birat ribon

बहुमत प्रतिपक्षसामु पत्रकार महासङ्घ सुनसरीको नेतृत्व

Neuro
बहुमत प्रतिपक्षसामु पत्रकार महासङ्घ सुनसरीको नेतृत्व
शालिग्राम पाण्डे

नेपाल पत्रकार महासङ्घले २०७७ चैत २५ गते ७७ जिल्ला, ४२ प्रतिष्ठान, १२ एसोसिएट्स गरी एक सय ३१ शाखा, सात प्रदेश र केन्द्रीय समितिको नेतृत्व तथा पदाधिकारी छनोट गर्‍यो । महासङ्घको इतिहासमै यो पहिलो प्रत्यक्ष निर्वाचन अनुभव थियो, जसमा ९७ मतदान केन्द्र र १३ हजार एक सय २० मतदाता थिए । तीन हजारभन्दा बढी पदका लागि पाँच हजारभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गरेको सो निर्वाचन अपवादबाहेक शान्तिपूर्ण ढङ्गले सम्पन्न भयो ।

यस आलेखमा सम्पन्न निर्वाचनमा सुनसरी जिल्लाका उम्मेदवार तथा निर्वाचित पदाधिकारीप्रतिको अपेक्षाबारे समकालीन टिप्पणी गरिएको छ । पत्रकार महासङ्घ सुनसरीका उम्मेदवार, खसेको मत र अध्यक्ष पदका उम्मेदवारले पाएको मत हेर्दा विगतभन्दा फरक परिवेश र दृश्य प्रस्तुत भएको पाइन्छ । महासङ्घ सुनसरीमा दुई सय ६२ जना मतदाता पत्रकार रहेका छन्, जसमध्ये दुई सय ४७ मत खसेको थियो । १५ जना अनुपस्थित रहेका थिए । चार जनाले अध्यक्ष पदमा मतदान गरेनन्, नो–भोटको सङ्केतस्वरूप खाली छोडिदिए ।

cura insider

सुनसरीका चार जना पत्रकारले जुनसुकै कारणले भए पनि नेतृत्वको प्रतिस्पर्धामा रहेका चारै जना उम्मेदवारलाई अस्वीकार गर्नुको सन्देश निकै अर्थपूर्ण छ । आगामी दिनमा स्थानीय तह, प्रदेश तथा सङ्घीय संसदको निर्वाचनमा सही उम्मेदवार नदिइएमा नो–भोटको मात्रा बढ्ने सङ्केत यसमा निहित छ । बुझ्नेलाई इसारा काफी भनेजस्तो भुइँ तहबाट अस्वीकारको अधिकार प्रयोग हुनुले नेपालका राजनीतिक दलहरूलाई हाम्रा होइन राम्रा मान्छे देऊ, पैसा खर्च गर्न सक्ने होइन, जनताको मन जित्न सक्ने, जनताको सेवक (नोकर) भएर काम गर्न इच्छुकलाई मौका देऊ भन्ने सङ्केत गरेको छ ।

इतिहासमा निरङ्कुश मानिने राणा प्रधानमन्त्री पद्मशमशेरले समेत आफूलाई म राष्ट्र (जनता)को नोकर हुँ भनेका थिए । तर अहिलेका लोकतान्त्रिक, गणतान्त्रिक आभूषणधारी जनप्रतिनिधिहरूले आफूलाई राष्ट्रको नोकर होइन, मालिकका रूपमा रूपान्तर गरेका छन् । जनताप्रति यिनको गैरजबाफदेहिता बढ्दो छ ।

महासङ्घको केन्द्रीय अध्यक्षमा सुनसरीबाट विपुल पोखरेललाई एक सय ३९ मत परेको छ । निर्मला शर्मा ८३, गजेन्द्रसिंह बुढाथोकी १४ र प्रतिस्पर्धाबाट बाहिरिएको भनिएका रामप्रसाद दाहाललाई तीन मत परेको छ भने नो–भोट सङ्ख्या आठ रहेको छ । जिल्लाका अध्यक्षमा नो–भोट चार थियो भने केन्द्रीय नेतृत्वमा नो–भोट आठ रह्यो । यसलाई केन्द्रीय महासङ्घ कसरी लिने हो ? त्यो हेर्न बाँकी छ ।

अध्यक्ष पदका केन्द्रीय प्रत्यासी गजेन्द्र बुढाथोकीले आफ्नो उम्मेदवारी दलीय सिन्डिकेट भत्काउनका लागि हो भनेका थिए । पत्रकार महासङ्घमा अध्यक्षलगायत पदहरूका उम्मेदवार दलीय छायामा परेको अनुभूतिसहित वास्तविक श्रमजीवी पत्रकारका तर्फबाट बुढाथोकीको उम्मेदवारी परेको आम पत्रकारले अनुभूत गरेका थिए ।

पत्रकार महासङ्घ सुनसरीको नेतृत्वका लागि सुविद गुरागाई, सचिन पोखरेल, जनकऋषि राई र सन्तोष काफ्लेको उम्मेदवारी परेको थियो । धरानका जनकऋषि राई नेपाल प्रेस युनियन, प्रेस सङ्गठनलगायत विभिन्न १२ सङ्गठनका संयुक्त प्यानलबाट र सन्तोष काफ्ले प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल र मिडिया नेपाललगायतको प्यानलबाट उम्मेदवार बनेका थिए । इटहरीका सुविद गुरागाई र सचिन पोखरेल भने स्वतन्त्र (युनियनको निर्णयबाट असन्तुष्ट) उम्मेदवार थिए ।

निर्वाचनमा खसेको दुई सय ४७ मतमध्ये जनकऋषि राईका पक्षमा एक सय २३ मत परेको थियो भने सन्तोष काफ्लेले ६५, सचिन पोखरेलले ४५ र सुविद गुरागाईले १० मत प्राप्त गरे । चार जना मतदाताले कसैलाई पनि अध्यक्षमा स्वीकार गरेनन् । यसरी मत विश्लेषण गर्दा दुई सय ६२ मतदातामध्ये दुई सय ४७ मत खसेकोमा जनकऋषि राईले एक सय २३ मत पाए । खसेको मतमध्ये तीन जना उम्मेदवारले पाएको मत एक सय २० र चार जनाको नो–भोट मिलाउँदा एक सय २४ हुन्छ । अर्थात् मत परिणामको अङ्क–गणितीय दृश्य हेर्दा नेतृत्वमा विजयी जनकऋषिको पक्षमा एक सय २३ र विपक्षमा एक सय २४ जना सदस्य रहेको देखिन्छ । अनुपस्थित १५ जनामध्ये कति जनकऋषिका पक्षमा, कति निर्वाचन प्रक्रियाकै विपक्षमा र कति जनकऋषिका विपक्षमा हुन्थे ? त्यो भने अनिर्णित छ ।

विद्यमान निर्वाचन प्रणालीअनुसार प्रतिस्पर्धामा एक मत भए पनि बढी ल्याउने विजयी हुन्छन्, जित्नका लागि बहुमत सदस्यको विश्वास प्राप्त गर्नैपर्छ भन्ने छैन । मत बराबर भएमा सहमतिमा वा गोला–प्रथाद्वारा निर्वाचन समितिले एक जनालाई विजयी घोषणा गर्ने चलन छ । सम्पन्न निर्वाचनमा झट्ट हेर्दा जनकऋषिले निकटतम् प्रतिद्वन्द्वी सन्तोष काफ्लेभन्दा झन्डै दोब्बर मत प्राप्त गरे जस्तो देखिए पनि खसेको मत सङ्ख्यामा जनकऋषिले बहुमत सदस्यको विश्वास प्राप्त गर्न सकेको देखिँदैन ।

अब प्रश्न उठ्छ, जनकऋषिले आफूलाई विश्वासको मत दिने पत्रकारहरूको मात्र नेतृत्व गर्ने, अध्यक्ष बन्ने हो कि आफ्नो विपक्षमा रहेका बहुमत सदस्यको मन जितेर अगाडि बढ्ने ? यो पङ्क्तिकारलाई लाग्छ, सुनसरी पत्रकार महासङ्घको अध्यक्षमा निर्वाचित भइसकेपछि जनकऋषि राईले सबभन्दा पहिले एक सय २३ बाहेकका मतहरू आफूलाई नआउनुको जरो कारण खोजी गर्नुपर्छ । बहुमत सदस्यले आफूलाई नेतृत्वमा पत्यार नगर्नुको धरातलीय यथार्थ विश्लेषण–मन्थन गर्न सक्नुपर्छ । र त्यस्तो मन्थनबाट प्राप्त जबाफअनुसार आफूलाई परिमार्जन गर्दै बहुजन हितायको भावनाबाट प्रेरित कार्यक्रमहरू सार्वजनिक गर्नुपर्छ ।

आफूले प्राप्त गरेबाहेकका मतहरू आफूलाई नआउनुको जरो कारण खोजी गर्नुपर्छ । बहुमत सदस्यले आफूलाई नेतृत्वमा पत्यार नगर्नुको धरातलीय यथार्थ विश्लेषण–मन्थन गर्न सक्नुपर्छ ।

बहुमत सदस्यको भावनाको कदर गर्दै अघि बढ्ने हो भने महासङ्घको इतिहासमै स्मरणीय सभापति बन्ने अवसर नवनिर्वाचित अध्यक्ष जनकऋषि राईका सामु उपलब्ध छ । यसका लागि राईले तोकिएको तीन बर्से अवधि कुनै राजनीतिक दल, गुट, जातीय सङ्गठन र निजी स्वार्थको घेराभन्दा माथि उठेर दुई सय ६२ जना सदस्यकै ‘सभापति’ बन्ने प्रयास गरेको कामले देखिनु पहिलो सर्त हुनेछ । नेतृत्वबाट जोखिममा सुरक्षाको प्रत्याभूति र अवसरमा भेदभावरहित व्यवहार सुनसरीका सदस्यले मात्र होइन, सबै पत्रकारले चाहेको कुरा हो ।

यसबाहेक सबै पत्रकारहरूको हित हुने कामको सेरोफेरोमा उनको कार्यकाल व्यतित हुनुपर्छ, जसमा पहिलो काम भनेको सुनसरीमा कति पत्रकार कार्यरत छन्, तीमध्ये कति साँचो अर्थमा श्रमजीवी पत्रकार छन्, जो स्वरोजगार र जीवनयापनको सङ्घर्षमा छन्, त्यसको यथार्थ तथ्याङ्क सङ्कलन गरिनुपर्छ । जिल्लाका सबै श्रमजीवी पत्रकारहरूको हातमा नियुक्ति–पत्र हुनुपर्छ । पत्रकारहरूले सर्तअनुसारको पारिश्रमिक पाएको हुनुपर्छ ।

दोस्रोमा स्वरोजगारमूलक सञ्चार–गृहहरूलाई स्थापित गराउन स्थानीय सरकार तथा निकायहरूको विज्ञापन समानुपातिक रूपमा स्थानीय सञ्चार–गृहलाई उपलब्ध गराउने नीति बनाउन सरोकारवालाहरूलाई संस्थागत दबाब दिनुपर्छ । यसका लागि सरकारी तथा अर्ध–सरकारी निकायहरूबाट वार्षिक रूपमा उत्पादन हुने विज्ञापन कति हो ? त्यसको समकालीन आर्थिक मूल्य कति हो ? आदि अध्ययन गरी वार्षिक कार्ययोजना सार्वजनिक गर्नुपर्छ ।

तेस्रोमा महासङ्घका सदस्य बनेका र नबनेका सबै पत्रकारहरूको अभिलेख तयार गरी बिमाका लागि सहजीकरण गर्नुपर्छ । चौथो महासङ्घ सदस्यहरू हाल कार्यरत पत्रकार हुन्–होइनन् ? त्यसतर्फ ध्यान दिनुपर्ने हुन्छ । सदस्य शुद्धीकरणका लागि दुई सय ६२ जनामा को–कोसँग गोजीमा कुन–कुन राजनीतिक दलको क्रियाशील तथा सक्रिय सदस्यता छ वा छैन ? त्यस्तो सूची सङ्कलन तथा सार्वजनिक गरिनुपर्छ । जो हाल पत्रकारिता कर्ममा क्रियाशील छैनन्, मात्र राजनीतिक वा अन्य स्वार्थ पूरा गर्न सदस्यता नवीकरण गरिरहेका छन् भने तिनलाई कि पत्रकारितामा पुनः सक्रिय हुने कि महासङ्घको सदस्यता त्याग गर्ने स्वअवसर उपलब्ध गराउनुपर्छ । यसमा लागि नैतिक दबाब सिर्जना गर्नुपर्छ ।

दुई दशकअघि महासङ्घ सुनसरीका नाममा विभिन्न कोषहरू खडा भएका थिए । कोषका लागि जिल्ला विकास समितिले पटक–पटक गरेर करिब चार लाख रुपैयाँ महासङ्घलाई दिएको थियो । तत्कालीन जिविसलगायत निकायबाट प्राप्त ती रकमको अवस्था तत्काल सार्वजनिक गरिनुपर्छ ।

नेपाल पत्रकार महासङ्घ सुनसरीको पहिलो बैठकलाई लक्षित गरेर नेतृत्वका प्रतिपक्षी सुविद गुरागाईले बुदाँगत रूपमा राखेका २५ सन्दर्भलाई ध्यानमा राखी जनकऋषि राई नेतृत्वको कार्यसमितिले आगामी कार्ययोजना बनाउन सकेमा सुनमा सुगन्ध हुने थियो । जिल्लाका पत्रकारहरूको वृत्ति–विकास, फेलोसिप, तालिम, भ्रमणका अवसर आदि वर्तमान कार्यसमितिले प्राथमिकतामा हुनुपर्छ । पूर्वअध्यक्ष केशव घिमिरे हुँदा नै पत्रकार महासङ्घसहित सुनसरीका पत्रकारहरूको इतिहास झल्किने पुस्तक प्रकाशन गर्ने भनिएको थियो । तर आजसम्म सो काम हुनसकेको छैन । सो कामलाई प्राथमिकतामा राखेर सम्पन्न गर्नु वर्तमान कार्यसमितिको दायित्व हो ।

निर्वाचनमा अध्यक्ष पदका प्रतिद्वन्द्वीहरू सन्तोष काफ्ले, सचिव पोखरेल, सुविद गुरागाईको उपस्थितिमा छुट्टै बैठक गरी उनीहरूका एजेन्डासमेत आत्मसात गर्नु वर्तमान कार्यसमितिको अपेक्षित जिम्मेबारी हो । चुनावको समयका प्रतिद्वन्द्वीहरू अबका समयका प्रतिपक्षी भएकाले उनीहरूसँग वर्तमान नेतृत्वको निरन्तर संवाद हुनुपर्छ । साथै सुनसरी महासङ्घलाई उदाहरणीय र चलायमान बनाउन उनीहरूलाई बैठकमा नियमित बोलाउने, सुझाव लिने, सम्मान जनाउने गर्नुपर्छ ।

तत्कालीन अवस्थामा मञ्जुरत्न शाक्यले नेपाल पत्रकार सङ्घको अध्यक्ष आफू भएको दाबी गरेका थिए । २०५२ सालमा धरानमा भएको विधान अधिवेशनबाट नेपाल पत्रकार सङ्घको नाम परिवर्तन गरी नेपाल पत्रकार महासङ्घ बनाइएको थियो । सोलगायत पुराना समितिको खोजी तथा सम्मान गर्न नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिमा लेखी पठाउनु वर्तमान शाखा कार्यसमितिको दायित्व हो । साथै अग्रज पत्रकारहरू डम्बरबहादुर थापा र याम प्रधानको निधन भएकाले उनीहरूको स्मृतिमा स्थायी पुरस्कार अक्षयकोष खडा गर्नुपर्छ । सो कोषमार्फत लेखन क्षमताका आधारमा छनोट गरी हरेक वर्ष पत्रकारहरूलाई पुरस्कृत गरिनुपर्छ । साथै मरणोपरान्त दिनुपर्ने सम्मान तथा पुरस्कारहरू उनीहरूको परिवारलाई दिनु तथा दिन लगाउनुलगायत जिम्मेबारीहरू सुनसरी अध्यक्ष जनकऋषि राईको काँधमा आएको छ ।

त्यसो त जनकऋषि राई लामो सङ्घर्ष र प्रयासपछि नेपाल पत्रकार महासङ्घ सुनसरीको अध्यक्ष हुन सफल भएकाले आफ्नो कार्यकाल स्वर्णिम बनाउन उनीबाट अहोरात्र प्रयास हुने अपेक्षा गर्न सकिन्छ । उनले अवश्य पनि जिल्लाका श्रमजीवी पत्रकार र स्वरोजगारमूलक मिडियाको हितलाई प्राथमिकतामा राखेर काम गर्नेछन् र जिल्लाका दुई सय ६२ सदस्य पत्रकारसहित सबै पत्रकारहरूको मन जित्न सफल हुनेछन् भन्ने विश्वास लिएको छु ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: