birat ribon

निषेधाज्ञामा सबैको एउटै उत्तर ‘हामी अस्पताल हिँडेका हौँ’

Neuro
निषेधाज्ञामा सबैको एउटै उत्तर ‘हामी अस्पताल हिँडेका हौँ’
  • शिवहाङ राई / विराटनगर

‘कता हिँड्नु भएको ? निषेधाज्ञा लागू भएको थाहा पाउनु भएको छैन ? नेपाल प्रहरीका जवान मोटरसाइकलमा सवार व्यक्तिलाई प्रश्न गर्छन् । प्रश्न सुन्नबित्तिकै प्रतिउत्तरमा मोटरसाइकलमा सवार उनै व्यक्ति भन्छन्, ‘अस्पताल हिँडेका हौँ सर, आफन्त बिरामी हुनुहुन्छ, अस्पतालमा भर्ना गरिएको छ ।’

सँगै रहेका ट्राफिक प्रहरीका जवान निषेधाज्ञावाला सोही प्रश्न अर्काे मोटरसाइकलमा सवारलाई तेर्स्याउँछन् । उताबाट पनि उत्तर पहिलेको जस्तै दुरुस्तै आउँछ ।

cura insider

प्रस्तुत गरिएको यो छोटो संवाद कोसी राजमार्ग (रानी विराटनगरदेखि किमाथाङ्का जोड्ने सडकखण्ड) अन्तर्गत सुनसरी र मोरङ जिल्ला छुट्याउने बूढी खोला पुलनजिकै आवश्यक व्यवस्थापन र जाँचका लागि तैनाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी र सवारीसाधनमा सवार मानिसबीच भएको हो ।

विराटनगर महानगरपालिका, बूढीगङ्गा, जहदा र कटहरी गाउँपालिकाका १, २, ३, ४ गरी मोरङ जिल्लामा हिजो मध्यरात अर्थात् आजबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । सुनसरी जिल्लामा भने शुक्रबार मध्यरातबाट नै लागू हुने गरी निषेधाज्ञा जारी भइसकेको छ ।

बढ्दो कोरोना सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न निषेधाज्ञा जारी गरिएको भए पनि सडकमा उल्लेखनीय मात्रामा सवारीसाधन गुडेको देखिन्छ । चेकजाँचका क्रममा रोकेका अधिकाशं सावरीसाधनमा सवार व्यक्तिहरूले ‘अस्पताल हिँडे्का हौँ’ भन्ने बनिबनाउ उत्तर दिने गरेको खटिएका प्रहरी अधिकारीहरू बताउँछन् ।

नाम नखुलाइदिनुहोस् है भन्दै एक प्रहरी अधिकारीले भने, ‘बिहानैदेखि सोधेका प्रायः सबैले अस्पतालवाला नै उत्तर दिइरहनुभएको छ । अब कसलाई विश्वास गर्ने, कसलाई नगर्ने !’

आठ जनाको सङ्ख्यामा खटिएका सुरक्षाकर्मीलाई राजमार्ग व्यवस्थापन र जाँचका लागि हम्मेहम्मे परिरहेको छ । तर पनि उनीहरूले निषेधाज्ञा पालना गराउन हरसम्भव प्रयास गरिरहेका छन् । सुनसरी जिल्लामा शुक्रबार मध्यरातिबाट लागू हुने गरी निषेधाज्ञा जारी गरे पनि सवारीसाधनमा जोर–बिजोर प्रणालीको व्यवस्थापन गरिएकाले सुनसरीबाट आउने र फर्कने सवारीसाधनको बूढी पुलनजिकै लर्काे लागेको छ ।

‘यता (मोरङमा) एसपी सा’बले एकदमै कडा गर्नु भन्नुभएको छ, हामी त्यही आदेशअनुसार काम गरिरहेका छौँ तर सुनसरीमा कडाइ नभएकाले समस्या परिरहेको छ,’ तिनै प्रहरी अधिकारीले भने, ‘अस्पतालको पूर्जा, पूर्जा नभए त्यसको फोटो, सवारी-पास केही देखाउनुस् भन्दा पनि वहाँहरुसँग केही हुँदैन ।’ आवश्यक कागजात नभएकाले अधिकाशंलाई पुलबाट नै फर्काउने गरिएको भए पनि अधिकतरको उत्तर ‘अस्पतालवाला’ नै भएकाले आफूहरूलाई निकै समस्या परिरहेको उनी बताउँछन् ।

‘हाम्रो मानवता हराएको छैन तर वहाँहरूले झुट नबोलिदिए हुन्थ्योजस्तो लाग्छ ! आवश्यक कागजात भएकाहरूलाई जान दिइरहेका छौँ,’ उनले भने, ‘सकेसम्म सबैलाई सम्झाएर घर फर्काउने प्रयास गरेका छौँ, कसैलाई भने कारवाही गर्छाै भन्दै रुखो पनि बोल्नुपर्ने हुन्छ । निषेधाज्ञा हामी सबैको लागि हो भनेर बुझिदिए कोभिड नियन्त्रण गर्न अझै सजिलो हुन्थ्यो ।’

प्रदेश एक सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्ने हो भने मोरङ जिल्लामा मात्रै एकै दिन (वैशाख १८ गते) ९१ नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै, सोही दिनको मन्त्रालयमा सुनसरी जिल्लाको तथ्याङ्क हेर्ने हो भने ६८ नयाँ सङ्क्रमित थपिएका छन् । यीबाहेक झापामा ७० र ठेगाना नखुलेका २० जना सङ्क्रमित थपिनुबाहेक प्रदेश एकका अन्य जिल्लामा सङ्क्रमितको सङ्ख्या १६ छ ।

सङ्क्रमणको लहर सबै जिल्लामा द्रुत गतिमा नफैलिसकेकाले यही अवस्थामा नै सबै जिल्ला मिलेर निषेधाज्ञा थप व्यवस्थित र कडा गर्नुपर्ने आवश्यक रहेको विशेषज्ञहरू बताउँछन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: