birat ribon

अब दीपक मनाङे युगको सुरूआत !

Neuro
अब दीपक मनाङे युगको सुरूआत !
  • पेशल आचार्य

गण्डकी प्रदेशबाट मार्क्सवादको गम्भीर सुरुआत गर्नुभएकोमा माननीय पिएस सुब्बालाई हार्दिक धन्यवाद ! एक सय ३२औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका उपलक्ष्यमा गरिखाने श्रमजीवीभन्दा बसिखाने भ्रमजीवीहरूमा हार्दिक शुभकामना ! गरिखानेहरूका लागि यो देश हिजो पनि असहज थियो, आज पनि कठिन छ र सायद भोलि पनि जटिल नै हुनेछ ।

बिहानले दिनको सङ्केत गर्छ भनेझैँ अहिले देशमा चारैतिर अराजकता, भय, आतङ्क र व्यभिचारले फँडा उठाएको समय छ । यो समयमा आदर्श, निष्ठा, सिद्धान्त र नैतिकताको चरम खडेरी परेको छ । आफ्नो कुरामात्र ठिक हो भन्ने मान्यतामा रमाएका सेल्फिसहरूको जमातले समाजमा क्रमशः प्रश्रय पाउँदै गएको अवस्था छ ।

cura insider

गत सालको तीन महिना लामो लकडाउनले गर्दा देशलाई टाट पल्टाएको थियो । सोबाट देश चलाउनेहरूले रत्तिभर पनि शिक्षा लिन आवश्यक ठानेनन्, फलतः आजको स्थिति देखापर्‍यो । चाल पाउनेहरूले र आजको यो दिन हिजै देख्नेहरूले त सरकारी क्षेत्रलाई, निजी क्षेत्रलाई र स्थानीय क्षेत्रलाई बेलैमा सुझाव र सल्लाह भरमग्दुर रूपले दिइरहेका थिए तर कसैले पनि सिरियसली सो कुराहरू सुनेर कानमा बतास लगाउने काम गरेनन् ।

गतसाल गरिबहरू रोएको देखियो । गरिबहरू काम र माम नपाएर सडकमा काम खोज्दै हिँड्दाहिँड्दै भ्वाक्कै लडेर मरेको पनि देखियो । भन्नलाई सरकार गरिब, श्रमिक, मिहिनेती र श्रमपूजक जनमानसको भलो चिताउने सरकार क्रियाशील छु भन्छ तर व्यवहारमा ठिक उल्टो प्रदर्शन गरिरहेको छ । भोका, सुत्केरी, बालबालिका, वृद्धवृद्धा, जेष्ठ नागरिक र समाजमा कहीँ कतैबाट पनि सेवा र सुविधा प्राप्त गर्न नसकेका मानिसहरूलाई स्थानीय स्तरमा क्रियाशील गैरसरकारी संस्थाहरूले बाँच्नका लागि गरेको खानेकुराको सहयोग र राहतका कामहरूबाट स्थानीय निकायहरूसमेत डरले तिघ्रा कमाएको समेत देखियो ।

राजनीतिको पाशा फ्याँकेर जनतालाई भुल्याउन र फुल्याउन पल्केका मठाधीशहरू र पार्टी कब्जा गरेर आफ्नो गुटलाई देवत्वकरण गरी परायाको गुटलाई दानवीकरण गर्न पल्केका हनुमानहरूका कारण नै देशको यो हविगत भएको रहेछ भन्ने कुरा यतिखेर पुनः देखियो ।

भाषणमा गुलिया वचनले चेब्य्राइँ घसेर मुखले ठिक्क पारी कामले उल्टा गर्ने बानी परेकाहरूबाट यो देशमा यस्तै-यस्तै महामारीहरू चल्दा अहिले भए-गरेका शासकहरूले काम नदिने रहेछन् भन्ने निर्क्योलमा आम बुद्धिजीवी र मिहिनेतकश जनता पुगिसकेका छन् । राजनीतिको पाशा फ्याँकेर जनतालाई भुल्याउन र फुल्याउन पल्केका मठाधीशहरू र पार्टी कब्जा गरेर आफ्नो गुटलाई देवत्वकरण, पराया गुटलाई दानवीकरण गर्न पल्केका हनुमानहरूका कारण नै देशको यो हविगत भएको रहेछ भन्ने कुरा यतिखेर पुनः देखियो । कोरोनाको दोस्रो भेरियन्ट देशैभरि ह्वात्ह्वाती बढिरहेको देखेर जनता त्रसित भइरहेका छन् ।

पेशल आचार्य

छोटे-बडे शासक हौँ भन्नेहरू स्थानीय तह, प्रदेश तह र केन्द्र तहलाई आफ्नो मुठ्ठीको माखो बनाएर राजनीतिक शक्तिको आडमा बजेट दोहन गर्न पल्केका छन् । यस्ता शासक र तिनका वरिपरि, इर्दगिर्दमा रहेका, नेताका बिहान-बेलुकी सदावर्त आरती जगाउन पल्केका तमाम बुद्धिहीन र विवेक नास्ती भएका तिघ्रे, मुङ्ग्रे, कुण्डले र मण्डले प्रवृत्तिका सलामी, गुलामी र मलामीमा मात्र बानी परेका कार्यकर्ताहरू छन् । यस्ता कार्यकर्ताबाट समेत गलत प्रवृत्तिका महामारी थेग्न सक्ने कुनै व्यावहारिक सल्लाह-सुझाव दिन सकेको देखिएन ।

गत सालझैँ यसपटक पनि त्रिभुवन विश्वविद्यालयका पढाइलेखाइ र परीक्षाहरू सबै रोकिएका छन् । सामुदायिक र संस्थागत विद्यालयहरूले आउँदै गरेको एसइई परीक्षालाई ध्यानमा राखी सञ्चालन गरेका अतिरिक्त कक्षाहरूसमेत सबै सोहोरिएर बङ्क भएको अवस्था छ । त्रिविका स्नातकोत्तर र स्नातक तहका परीक्षाहरूसमेत जो जहाँ सञ्चालित थिए, ती त्यहाँबाटै सबै बन्द भएका छन् । पहिलो लहरले देशलाई एक वर्षसम्म थिलथिलो पार्दासम्म पनि न नेतृत्व तहबाटै कुनै सबक सिक्न सकियो, न आदेश पालनाको तहमा, न कार्यान्वयनका स्तरमा नै ।

देशभरि स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्न सकेर आइसोलेसन सेन्टरहरू बनाउन सकेको भए, कोभिड अस्पतालहरू स्थानीय निकायमा समेत थप्न सकेको भए र पर्याप्त मात्रामा कोरोनाको खोप ल्याएर जनतालाई दिन सकेको भए अहिले यो दोस्रो भेरियन्टको कोभिड फैलिने स्थितिमा देशले महामारीलाई गजबले ट्याक्कल गर्न सक्ने अवस्था हुन्थ्यो . तर सो भए गरेको देख्न सकिएन । भारतमा आयोजना भएका बाह्र बर्से कुम्भ मेलाहरूमा नेपालबाट गएका हिन्दु भक्तजनहरूले नेपाल फर्किँदा ल्याएका कोभिड किटाणुहरूसँगै देशमा महामारी फैलिएको छ । महामारीले यतिखेर फेरि अर्कोपल्ट देशका नीति-निर्माता, शासक, साना-ठूला सबै प्रकारका नेता, कार्यकर्ता, प्रशासक र सर्वसाधारणहरू निंद हराम गरेको अवस्था छ । गतसाल भन्दा चर्को लहर देखापरेको छ– कोभिडको ।

भारतमा आयोजना भएका बाह्र बर्से कुम्भ मेलाहरूमा नेपालबाट गएका हिन्दु भक्तजनहरूले नेपाल फर्किँदा ल्याएका कोभिड किटाणुहरूसँगै देशमा महामारी फैलिएको छ । महामारीले यतिखेर फेरि अर्कोपल्ट देशका नीति-निर्माता, शासक, साना-ठूला सबै प्रकारका नेता, कार्यकर्ता, प्रशासक र सर्वसाधारणहरू निंद हराम गरेको अवस्था छ ।

देशको अर्थतन्त्रलाई पुनः ठप्प बनाउने स्थितिको पूर्वाभास देखिन थालिसक्यो । खाद्यान्न, तरकारी, औषधिमूलो, निर्माण सामग्री, शिक्षा, स्वाथ्य, विकास-निर्माण, सञ्चार, दैनिक प्रशासन सञ्चालनमा समेत क्रमशः जति-जति लामो निषेधाज्ञा बढ्दै जान्छ उतिउति जनताका जीवनचर्याहरू सकसमय बन्दै जान्छन् । यो पक्कापक्की हो कि नेपालले पुनः अर्को लामो लकडाउन थेग्न सक्दैन ।

यही स्थितिमा समेत हामी खुला बोर्डरका हिसाबले भारतबाट आउने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको ठूलो चापलाई थेग्न सक्दैनौँ । छिमेकी देश भारतमै पनि यतिखेर उसको स्वास्थ्य प्रणालीले पूर्णतया काम गर्न नसकेको स्थिति देखिन्छ । खासगरी दिल्लीको स्थिति अझ भयावह देखिएको छ । लास पोल्नका लागि सार्वजनिक स्थानहरूको समेत दुरूपयोग हुन थालेको छ । चिहान घर, आर्यघाट र कब्रिस्थानहरूको चरम अभावमा पार्कमा समेत लासको सद्गत हुन थालेका दृश्यहरू अनलाइन, टिभीहरूमा देखाइन थालेको छ ।

नेपालमा गत साल पनि सत्ताको छिनाझप्टीले गर्दा समुदायमा कोरोना सार्नका लागि ठूलो बल दिएको थियो । यस वर्ष पनि प्रदेशमा देखापरेको सत्ताको छिनाझप्टी र मन्त्री खान-खुवाउनका लागि भए गरेका असंसदीय अभ्याससँगै फ्लोर-क्रस गरेका दृश्यहरूले नेपालको कलिलो सङ्घीयतामा कालो पोत्ने काममात्र गरेको छैन, भावी पुस्ताका लागि सङ्घीयता भनेको देशलाई नै अनावश्यक बोझ भएको भान दिलाउँदै छ ।

कुनै पनि नेपाली नागरिकलाई उसले प्राप्त गरेको नागरिक हकका आधारमा शासक वा शासित हुने अवसर प्राप्त हुन्छ । त्यसमा संविधान बाधा नभइकन कोही कसैलाई मन परे पनि या मन नपरे पनि केही फरक पर्दैन ।

टोले गुन्डाको परिचयबाट हप्ता उठाउँदै क्रमशः कुख्यातीको नाम कमाएका तथा यतिखेर गण्डकी प्रदेशका खेलकुद मन्त्रीको शपथ गरेका डन दीपक मनाङेको चर्चा देशैभरि चुलिएको छ । जो चोर उसैको ठूलो स्वर भनेझैं उनी ‘राजनीति सेवा भावका लागि हो । राजनीति कसरी गर्नुपर्छ म त्यो नेताहरूलाई सिकाउँछु,’ भन्ने आशयको अभिव्यक्ति दिँदै पनि छन् । दीपक मनाङेको उदयसँगै नेपालमा निष्ठा र सिद्धान्तको राजनीति सकिएको एकथरी राजनीतिक विश्लेषकहरूको तर्क छ भने अर्कोतिर नयाँ विश्लेषकहरू चाहिँ, ‘दीपक मनाङेलाई गाली गर्नु भनेको आकासतिर हेरेर थुक्नुजस्तै हो,’ भन्दै छन् ।

हिजो उसलाई चुनावमा जिताउने जनता, चुनावी क्षेत्र र कानुनले नै नछेकिरहेको अवस्थामा उसले चुनाव जितेर प्रदेशसभामा जाने अवसर पाएपछि अहिले आएर सोही प्रकरणलाई उछालेर ‘कुनै काम छैन’ भन्ने प्रकारको तर्कसमेत झिकिएको छ । वास्तवमा पहिलो कोटिका विश्लेषकहरूको तर्कमा भन्दा दोस्रोकोटिका विश्लेषकहरूको तर्कमा दम छ । कुनै पनि नेपाली नागरिकलाई उसले प्राप्त गरेको नागरिक हकका आधारमा शासक वा शासित हुने अवसर प्राप्त हुन्छ त्यसमा संविधान बाधा नभइकन कोही कसैलाई मन परे पनि या मन नपरे पनि केही फरक पर्दैन ।

बहुदलीय शासन व्यवस्था भएका मुलुकमा त सबै सबैका विरोधी र समर्थक हुन सक्छन् । सबैले सबैलाई समर्थन गर्नै र मान्नैपर्छ भन्ने पनि छैन । यो स्थितिमा दीपक मनाङेले आफ्नो नागरिक र संवैधानिक हक-अधिकारको प्रयोग गरेको हो । यो परिस्थितिमा जो व्यक्ति उसका स्थानमा भएको भए पनि गर्ने भनेकै त्यही नै हो ।

अतः यतिविधि रोइलो गरेर केही हुनेवाला छैन । यो देशमा हिजो मान्छे मारेर सत्तामा गएका, सांसद तथा प्रधानमन्त्री भएका मानिसहरूको ठूलो फेहरिस्त आम नेपाली जनताअघि ताजै छ । जब समाज, राजनीति, धर्म, नैतिकता, आचार र विचारहरू नै विसङ्गत हुन पुग्छन्, त्यस्तो बेलामा कोही कसैले पनि अनर्गल रूपमा रुनु-कराउनुको तुक छैन । राजनीतिलाई धोबीचुटाइ गरेर साफ गर्ने हो भने कम्तीमा यो पुरानो पुस्ताको अवसानलाई पर्खिनैपर्छ ।

नयाँ पुस्तालाई जरैदेखि सिद्धान्तनिष्ठ र विचारको आदर्श सिकाएर मात्र मूल सङ्लो बनाउन सकिन्छ । नत्र हामीले देखेभोगेका केपी, माधव, झलनाथ, प्रचण्ड, बाबुराम, शेरबहादुर सबै हामीले भोगिसकेका हौँ । यिनीहरूमा स्निग्धता र शुभ्रता पाउन सकेका छैनौँ । भोलिका दिनमा राजनीतिको कोरस गाउँदै सत्तामा आउन लागेका महन्थ, रामचन्द्र, ईश्वर, गगनहरूमा पनि दीपक मनाङेहरूकै प्रतिछाया देखिन बेर लाग्दैन ।

jackson ribon