birat ribon

विराटनगरसहित मोरङका केही स्थानमा लगाइयो निषेधाज्ञा

Neuro
विराटनगरसहित मोरङका केही स्थानमा लगाइयो  निषेधाज्ञा

विराटनगर / कोरोना भाइरसको सङ्क्रमण बढेसँगै विराटनगर महानगरपालिकासहित मोरङका केही स्थानमा निषेधाज्ञा लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले गय राति (शनिबार) १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन् । कोरोनाका कारण बढी प्रभावित विराटनगर महानगरपालिका, बूढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिकाकाको वडा नम्बर १, २, ३, र ४ तथा भारत र सुनसरी जिल्लासंग जोडिएको सीमा क्षेत्रहरुमा निषेधाज्ञा लगाइएको छ ।

cura insider

प्रजिअ निरौलाका अनुसार निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्नबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ। खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरी सम्बन्धी पसल र निर्माण सामग्रीका पसल बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।

दैनिकरुपमा गरिने नित्य पूजा प्रार्थनाबाहेक सबै धार्मिक सांस्कृतिक कार्य, मेला, चाडपर्व, हाटबजार, लगायत सामूहिक गतिविधि नगर्न पनि जिल्ला प्रशासन कार्यालय मोरङले आदेश दिएको छ। निषेधाज्ञाको समयमा अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत, खानेपानी, सञ्चार, बैंक, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, पशुआहार ढुवानीका साधन, एम्बुलेन्स, शव वहान, सरकारी नम्बरका साधनबाहेक अन्य सञ्चालन नगर्न भनिएको छ।

छिमेकी मुलुक भारतसँग हुने आवागमन पूर्णरुपमा बन्द गर्ने, रातिको समयमा ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने, उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरे कानुन बमोजिम कारवाही हुने, होटल रेष्टुरेन्ट होम प्याक तथा होम डेलिभरी प्रयोजनका लागि मात्र खुला रहने छन्।

सङ्घीय सरकारले पाँच सय सक्रिय सङ्क्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन आदेश दिएकोमा सुनसरीमा दुई सय ५० सङ्क्रमित हुँदा निषेधाज्ञा लगाउने निर्णय भएको थियो । तर सीमा जोडिएको मोरङमा सङ्क्रमितको सङ्ख्या एक हजार दुई सयभन्दा बढी पुगिसकेपछि मात्रै निषेधाज्ञा लगाइएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले निषेधाज्ञाको सबैले पालना गर्नुपर्ने बताए । उल्लङ्घन गर्नेलाई भने नियन्त्रणमा लिएर कानुन अनुसार कारबाही अघि बढाइने जानकारी उनले दिए । कसैलाई दुःख दिन वा आज्ञात पुर्याउनभन्दा पनि कोरोना महामारीबाट बच्न र कोरोना फैलन नदिन तथा तीव्र रुपमा फैलिइरहेको सङ्क्रमणको चेनब्रेक गर्न निषेधाज्ञा लगाइएको एसपी खड्काले स्पष्ट पारेका छन् ।

निषेधाज्ञाको पालना सबैले गर्दा कोरोना फैलावट नियन्त्रणमा ठूलो मद्धत पुग्ने उनको भनाइ छ । उनले कोरोना लागेपछि जीवन नै रहने हो वा हैन भन्ने यकिन नहुने र पछिल्लो समय सङ्क्रमण पुष्टि भएकाको अवस्था निक्कै जटिल बन्दै गइरहेका कारण सबैले सावधानी अपनाउनुपर्नेमा जोड दिए । एसपी खड्काले यो वा त्यो बहानामा घरबाट बाहिर निस्कनेभन्दा पनि कोरोना सङ्क्रमणबाट बच्न र जोगिन अरुसँगको हेलमेल तथा सम्पर्कबाट टाढा रहँदै भिडभाडयुक्त कार्यक्रमहरु नगर्न सबैमा आग्रह गरेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: