birat ribon

समीक्षक भनेको निमको पत्ताजस्तै हो : निर्देशक दीपेन्द्र लामा

Neuro
समीक्षक भनेको निमको पत्ताजस्तै हो : निर्देशक दीपेन्द्र लामा

नेपाली फिल्म क्षेत्र, जहाँ राम्रो फिल्मलाई सबैले खुलेर तारिफ गर्न सक्छन् तर खराब फिल्मको समीक्षा र कमजोरी खुलेर भन्नसक्ने कमै छन् । निर्देशक तथा समीक्षक दीपेन्द्र लामा तीमध्ये एक हुन् । आफ्नो करिअरको सुरुवात पत्रकारिताबाट गरेका निर्देशक लामाको पत्रकारदेखि निर्देशक हुँदै फिल्म समीक्षक समाजको अध्यक्षसम्मको यात्रा निकै रोचक छ । त्यसो त नेपाली फिल्म क्षेत्रमा फिल्म समीक्षालाई सहजै स्वीकार्न सक्ने वातावरण छैन । फिल्मकर्मीले समीक्षकलाई शत्रुको रूपमा हेर्ने गरेका छन् । यो अवस्थामा निर्देशक तथा समीक्षक लामा फिल्म समीक्षक समाजको अध्यक्षमा नियुक्त भएका छन् । फिल्म समीक्षक समाजको उद्देश्य के हो ? र नेपाली फिल्म उद्योगको वर्तमान अवस्था कस्तो छ ? फरक विचार, फरक दृष्टिकोण र नयाँ उद्देश्य लिएर अघि बढेका निर्देशक तथा समीक्षक दीपेन्द्र लामासँग गरेको कुराकानी :

कसरी पत्रकारितामा आउनु भयो ?

cura insider

बाल्यकालमा बालपत्रिका पढियो । हाइस्कुल र कलेजताका युथ म्यागेजिन, राजनीतिक पत्रिका, फिल्म म्यागेजिनहरु नियमित पढ्न थालेँ । त्यसले गर्दा मभित्र पत्रिका र पत्रकारिताको मोह पलाउन पुग्यो । लेख लेख्ने प्रयास गरेँ । पत्रिकाहरूले उचित प्राथमिकताका साथ छापे । त्यसपछि पत्रकारितालाई नै करियर बनाउने सोच आयो । र, मिडिया प्वाइन्ट नामक इन्स्टिच्युटमा एक वर्षे पत्रकारिताको तालिम पनि लिएँ ।

फिल्म निर्देशनको यात्रा चाहिँ कसरी सुरु भयो ?

पत्रिकामात्र होइन फिल्म पनि सानै उमेरदेखि नियमित हेर्थेँ । त्योबेला काठमाडौंका गल्लीहरुमा भूमिगत रूपमा भिडियो चक्का चलाएर हिन्दी, अङ्ग्रेजी र चाइनिज फिल्म देखाउने चलन थियो । सुकुलमा बसेर फिल्म हेर्नुपथ्र्यो । ती फिल्म हलमा लाग्दैन थिए । हलमा नेपाली र अलि केही महिना पुराना हिन्दी फिल्म लाग्थे । भिडियो फिल्म हप्तामा दुई–तीनवटा हेर्थेँ भने हलमै गएर पनि हप्तामा एकपटक फिल्म हेथ्र्यौँ । पत्रकारिता पनि फिल्मसम्बन्धी नै भयो । १७–१८ वर्ष लगातार फिल्म पत्रकारिता र समीक्षा गर्दै गएपछि मनोटोनस महसुस हुन थाल्यो । अर्को काम आउँदैनथ्यो । फिल्म निर्देशन चाहिँ गर्नसक्छु भन्ने थियो । र, ‘घामपानी’ फिल्मबाट निर्देशनमा आएँ ।

तपाई चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्ष हुनुभएछ । खासमा यसको स्थापना कहिले भएको हो र उद्देश्य के हो ?

चलचित्र समीक्षक समाजको स्थापना २०५६ सालतिर भएको हो । २०५७ सालदेखि नै म यसमा सदस्य थिएँ । नेपालमा फिल्म समीक्षाको कल्चर स्थापित गर्नु यसको उद्देश्य हो । हामीकहाँ फिल्मकर्मीलाई पुल्पुल्याउने काम धेरै भो, अब त्यसलाई रोकेर उनीहरुका कृतिमाथि गम्भीर समीक्षा हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको छ यो संस्था ।

समीक्षक किन चाहिन्छ एउटा फिल्म उद्योगलाई ?

नेपालमा अझै पनि समीक्षालाई सहर्ष स्वागत गर्ने मानसिकता छैन । फिल्मकर्मीले समीक्षकलाई शत्रुकै रूपमा हेरेको पाइन्छ । जबकि फिल्मको इकोसिस्टमको एउटा अङ्ग हो समीक्षा । हिन्दी फिल्म ‘मन्टो’मा एउटा लाइन छ, निमको पत्ता तीतो हुन्छ तर यसले रगतलाई सफा बनाउँछ । हो, समीक्षक भनेको निमको पत्ताजस्तै हो ।

समीक्षक समाजबाट केकस्तो काम गर्ने तपाईंको योजना छ ?

हामीकहाँ समीक्षकको सङ्ख्या एकदमै थोरै छ । सबैभन्दा पहिले नयाँनयाँ समीक्षक जन्माउने योजना छ । नयाँ पुस्ताका युवाहरूमा फिल्म लिट्रेसी पहिलाभन्दा बढिसकेको छ । त्यसैले समीक्षक खोज्न वा जन्माउन खासै गाह्रो पनि हुँदैन । अर्को योजना भनेको अहिले जति पनि समीक्षक सक्रिय छन्, उनीहरुको स्किल र बुझाइलाई अझै परिस्कृत गर्दै लैजाने रहेको छ ।

दर्शक र फिल्मबीचको पुलको काम गर्छ समीक्षकले । यसकारण दर्शकलाई कुनै पनि फिल्म वा ट्रेन्डका सम्बन्धमा अझ सहजीकरण गरिदिने योजना पनि छ ।

तपाईंले नेपाली चलचित्र बजारलाई नजिकबाट देख्नु भएको छ । नेपाली चलचित्र क्षेत्र किन अगाडि बढ्न सकिरहेको छैन ? हामी के कुरामा चुकिरहेका छौँ वा के कुराले हामीलाई रोकिरहेको छ ?

फिल्म भनेको आर्ट हो । र, हाम्रो यो आर्ट कमजोर छ । वास्तवमा धेरैजसो नेपाली फिल्मकर्मीले फिल्मको आर्टलाई बुझेकै छैनन्, हचुवाका भरमा फिल्म बनाउने काम भइरहेको छ । अनि कहाँबाट अगाडि बढ्छन् त ?

आर्ट किन कमजोर भए त ?

किनकि नेपाली सोसाइटीमा आर्ट सधैँ अपहेलित रहँदै आएको छ । कलेज पढ्दा पनि थर्ड डिभिजन आएकाले मात्र आर्ट पढ्नुपर्छ भन्ने मानसिकताले काम ग¥यो । समग्र आर्टमा नेपालीको पर्सेप्सन फराकिलो नभएसम्म फिल्ममा सुधार हुनेवाला छैन ।

कोरोना माहामारी र लकडाउनका कारण घरमै थुनिएका लाखौँ दर्शकहरूका लागि अन्य देशमा पैसा तिरेर फिल्म हेर्न ओटिटीको व्यवस्था छ तर नेपालमा ओटिटीको सम्भावना कत्तिको छ ?

नेपालमा ओटिटीको प्रबल सम्भावना छ । तर, पहिला हामी सबैले फिल्म भनेको पैसा तिरेर हेर्नुपर्छ, यसको पाइरेसी गर्नुहुन्न भन्ने संसकारको विकास गर्नुपर्छ । एउटा नाम चलेको फिल्मले युट्युबमा एक करोड भ्युज सजिलै पाइरहेको हुन्छ । कतिले रिपिट पनि हेरेका हुन सक्छन् । मानौँ २० लाख ओटिटी युजर्स् खडा गर्यौं रे, उनीहरूले एउटा नयाँ फ्रेस फिल्म हेर्न १० रुपैयाँ मात्र तिरे पनि दुई करोड त उठ्छ नि ! तर, १० रुपैयाँ तिर्नुपर्छ, अनि मात्र फिल्म उद्योग जोगिन्छ र यो मेरो कर्तव्य हो भन्ने सोच दर्शकमा आउन जरुरी छ ।

अब नेपाली चलचित्र क्षेत्रलाई कसरी चलायमन गराउन सकिएला ?

फिल्म भनेर हलमा लाग्ने दुई घन्टाको फिचरलाई मात्र नबुझौं । सर्ट फिल्म, विज्ञापन, म्युजिक भिडियो, सिरिज, डकुमेन्ट्रीहरु पनि फिल्म नै हुन् । यो क्राइसिसमा बाँच्नु छ भने यी सबैखाले फिल्ममा काम गर्नुपर्छ । हल नखुलेसम्म र भरपर्दो ओटिटी प्ल्याटफर्म स्थापित नभएसम्म बेरोजगार बस्नुभन्दा वैकल्पिक बजार र काम गर्ने शैलीबारे रिसर्च गरेर अगाडि बढ्नुपर्छ ।

jackson ribon