपालमा परिरहेको विज्ञहरुले बताएका छन् । नेपालमा दिन प्रतिदिन थपिने कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानु र मृत्यु हुने सङ्ख्या पनि उकालो लाग्दै जानुलाई भारतसँगको खुला सीमा र अनियन्त्रित आवतजावत मुख्य कारण मानिएको छ ।

नेपाल र भारतबीचको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीले निक्कै कडाई गरिरहेका छन् । तर पनि लुकिछिपी आवतजावत गर्नेहरुको सङ्ख्या उच्च छ । जसका कारण कोरोना फैलावटको दर उच्च बनेर भारतसँगै नेपाल पनि प्रभावित बनिरहेको छ । विज्ञहरुले सर्वसाधारण आफैले सचेत भएर सावधानी अपनाउँदै भारतसँगको आवतजावत बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

आवतजावत नरोकिए र सङ्क्रमणको शङ्का लागेकाले अरुसँगको हेलमेल बन्द नगरे नेपालको अवस्था निक्कै भयावह बन्नसक्ने चेतावनी उनीहरुले दिएका छन् । भारतमा कोरोना सङ्क्रमण फैलावटको अवस्था उस्तै छ । केही समयदेखि उच्च विन्दुमा रहेको कोरोना नियन्त्रणका लागि गरिएका विभिन्न प्रयास असफल बनिरहेको छ ।

दैनिक चार लाखभन्दा बढी र त्यही हाराहारीमा सङ्क्रमित फेला पर्ने गरेको भारतमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ७० हजार ५९ जनामा कोरोना पुष्टि भएपछि सङ्क्रमित सङ्ख्या दुई करोडनजिक पुगेको छ । एकै दिन सङ्क्रमण पुष्टि भएको सङ्ख्या विश्वमा थपिएका नयाँ सङ्क्रमितको आधाभन्दा बढी हो । पछिल्लो २४ घण्टामा विश्वमा छ लाख ६७ हजार आठ सय १८ जना नयाँ सङ्क्रमित थपिएका छन् । भारतमा सङ्क्रमित सङ्ख्या एक करोड ९९ लाख १९ हजार सात सय १५ पुगेको हो ।

सङ्क्रमितमध्ये एक करोड ६२ लाख ८१ हजार सात सय ३८ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किन सकेका छन् । ३४ लाख १९ हजार ३२ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा दैनिक कोरोनाका कारण मृत्यु हुने सङ्ख्या पनि कम हुन सकिरहेको छैन । एकै दिन तीन हजार चार सय २२ जनाको मृत्यु भयो । यसअघि पनि कोरोनाका कारण दैनिक मृत्यु हुने सङ्ख्या तीन हजारभन्दा बढी नै थियो । कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक भारतमा हालसम्म दुई लाख १८ हजार नौ सय ४५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

jackson ribon