birat ribon

नेपालमा २० देखि ४० वर्षको व्यक्तिमा सङ्क्रमणको दर उच्च

Neuro
नेपालमा २० देखि ४० वर्षको व्यक्तिमा सङ्क्रमणको दर उच्च

विराटनगर / नेपालमा कम उमेर समूहका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको दर उच्च रहेको देखिएको छ ।

१ चैतदेखि १६ वैशाखसम्म स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २० देखि ४० वर्षको व्यक्तिमा सङ्क्रमणको दर उच्च रहेको र ३० देखि ५० वर्षका व्यक्तिको सङ्क्रमणका कारण ज्यान गुमाउने क्रम पनि बढ्दो रहेको देखिएको हो । १ चैतदेखि १६ वैशाखसम्म सबैभन्दा बढी सङ्क्रमण २० देखि ३९ वर्षका व्यक्तिहरूमा पुष्टि भएको पाइएको छ ।

cura insider

तथ्याङ्कमा १० हजार चार सय ५८ जना सङ्क्रमित २० देखि २९ वर्षका थिए भने ३० देखि ३९ वर्षका १० हजार दुई सय ८७ जनालाई सङ्क्रमण देखिएको थियो । त्यस्तै, ६० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिभन्दा बढी सङ्क्रमण ४० देखि ५९ वर्षका व्यक्तिहरूमा पाइएको छ । ४० देखि ४९ वर्षका सात हजार छ सय १७, र ५० देखि ५९ वर्षका पाँच हजार दुई सय २४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

सो अवधिमा ६० देखि ९० वर्ष वा सोभन्दा माथिका चार हजार दुई सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । साथै, १० देखि १९ वर्षका ३२ सय ९२ जना र नौ वर्षभन्दा मुनिका आठ सय ९० जनामा सङ्क्रमण देखिएको तथ्याङ्कमा उल्लेख छ । उक्त समय अवधिमा सङ्क्रमणका कारण नेपालमा ३० देखि ३९ वर्ष उमेरका २० जना र ४० वर्षदेखि ४९ वर्ष उमेर समूहका ४४ जनाको मृत्यु भएको जनाइएको छ ।

साथै, कोभिडका कारण १० देखि १९ वर्षको उमेरका दुई जना र २० देखि २९ वर्ष उमेर समूहका पाँच जनाको ज्यान गएको छ । पछिल्लो तथ्याङ्कले तुलनात्मक रूपमा स्वस्थ्य ठानिएको ३० देखि ५० वर्षको उमेर समूहका व्यक्तिहरूमा सङ्क्रमणको जोखिम बढिरहेको शुक्रराज ट्रपिकल तथा सङ्क्रामक रोग अस्पताल टेकुका विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

उनले हालको तथ्याङ्क अस्वाभाविक र चिन्ताजनक भएको बताएका छन् । तर, सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. बुद्ध बस्न्यातका अनुसार नेपालमा सङ्क्रमणबाट बढी प्रभावित भनिएका युवा उमेर समूहमा मोटोपन, मधुमेह र उच्च रक्तचाप जस्ता समस्या भएको कारण सङ्क्रमित र ज्यान गुमाउने मानिसको सङ्ख्या बढेको हो ।

jackson ribon